एउटै भ्रमण टोलीमा ११५ जना, राष्ट्रपति सी चिनफिङको भ्रमणपछि चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

तस्बिरः योगेश भट्टराईको फेसबुकबाट

पछिल्लो समय नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

गत वर्ष सोही अवधिको तुलनामा यो संख्या ११.५ प्रतिशत बढी हो।

बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७०६ पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा ९ प्रतिशतले बढी हो।

अक्टोबरमा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा छिमेकी मुलुक भारत अगाडि छ । सन् २०१९ को दश महिनामा १ लाख ६९ हजार ९५२ भारतीय पर्यटक नेपाल आएका छन् । उक्त अवधिमा चीनबाट एक लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अक्टोवरमा कूल १ लाख ४३ हजार ८७० विदेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ३० हजार ७०४ पर्यटक आएका छन्।

भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार हो भने चीन दोस्रो स्थानमा पर्छ । नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने मुलुकमा भारत पर्छ। सन् २०१८ मा दुई लाख ४३८ भारतीय नागरिकले नेपाल भ्रमण गरेको बोर्डको विवरणमा उल्लेख छ। गत अक्टोबरमा (असोज २५ र २६ गते) चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिवसीय राजकीय भ्रमण गरेका थिए। उक्त भ्रमणपछि चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी भएको पाइएको छ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल घुम्न आउने चिनीयाँ पर्यटकमा सकारात्मक प्रभाव परेको बताए।

‘भ्रमण टोलीमा ११५ जना चीनीया नागरिकहरु नेपाल घुम्न आउनु भयो । राष्ट्रपती सिको भ्रमणले चीनीया पर्यटकहरुलाई सकारात्मक प्रभाव परेको पाईयो । यो भ्रमण बर्ष २०२० का लागि राम्रो संकेत हो’, मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्।‘

अक्टोबरमा भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटक बढेको भएको बोर्डले जनाएको छ। विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक नेपालमा भित्र्याउन सकिएको छैन। वार्षिक १५ करोड चिनियाँ विश्व भ्रमणमा निस्कने बताइएको छ। त्यसको केही हिस्सा नेपाल ल्याउन सके पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान हुने बताइन्छ।

नेपालमा दशैं तिहारको बिदाजस्तै चीनमा २ हप्ता लामो जाडो बिदा सुरु भएकाले उनीहरु भ्रमणका लागि निस्कन्छन् । हरेक वर्ष १० करोडको हाराहारीमा चिनियाँहरु घुम्न निस्कन्छन्, त्यसको थोरै संख्या नेपालमा पनि आउने गरेको छन् । 

चिनियाँ नयाँ वर्ष मनाउनेहरु नेपाल आउने क्रम सुरु भैसकेको विमानस्थल कार्यालयले जनाएको छ । 

अहिले दैनिक दुई अढाई सयसम्म चिनियाँ पर्यटक विमानस्थलमा आइरहेका छन्, यो संख्या विस्तारै बढ्दै जाने अनुमान टर्मिनल व्यवस्थापन महाशाखाले बताए।

‘उनीहरुले यो २ हप्ताको बीचमा २० हजार पर्यटक नेपाल आउँछन भनेका छन्, अहिले भैरहेका विमानको सिट क्षमताले त्यति त पुग्ला नपुग्ला, तर चिनियाँहरु यो पटक उल्लेख्य मात्रामा घुम्न आउँछन भने नेपालमा रहेको चिनियाँ दूतावास र हाम्रो अनुमान हो’, सचिव देवकोटाले भन्नुभयो । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीनबाट मात्रै पाँच लाख पर्यटकलाई स्वागत गर्ने सरकारको तयारी छ । दश महिनामा १० लाख पर्यटक सन् २०१९ को १० महिनामा झण्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ।

अध्यागमन विभागलाई उद्धृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्याङ्ककअनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएका छन्। कूल पर्यटकमध्ये हवाई मार्ग भएर आठ लाख २० हजार ४९९ र स्थलमार्गबाट एक लाख ५५ हजार ५८ पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले वृद्धि हो । सन् २०१८ को १० महिनामा नौ लाख तीन हजार ५३९ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

पर्यटक आगमनको उक्त अवधिमा युरोपबाट एक लाख ९९ हजार तीन पर्यटक आएका छन् । युरोपबाट गत वर्ष एक लाख ९८ हजार ४९३ पर्यटक नेपाल आएका थिए। अमेरिका र क्यानडाबाट ९२ हजार २७२ पर्यटक आएका छन्। एशियाली मुलुकबाट झिनो संख्यामा पर्यटक बढेका छन् ।

खासगरी चाइनिज ताइपेई र थाइल्याण्डबाट क्रमशः ३९.५ र ३२.९ प्रतिशत बढी पर्यटक आएको आँकडाले देखाएको छ । ताइपेईबाट ११ हजार ३८४ र थाइल्याण्डबाट ३९ हजार ६०८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटक आगमनको समग्रतालाई हेर्दा दक्षिण एशियाली मुलुक भारत, चीन र बङ्गलादेशबाट २५.६५ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित मिति: : 2019-11-12 13:31:14

प्रतिकृया दिनुहोस्