भारतको नयाँ दिल्लीमा रैका टुर्सलाई ‘हस्पिटालिटी एण्ड ट्राभल्स अवार्ड २०१९’ पुरस्कार

तस्बिरः बिएल नेपाली सेवा

समुदाय लक्षित दिगो पर्यटन अभ्यास गरेर एसियामै नमुना काम गरेस्वरुप नेपालको रैका टुर्सले ‘हस्पिटालिटी एण्ड ट्राभल्स अवार्ड २०१९’ प्राप्त गरेको छ ।

भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्टले शुक्रबार नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा ट्राभल्सका प्रवन्ध निर्देशक अमर बहादुर शाहीलाई भारतका पूर्व मन्त्री एवं राज्य सभाका सभासद् विजय गोयलले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

दुई दशकअघि स्थापित रैका नेपाली पर्यटनमा स्थापित कम्पनी हो। उसले बाह्य पर्यटन प्रवर्धनसँगै मध्यपश्चिम र सुदूरपश्चिमको एकीकृत पर्यटन विकासमा अगुवाई गर्दै आएको छ। ‘हाम्रो कामको नजिता हो यो', पुरस्कृत भएपछि टुर्सका प्रवन्ध निर्देशक शाहीले भने, ‘नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आएको यस सुखद् खबरले हाम्रो पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ।’

रैकाले ‘वाइल्ड वेस्ट’ अभियान मार्फत् पश्चिम नेपालको एकीकृत पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको हो । त्यस्तै उसले ग्रिन फारवेस्ट अभियान अन्तर्गत सन् २०१० देखि बर्सेनी सुदूरपश्चिममा बृक्षारोपण गर्दै आएका छन्। यस क्रममा डेढ लाख विरुवा रोपिसकेको शाहीले बताए ।

रैकाले सन् २०१३ देखि ‘सेभ दि टाइगर’ अभियान पनि चलाउँदै आएको छ । शाहीले निरन्तर वाइल्ड वेस्ट अभियान मार्फत् पर्यटन विकासमा लागिपर्ने प्रतिबद्धता जनाए।

निजी क्षेत्रमा भैरहेको प्रयासमा केन्द्र र प्रदेश सरकारले पनि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: : 2019-11-17 16:11:06

प्रतिकृया दिनुहोस्