आगामी बिहीबारदेखि काठमाडौंमा तेस्रो ‘हिमालयन ट्राभल मार्ट’ हुँदै

तस्बिरः बिएल

आगामी जुन ६ देखि ९ तारिकसम्म तेस्रो हिमालय मार्ट हुने भएको छ।

नेपाललाई हिमालयको प्रवेशद्वारका रुपमा परिचित गराउन सन् २०१७ बाट सुरू भएको हिमालयन ट्राभल मार्टको यो तेस्रो संस्करण हो।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन वोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन, नेपाल च्याप्टरले मार्टको आयोजना गर्न लागेको हो ।

काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा हुन लागेको मार्टमा ४१ देशका ७ सय प्रतिनिधि सहभागी हुने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए।

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन् २०१७ बाट सुरु भएको हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन प्रवद्र्धनमा अत्यन्तै सहयोगी सिद्ध भएको नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए ।

विभिन्न देशका ट्राभल ब्लगर, पत्रकार तथा क्रेता र विक्रेताहरु सहभागी हुनेछन् । यस वर्ष विभिन्न देशका ३८ जना ट्राभल ब्लगर तथा मिडिया प्रतिनिधिलाई मार्टमा सहभागी गराई नेपालबारे प्रचारप्रसार गर्न लगाइएको छ।

अहिले विभिन्न देशका ट्राभल ब्लगर तथा सञ्चारकर्मीहरु नेपालको ७ स्थानमा फाम ट्रिपमा सहभागी भइरहेका छन्। उनीहरुले मार्टमा आफ्नो ट्राभल अनुभव सुनाउँदै नेपालबाट फर्केपछि नेपालबारे प्रचारप्रसार गर्नेछन् ।

त्यसैगरी कार्यक्रममा ३० देशका ट्राभल क्रेता तथा नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्डबाट ५४ वटा ट्राभल्स विक्रेताहरुको सहभागिता रहेको छ ।

मार्ट सञ्चालन गर्न करिब ६ करोड रुपैयाँ खर्च हुने आयोजक पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए । करिब ६ करोड रुपैयाँ खर्च हुने भएपनि नेपाल सरकारले भने करिब २ करोड रुपैयाँ मात्रै खर्च गर्ने छ । बाँकी ४ करोड भने विभिन्न होटल, ट्राभल व्यवसायी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आदिले सहयोग गर्नेछन् ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि यो मार्टले महत्वपूर्ण भूमिका खेल्ने पनि आयोजकले बताएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउन मार्टको भूमिका महत्वपूर्ण रहने छ ।

प्रकाशित मिति: : 2019-06-03 14:23:53

प्रतिकृया दिनुहोस्