राइड टु सिन्धुलीगढी साइकल यात्रा सुरू

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ ।  काठमाडौँको पशुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गरेका हुन्।

समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको छ।

सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल र्‍याली यात्रा जनकपुरको जानकी मन्दिर पुगेर समापन हुनेछ। यात्रामा १६७ जना साइकलयात्री सहभागी भएका छन् । जसमा १८ जना महिला साइकल यात्री सभागी रहेका छ।

यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ। समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार वर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ।

यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन्।

यात्राको रुटका क्रममा के कार्यत्रम छ ?

समृद्ध सिन्धुली अभियानले हरेक वर्ष तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा यस्तो यात्रा गरिँदै आएको हो । सन् २०१९ को साइकल यात्रा नोभेम्बर २२ देखि २५ सम्म ४ दिन हुने छ ।

यस वर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्थाले कार्यक्रमको सहअयोजना गरेका छन् भने नेपाल पर्यटन बोर्डले प्रबर्धनमा सघाएको छ ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई पर्यटकीय दृष्टिले जोड्न हरेक बर्ष साइकल यात्रा गर्दै आएको उनको भनाइ छ ।

काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्नेछन् । जनकपुरमा जानकी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइने कार्यक्रम छ ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने आयोजकको अपेक्षा छ ।

अंग्रेजी फौजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबद्धन गर्न साइकल यात्राले सघाउने आयोजकको विश्वास छ । यसअघि उक्त यात्रा ‘राइड टु सिन्धुलीगढी’ नाममा गरिँदै आएको थियो । साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरेपछि यसको नाम ‘राइड थ्रु सिन्धुलीगढी’ दिइएको छ ।

सुरुआत

राइड टु सिन्धुलीगढीको सुरुआत सन् २०१६ देखि भएको हो । सिन्धुलीगढीलाई विश्वसामु चिनाउन सुरु गरिएको साइकल यात्राको नाम पहिले ‘राइड टु सिन्धुलीगढी’ थियो । पहिलो बर्ष सन् २०१७ मा साइकल यात्रीलाई काठमाडौंको तीनकुनेबाट हिँडाएर सिन्धुलीको खुर्कोटमा बास राखिएको थियो ।

त्यसपछि अर्को दिन विहान उनीहरुलाई सिन्धुलीगढीमा हुने विजयोत्सवमा सहभागी गराइएको थियो । सिन्धुलीगढीमा हरेक वर्ष कात्तिक २४ गते अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा सन् २०१७ को चैत २४ गते भव्य विजयोत्सव गरिएको थियो । त्यसमा सहभागी हुन आएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।
सन् २०१८ देखि भने साइकल यात्रालाई नोभेम्बरमा गर्न थालिएको छ । त्यस वर्षदेखि यात्रालाई जनकपुरसम्म विस्तार गरिएको थियो ।

प्रकाशित मिति: : 2019-11-22 10:58:42

प्रतिकृया दिनुहोस्