४० हजारमै घुम्न पाएपछि नेपालीका लागि पहिलो रोजाइ थाइल्यान्ड (भिडियो सहित)

थाइल्याण्डको समुन्द्री किनार। तस्बिरः बिएल

पर्यटनका हिसाबले थाइल्यान्ड विश्वको १० उत्कृष्ट मुलुकमा पर्छ। हरेक वर्ष साढे ३ करोडको हराहारीमा यो देशमा पर्यटक भित्रिने गरेका छन्।

पर्यटनकै कारण यतिबेला थाइल्यान्डको आर्थिक विकास चुलिँदो अवस्थामा छ। पर्यटकको घुइँचोले थेगिनसक्ने अवस्थामा पुगेको थाइल्यान्ड नेपालीका लागि पनि रोजाईको ठाउँ हो। यसैले वर्षेनी घुमघामका लागि नेपालीहरू हजारौंको संख्यामा थाइल्यान्ड पुग्ने गरेका छन्।

राजधानी काठमाडौंबाट ३ घण्टाको हवाई यात्रामार्फत सहजै थाइल्यान्ड पुग्न सकिन्छ। पर्यटकीय मात्र होइन, व्यापार र व्यवसायको हिसाबले नेपालीका लागि थाइल्यान्ड अपरिचित देश होइन।

दोस्रो विश्व युद्वको समाप्तीसँगै थाइल्यान्डमा बसोबास गर्ने नेपालीको संख्या पनि उत्तिकै छ। कम खर्चमा पनि घुम्न सकिने कारण विगत केही वर्षयतादेखि थाइल्यान्ड पुग्ने नेपालीको संख्यामा दोब्बर बृद्धि भएको छ।

४० देखि ५५ हजारसम्ममा ५ दिन प्याकेजमा थाइल्यान्ड घुम्न पाउने भएका कारण नेपालीहरूको आकर्षण बढेको कान्तिपुर होलिडेकी समृद्धि  मल्लले जानकारी  दिइन्।

 ‘यति रुपैयाँमा भारतबाहेक तेस्रो मुलुक घुम्न गाह्रो पर्छ। थाइल्यान्डमा समुन्द्र पनि भएका कारण नेपालीहरू त्यहाँ जान लोभिन्छन्,’ उनले ब्रेक एन लिंक्ससँग भनिन्।

उनका अनुसार थाइल्याण्ड तुलनात्मक रूपममा सस्तो प्याकेज भएकाले कारण ट्राभल एजेन्सीलाई भ्याइनभ्याइ छ।

४० हजारमै थाइल्यान्डको समुन्द्री क्षेत्र फुकेटदेखि गोल्डेन टेम्पल, जंगल सफारीलगायत अन्य मनोरम स्थलको अवलोकन गर्न पाइने भएकाले नेपालीहरू लोभिने गरेका छन्।

‘थाइल्यान्डमा पर्यटकहरू लोभिने भनेको यहाँको समुन्द्री क्षेत्र हो। यस्तै पानी बाहिर डल्फीनको करामत, चिङपान्जीले बक्सिङ खेलेकोदेखि ५ सय किलोको हात्तीले मानिसलाई मसाज गरेको अनुभव पनि यही हेर्न पाइन्छ,’ उनले भनिन्।

पहिलो पल्ट थाइल्यान्ड पुगेर फर्किने व्यक्तिले अरूलाई पनि त्यही जान सुझाव दिने गरेका छन्। यो पर्यटन व्यवसायको हिसाबले एकदमै ठूलो मार्केटिङ भएको कान्तिपुर होलिडे टुर शाखाकी सम्वृद्धीले बताइन्।

‘पहिले थाइल्यान्ड घुम्न जानेहरू धेरै खोजी गर्थे। अहिले धेरैलाई थाइल्याण्डको विषयमा थाहा भइसक्यो। त्यसैले सहजै जान खोज्छन्,’ उनले भनिन्।

प्रकाशित मिति: : 2019-05-17 11:07:17

प्रतिकृया दिनुहोस्