'मेरो सरकार' भन्ने प्रचलन भए पनि दिव्य १२ वर्षपछि किन ?

राष्ट्रपति विद्या भण्डारीले संसदमा उपस्थित भएर मन्त्रिपरिषदद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि तयार पारिएको वार्षिक नीति तथा कार्यक्रम पढेर सुनाउँदा सरकारलाई 'मेरो सरकार' भनेर गरेको सम्बोधनलाई लिएर देश विदेशमा रहेका नेपालीहरूका बीच विरोध र समर्थनको तरङ्ग फैलिएको छ । यस विषयलाई लिएर सामाजिक सञ्जालमा व्यक्त भएका टिप्पणीहरूको विश्लेषण गरेर हेर्ने हो भने श्रीमती भण्डारीले गरेको 'मेरो सरकार' भन्ने सम्बोधनको विरोध गर्नेहरू नै धेरै देखिएका छन् । यो सम्बोधन ठीक हो भन्नेहरूमा नेकपा र यसको सरकारले गरेका हरेक काम-कुराको आँखा चिम्लिएर समर्थन गर्ने सर्वकालीन अल्पसंख्यकहरू मात्र छन् ।

प्राविधिक दृष्टिले हेर्दा संविधानत: सरकार प्रमुखका रूपमा रहेकी राष्ट्रपति महोदयाद्वारा ओलीजीको सरकारलाई मेरो सरकार भन्नू गलत होइन । नाम मात्रको आलङ्कारिक सरकार प्रमुख हुने लोकतान्त्रिक गणतन्त्र (उदाहरण भारत) र संवैधानिक राजतन्त्र (उदाहरण बेलायत) मा पनि सरकारको पोलिसी एण्ड प्रोग्राम प्रोक्लेमेसनको भाषा यस्तै नै हुन्छ । बेलायतमा त पार्लियामेण्टका निर्णयहरूमा रत्तिभर कुनै भूमिका नहुने गद्दीनशीनलाई 'किङ इन् पार्लियामेण्ट' भनिने गरिन्छ र हातमा शक्ति नभए पनि सरकारको अभिन्न अङ्गको रूपमा स्वीकार गरेर सोही अनुसार व्यवहार गरिन्छ ।

नेपालको सन्दर्भ अलि फरक छ । कम्तीमा पनि व्यवहारमा हामीले राष्ट्रपतिलाई विवादमुक्त राख्न सकेका छैनौँ।त्यसैले राष्ट्रपति विद्या भण्डारीका मुखबाट ओली प्रशासनले भनाएको 'मेरो सरकार' भन्ने वाक्यांश बिल्कुलै ठीक र अनालोच्य छ भन्न मिल्दैन । महोदयाले मेरो सरकार भनेर सरकारको स्वामित्व लिन खोजेको प्रसङ्गले निम्त्याएको नकारात्मक टिप्पणी पनि त्यसैले आफ्नो ठाउँमा जायज नै छ । किनभने:

१. देश राष्ट्रपतीय प्रणालीमा गइसकेपछिको दिव्य बार्‍ह वर्षपछि पहिलोपल्ट राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्यकारी प्रमुख हुने सरकारलाई मेरो सरकार भनेर गरेको यो सम्बोधन वैधानत: ठीक नै हो भने पनि धेरै ढिलो र अचानक पनि भएको छ, त्यसैले यसले व्यापक आलोचना निम्त्याएको हो ।

२. ओली सरकारले राष्ट्रपतिको सम्बोधनका सम्बन्धमा यस वर्षदेखि एउटा नयाँ परम्परा बसाउँने प्रयत्न गरेको हुनसक्छ।तर, अनेकौँ अनपेक्षित, अवाञ्छित र अशोभनीय व्यबहारका कारण अलोकप्रिय भएकी वर्तमान राष्ट्रपति महोदयाको मुखबाट निस्किएको मेरो सरकार भन्ने वाक्यांशको सर्वसाधारण जनताले सकारात्मक अर्थ निकालुन् भन्ने आशा गर्न सकिँदैन।

३. संवैधानिक राजकाजका तौरतरिका र प्रोटोकलका प्राविधिक पक्षहरूका बारेमा मिहिन जानकारी नराख्ने आम नेपालीले राष्ट्रपतिद्वारा अचानक गरिएको मेरो सरकार भन्ने सम्बोधनलाई उनको गणतन्त्र नेपालकी श्री ६ बडामहारानी हुने आन्तरिक इच्छाका रूपमा अर्थ्याएका छन्। अब लाखौँ जनतालाई यसरी अर्थ्याउँन मिल्दैन भनेर सम्झाउँन पनि त सजिलो छैन नि !

४. राष्ट्रपतिलाई पृथक, पवित्र र विवादमाथि राख्नुपर्छ भन्दै उनको कुनै पनि किसिमले आलोचना गर्नु हुँदैन भनिरहेको सरकारले नै उनको मुखबाट मेरो सरकार ! भनाएपछि अबुझ सर्वसाधारणले यसलाई कसरी लेला भन्ने कुरामा पनि ओलीजीहरूले विचार पुर्‍याउनु पर्ने थियो ।

५. मेरो सरकार भन्ने सम्बोधन त्यसै पनि राम्रो होइन।यस वाक्यांशमा अधिनायकवादको गन्ध आउँछ।अंग्रेजहरू वा तिनका मानसपुत्र भारतीयहरूले 'माई गभर्नमेण्ट' भन्ने प्रचलन चलाए भन्दैमा हामीहरूले पनि त्यसलाई पछ्याउँन पर्छ भन्न मिल्दैन।मेरो सरकारका सट्टामा यो सरकार, हाम्रो सरकार वा संघीय सरकारले भन्नू नै उत्तम हुन्छ।

स्रोत: हरि अधिकारी/फेसबुक स्टाटस 

प्रकाशित मिति: : 2019-05-04 02:09:52

प्रतिकृया दिनुहोस्