मुस्ताङमा फालो स्योपेन लव (कुमार यात्रा) मनाईदै

कुमार यात्रामा सहभागी कुमारहरू। तस्बिर सौजन्यः थकाली सेवा समाज

‘हाम्रो संस्कृति जोगाऔं, आफ्नो पहिचान बचाऔ’ भन्ने नाराका साथ थाक सातसय क्षेत्रमा बसोबास गर्ने थकाली जातिको महान पर्व फालो स्योपेन लव ( कुमार यात्रा) आगामी भदौ १९देखि २३ गतेसम्म हिमाली जिल्ला मुस्ताङको कोबाङमा मनाईदैछ।

किम्बदन्ति अनुसार भगवान नरिच्ह्यो र थकालीका आदि पुर्खाबिच बाचाकबोल गरे स्योपेन लव मनाउने चलन छ। थकाली समुदायका गौचन, तुलाचन, शेरचन र भट्टचन थरका ५ वर्ष देखि १३ वर्षसम्मका छेवर गरिसकेका कुमार केटाले धार्मिक परम्परा अनुसार कुमार यात्रामा सहभागी हुने परम्परा छ।

प्रत्येक वर्षको भदौ शुक्ल पक्ष अनुराधा नक्षत्र अनुसार भदौ तेस्रो सातादेखि असोज पहिलो साता भित्र पर्छ ।

उक्त यात्रामा भगवान नरिच्ह्योबाट कुमार केटालाई आशिषसहित अलौकिक शक्ति प्रदान गर्ने र सबैलाई रक्षा गर्ने जनविश्वास छ। 
थकाली सेवा समितिका अध्यक्ष सोम प्रसाद तुलाचनका अनुसार १९ गते बिहान थकाली सेवा समितिको विस्तारित बैठक हुनेछ। दिउँसो १२ देखि ३ बजेसम्म फालो स्योपेन लवको उद्घाटन कार्यक्रम हुनेछ।
त्यसैगरी बेलुका ट्हुम्वद्वारा विशेष पूजाआजा गरिन्छ त्यसपश्चात कुमार केटालाई कोट घरमा बुझाईन्छ।

१३ मुखिया, समितिका प्रतिनिधि, भद्र भलाद्मी र क्हुनदलहरू कोट घरमा जम्मा भई कुमार केटालाई आशिर्वाद दिन्छन्।
थकाली सेवा समितिका निवर्तमान महासचिव तथा केन्द्रीय सल्लाहकार नरेश कुमार तुलाचनका अनुसार दोस्रो दिन स्योपेनहरू स्थानीय प्रतिनिधि र अभिभावकसँगै म्हरस्याङ क्यू (चोखो पानी) मा पुगेर नुहाउने, कपडा लगाउने, निधारमा केसरी, चन्दन, टिका र फेटा लगाउँछन्।

म्हरस्याङ क्यूबाट फर्केर पहिलो दिन कुमार केटालाई  टुकुचेको मुखियाबाट नास्ता पानीसहित स्वागत (कलसाङ) गरिन्छ।  दोस्रो दिन खन्तिको मुखियाले खानपिन गरेपछि, देवता हिँडेको गोरेटोहुँदै कोटघर पुर्‍याईन्छ। कोटघरमा बोन विधि अनुसार पूजा पाठ गरिन्छ।

प्रतिनिधिसभा सदस्य मा. प्रेम प्रसाद तुलाचनले थकाली सेवा समितिको विषेश पहलमा हुन लागकोमा थाक सात सय क्षेत्रमा मनाईने थकालीका महान फालो स्योपेन लवलाई आफ्नो सद्‌भाव रहेको र सफलताको शुभकामना दिए।

उनले नेपाल विविध जात जाति, धर्म र संस्कृतिको देश भएकोले यस क्षेत्रका बासिन्दाले परम्परागत संस्कृतिलाई निरन्तरता दिनका संरक्षण र सम्वर्दन गरेकोमा खुशी ब्यक्त गरे।  
स्योपेन अर्थात कुमार केटालाई लामा गुरू स्योपेनको अभिवावक आशिक दिने चलन छ। यो वर्ष विशेष तरिकाले मनाउने र गाउँलेहरुले सांस्कृतिक झाँकी प्रदर्शनसहित अन्य विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले बताए।

स्योपेन लव फालोको मुख्य आयोजक थकाली सेवा समिति नेपाल हुन भने थासाङ गाउँपालिका वार्ड-२ को पनि सहयोग रहनेछ।

सम्पर्क : थकाली सेवा समिती नेपाल, केन्द्रीय सचिवालय बालाजु, फोन : ०१-४३८१३२, ९८४९-१४४३४१

प्रकाशित मिति: : 2019-08-29 18:01:00

प्रतिकृया दिनुहोस्