तेन्जिङपछि निर्मलको इतिहास, ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण

बिएल

तेन्जिङ शेर्पापछि नेपालका अर्का आरोही निर्मल पुर्जाले हिमाल चढ्ने विश्व कीर्तिमान बनाएका छन्। म्याग्दी निवासी पुर्जाले ८ हजारभन्दा अग्लो विश्वभरिका १४ हिमाल चढेर कीर्तिमान बनाएका हुन्।

उनले सोमबार चीनको तिब्बतस्थित सिसापङ्गा हिमालको चुचुरो चुमेर ७ महिनाभित्र विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान बनाए।

गत महिना १ सय ५७ दिनमा विश्वका १३ वटा ८ हजारभन्दा अग्ला हिमालको आरोहण गरेका पुर्जालाई चीनको तिब्बतस्थित सिसापङ्गा हिमाल चढ्न सुरूमा चीन सरकारले अनुमति दिएको थिएन। यस विषयमा बिएल नेपाली सेवाले समाचार बनाएको थियो।

पछि नेपाल सरकारको प्रयत्नका कारण पुर्जाले सिसापङ्गा चढ्ने अनुमति पाएका थिए।

पूर्व बेलायती सैनिकसमेत रहेका पुर्जाले अप्रिल २३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण, मे १२ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी, मे १५ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, मे २२ मा ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै मे २४ मा ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरेका थिए।

मकालुपछि पुर्जाले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु, तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गरेका थिए।

८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा हिमाल आरोहणका लागि चीनले रोक लगाएको थियो। ‘प्रोजेक्ट पोसिबल’ का लागि पुर्जा १४ अग्ला हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान बनाउन लागेका थिए।

पर्यटन व्यवसायी राजेन्द्र लामाका अनुसार पुर्जाले यो हिमाल आरोहण गरेका कारण सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश जानेछ।

सन् १९५३ मा नेपालका तेन्जिङ शेर्पाले न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीसँग मिलेर पहिले पल्ट विश्वको सर्वोच्च हिमाल सगरमाथाको आरोहण गरेका थिए।

पुर्जा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका हुन्। उनले मासिक १४ लाखको जागिर छोडेर आरोहण सुरु गरेका थिए। ३६ वर्षीय पुर्जा गत मार्चमा बेलायती सेनाको जागिर छोडेर हिमाल आरोहणमा होम्मिएका थिए। उनले बेलायती सेनामा कार्यरत रहँदा ‘एमबिई’ अवार्ड पनि पाएका थिए।

उनको सफल आरोहणपछि सबै क्षेत्रका मानिसले शुभकामना र बधाई दिएका छन्।

यसैबीच करवाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउँपालिका-८, काफल डाँडा म्याग्दीका संरक्षक चाम बहादुर पुनले निर्मल पूर्जा पुनको १४ वटै ८ हजार माथिका हिमालको सफल आरोहण गरेकोमा शुभकामना दिएका छन्।

प्रकाशित मिति: : 2019-10-29 01:02:37

प्रतिकृया दिनुहोस्