एक किताब अभियानको माध्यमबाट शिक्षाको किरण फैलाउदै डोल्पाली युवा

संकलन गरिएका किताबमा रमाउँदै एक किताव एक बालक।

समाजमा स्थापित हुन त्यति सहज छैन। भनिन्छ नि, सोचेको भन्दा भिन्न तरिकाले मानिसको जीवनको गोरेटेले फरक मोड लिन्छ। कहिलै मानिसले आफूले सोचेको र लिएको लक्ष्यमा पनि पुग्न सक्दैन। संसारमा अपवादबाहेक विरलै मानिसले मात्र आफ्नो लक्ष्य र प्राप्ती गरेका हुन्छन्।

मानिसले सोचेको एक हुन्छ। लिएको लक्ष्य र उद्धेश्य अर्कै हुन्छ। तर, जीवनको यात्रामा भइदिन्छ अकै।

प्रसङ्ग एक डोल्पाली युवाको जीवन यात्राले लिएको मोडको हो। हिमाली जिल्ला डोल्पा आफैंमा एक दुर्गम र पिछडिएको विकट क्षेत्रमा पर्छ।

डोल्पाको ठूलीभेरी नगरपालिका ५ मा पर्ने माझफाल गाउँ जिल्लाकै एक विकट र दुर्गम बस्ती हो।

२०४४ सालमा माझफालमा जन्मिएका प्रेमबहादुर बोहराले २०६१ मा जनप्रभा माद्यमिक विद्यालय लिकुबाट एसएलसी उत्तिर्ण गरे।

त्यसताका फलामे ढोकाको रूपमा लिइने एसएलसी उत्तिर्णपछि उच्च शिक्षा हासिल गरेर ठूलै पदमा जागिर खाने अभिलासा बोहरामा जाग्यो। उच्च शिक्षाका लागि २०६२ मा उनी पोखरामा हानिए।

तत्कालिन समयमा जनआन्दोलन उत्कर्षमा पुगेको थियो। त्यसपछि उनी काठमाडौं पुगे।

राजधानीको पशुपति बहुमुखी क्यापस चावहिलबाट उनले उच्च शिक्षाको अध्ययन सुरू गरे।

आधुनिक प्रविधिको पहुँच नपुगेको असुविधै असुविधाले थलिएको विकट गाउँ माझफालबाट काठमाडौं पुगेका उनलाई त्यहाँको वातावरणमा भिझ्न समय लाग्यो।

उनले मनमनै काठमाडौं र डोल्पा अनि आफू जन्मिएको विकट गाउँ माझफाललाई तुलना गर्दै गए।

एकै भुगोल एकै देशको नागरिक भएर पनि फरक देशको नागरिकको दर्जाको रूपमा आफूलगायत डोल्पा जस्तै विकटका बासिन्दालाई राज्यले हेरेको आभास उनमा हुन थाल्यो।

डोल्पाको सामान्य सरकारी विद्यालयमा पढेका बोहरालाई अंग्रेजी विषय गाह्रो लाग्नु स्वभाविक नै थियो।

अभ्यास गरेपछि असम्भव कुनै क्षेत्रमा पनि छैन भन्ने बुझेर उनले अंग्रेजी अध्यायनलाई निखारपन ल्याउन अमेरिकन पुस्तकालयमा गएर अंग्रेजीमा लेखिएका पुस्तक कथा र लेखरचनाहरु पढ्न थाले।

निरन्तरको अध्ययन र लगनशिलताले उनलाई अंग्रेजी विषयमा सहज हुँदै गयो। २०७४ सालमा उनले सामाजिक शास्त्रमा पशुपति मल्टिपल क्याम्सबाटै स्नातकोत्तर पास भए।

विभिन्न पुस्तकालयमा पढेका पुस्तक र निरन्तरको अध्ययनले उनको उच्च शिक्षा पढेर सरकारी जागिर खाने अभिलासमा पूर्णविराम लाग्यो।

राज्यको दृष्टिमा टाढा र ओझेलमा रहेको विकट कर्णालीको दुर्गम जिल्ला डोल्पा। त्यसमा पनि सरकारी विद्यालयको कमजोर पढाईको कारण शिक्षाको गुणस्तरमा दिनानुदिन ह्रास आइरहेको प्रसङ्गले उनलाई अब शिक्षाको माध्यमबाटै जिल्ला र देशको परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास जाग्यो। र उनी शिक्षाको गुणस्तर विकासमा आफूलाई समाहित गर्दै गए।

अहिले प्रेमबहादुर बोहरा विकट क्षेत्रका अवोध बालबालिकामा शिक्षाको किरण फैलाउने अभियान छन्। उनी एक किताब अभियान लिएर देशका विभिन्न जिल्लाका विकट बस्तीमा रहेका सामुदायिक विद्यालयमा पुग्ने गरेका छन्।

सन् २०३० सम्ममा एक करोड किताब संकलन गरेर देशका विकट बस्तीमा रहेका सामुदायिक विद्यालयका बालबालिकाको हातमा किताव पुर्‍याउने लक्ष्य लिएको एक किताव अभियानका अगुवा बोहराले नागरिकलाई बताए।

 अभियानका अगुवा डोल्पा ठूली भेरीनगरपालिका ६ माझफालका प्रेमबहादुर बोहरा।

काठमाडौंमा रहेको रूम टु रिड नामक किताव पढेर किताव शिक्षाको अभियानको उत्प्रेरणा पाएको बताउँदै आएका उनले आफू जस्तै अन्य बालबालिकाले अहिले पनि कितावको अभावमा गुणस्तरीय शिक्षा पाउन नसकेको बताउँछन्।

चितवन, जाजरकोट, जुम्ला, पर्सा, गोरर्खा, सिन्धुली र डोल्पालगायतका १२ जिल्लाका ८० वटा विद्यालयमा १ लाख २० हजार किताव संकलन गरेर साना साना बालबालिकाको हातहातमा वितरण गरिएको उनले बताए।

डोल्पाका २० वटा सामुदायिक विद्यालयमा बालकथा, निवन्ध, कविता, लेख र देश परिचय लेखिएका बालआकर्षण हुने खालका कितावहरु वितरण गरिँदै आएको छ।

कम्तीमा पनि एक बच्चालाई एक किताब दिन सके ठूलो परिवर्तन गर्न सकिने र विस्तारै शिक्षामा परिवर्तन ल्याई गुणस्तर विकास हुने अभियानमा आफू लागेको बोहराको भनाई छ।

'एक किताब एक बालक' अभियानले सबैभन्दा चितवनको माडीमा रहेको विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुगेको छ। विद्यालयमा प्रशस्त किताव उपलब्ध गराए पनि कतिपय शिक्षकले बालबालिकालाई पढ्न नदिने गरेकाले पनि कतिपय ठाउँमा समस्या भएको उनले बताए।

धेरै ठाउँमा पहिलाको तुलनामा कितावले गर्दा बीचमै विद्यालय छोड्ने दरमा कमि आएको र विद्यालयप्रति बालबालिकाको आर्कषण बढ्दै गएको उनको दाबी छ।

'एक किताब एक बालक' अभियानका साथै एक विद्यालय एक ब्यवस्थित पुस्तकालयको अवधारण लिएर डोल्पाको ठूलीभेरी नगरपालिका ५ र ६ मा रहेका सहिद शुक्रराज आधारभूत विद्यालय ल्हाँरा, लक्ष्मी माद्यमिक बिद्यालय थरगाउँमा समुदाय र विद्यालय परिवारको प्रतिबद्दताको आधारमा सामुदायिक पुस्तकालय स्थापना गरिएको छ।

सामुदायिक विद्यालय पुस्तकालय स्थापना पछि बालबालिकामा किताव पढ्ने वानीको विकास भएको र पठन सिप लेखन शैलीमा सुधार आउन थालेको लक्ष्मी माद्यायमिक विद्यालय थरगाउँका प्रधानाध्यापक गगन बुढाले बताए।

बालबालिकाले किताव पढ्न मान्दैनन् किताब च्यात्छन् भन्ने सोच गलत रहेको बताउँदै बालबालिकाले किताव पढ्ने बानी विकासको लागि सोही अनुरुपको बालमैत्री बातावरण सृजना गर्नमा शिक्षक र अविभावकले ध्यायन पुर्‍याउनुपर्ने प्रेमबहादुर बोहराले बताए।

सेन्टजेवियर्स क्याम्पसलगायतका विद्यार्थीले पढिसकेका, बिभिन्न संस्थाले सहयोग गरेका र ब्यक्ति बिशेषले दिएका किताब संकलन भए पनि ढुवानी अभाव हुँदा विभिन्न सहयोगी मनकारी ब्यक्ति समुदाय र संस्थालाई अनुरोध गरेर बिभिन्न जिल्लामा किताव पुर्‍याइने गरिएको एक किताव अभियानका अगुवा बोहराले बताए ।

 

प्रकाशित मिति: : 2019-11-27 15:22:47

प्रतिकृया दिनुहोस्