रविले शालिकरामलाई अर्को 'श्रीषा कार्की' बनाएर उही कथा दोहोर्‍याए !

फेरि दोहोरियो- एउटा पुरानो अप्रिय कथा । ब्रेक एन लिंक्स ग्राफिक्स ।

सामाजिक सञ्जाल खासगरी फेसबुक हेर्दा लाग्ग्छ यो एक फौज्दारी अदालत हो । जहाँ बाँचेका रवि लामछाने र मरेका शालिकराम पुडासैनीको पेशी चलिरहेको छ । र, अपवादलाई छोडेर अधिकांश सामाजिक सञ्जालकर्मीहरू बहस पैरवीमा उत्रेका छन् । एकाथरि भनिरहेका छन्- रविकै कारण सालिकले आत्महत्या गरेका हुन् । त्यसैले उनी नै हत्यारा हुन् । अर्काथरि प्रतिवाद गर्दै भनिरहेका छन् - यो सबै रविलाई फसाउन रचिएको प्रपञ्च हो ।

त्यसो भए त्यो भिडियो चाँहि के हो? अनि शालिकले जीवनकै मूल्य तिरेको कुरा चाँहि के हो ? रविका वकिलहरू भन्छन्- त्यो शालिकको हत्या गर्नुअघि हत्याराले रविलाई फसाउन बनाएको भिडियो हो । शालिकका वकिलहरू प्रतिवाद गर्छन्- त्यो रविको अपराध धुरीबाट कराउन सुरू भएको हो ।

यी दुबैखाले तर्क हुन्, तथ्य हैनन् । तथ्यका लागि घटनाको परिवेश र जिम्मेवार पात्रहरूबाट अनुसन्धान सुरू गर्नुपर्छ । सामाजिक सञ्जालकर्मीहरू मन परेको मान्छेलाई भगवान र मन नपरेको मान्छेलाई राक्षस बनाउने खेलबाट माथि उठ्नुपर्छ । अझ यसो भनौं वकील मात्र हैन, फैसला सुनाउने न्यायाधीश नै हुनेजस्तो भूमिकाबाट बाहिरिनु पर्छ । यदि यही चाला हो भने कानून हातमा लिनेजस्तो जंगली शासनको अभ्यास हुन थाल्छ ।

आरोप रविमाथि नै लागेको छ । त्यसैले उनले प्रहरीसमक्ष गएर 'ममाथि आरोप लाग्यो, सत्य-तथ्य छानबिन होस्' भनेर सुपर्दुगी गर्नु नै श्रेयस्कर हुन्छ । उनी एक सामाजिक व्यक्तित्व अझ सेलिब्रेटी पत्रकार नै भैसके, उनले आफ्नो व्यक्तित्व वचाउन पनि यो आरोपबाट मुक्त हुनैपर्छ । त्यसका लागि फेसबुके फ्यानले क्लिनचिट दिएर पुग्दैन, मुलुकको कानूनी प्रक्रियाले नै दिनुपर्छ ।

 

धेरै पर जानै पर्दैन, सामाजिक सञ्जालको ताप र रापले निर्मला काण्ड अझै रहस्यको पर्दा ओडिरहेको छ । यदि हामीले त्यही गल्ती यसमा पनि दोहोर्याउने हो भने शालिकरामका नाममा अर्को निर्मलाको जन्म हुन्छ । यी दुई घटना र पात्रमा निश्चित पनि केही फरक त छ तर सामाजिक सञ्जालको ताप र रापको कोणबाट मात्र हेर्दा धेरै संगति नमिलेजस्तो देखिदैन ।

दु:खको कुरा नेपालमा अनुसन्धान अनेक किसिमले प्रभावित हुने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव पनि बढेकै पाइएको छ । यसको प्रभावबाट अनुसन्धानकर्मी मात्र हैन, सरकार पनि पटक पटक लर्खराएका दृष्टान्त नेपालमा थुप्रै पाइन्छन् ।

यो प्रकरणमा चाहेर/नचाहेर पनि सञ्चारकर्मी रवि लामिमछाने किटानीका साथ जोडिएका छन् । शालिकराम जो यो संसारमा छैनन् उनले नामै तोकेर उनकै कारणले आफू आत्महत्या गर्न बाध्य भएको भिडियो नै नासो छोडेर गएका छन् । यो आरोप सत्य हो वा साँचो हो, फेसबुकमा सबै न्यायाधीश भएर निर्क्यौल हुने हैन । यसका लागि त अनुसन्धान नै हुन जरूरी छ । त्यो अनुसन्धानबाट निस्कने निष्कर्ष नै तथ्य हुन्छ, बाँकि त तर्कका लागि गरिने तर्क हुन् ।अहिले रविका पक्षमा जे जस्ता तर्क आएका छन् तिनीहरूले उनलाई भगवान त बनाउन सक्लान् तर कानूनी आारमा बलियो बनाए जस्तो देखिदैन । 

रविका लागि यो घटना किन पनि दु:खद छ भने शालिक उनकै सहकर्मी/सहधर्मी हुन् । र, आफू रविकै कारण आत्महत्या गर्न लागेको भनेर यो संसार छोडेर गएका छन् । अब उनी आएर प्रतिवाद गर्ने हैनन् । त्यसैले पनि रविले नै आफू निर्दोष भएको प्रमाणित गर्नुपर्ने हुन्छ । र, एकजना पत्रकारको आत्महत्या गर्ने कारणसँग जोडिएको भनिएको आफ्नो नामलाई सधैका लागि छुटाउनु पर्छ ।

यसका लागि कुरा सामान्य छ, शालिकरामले जे जसरी यो संसार छोडेर गएका छन्, अब यसको रहस्योद्धाटन गर्ने काम सरकारको हो । एक किसिमले भन्ने हो यो सरकारवादी मुद्दा भैसक्यो । यस्तो अवस्थामा अब किटानी जाहेरीको प्रश्नै रहेन । आरोपित पक्षलाई हिरासतमा लिएर अनुसन्धान गर्न थाल्ने र कानूनी प्रक्रिया अगाडि बढाउने नै हो । यसो गर्न रवि लामिछानेका लागि  पनि जरूरी छ । किनकि, उनी आफू निर्दोष भएर यो समाजमा बाँच्नुपर्छ । त्यसको प्रमाणपत्र कसले दिने ? फेसबुकका फ्यानले दिएर त हुदैन होला । सम्मानित न्यायालयले नै दिनुपर्ने हुन्छ । यस्तोमा रवि आफै प्रहरीकोमा गएर ममाथि आरोप लाग्यो, छानबीन गरेर सत्यतथ्य बाहिर ल्याइयोस् भन्ने साहस गर्नुपर्छ ।

रविका लागि यो घटना किन पनि दु:खद छ भने शालिक उनकै सहकर्मी/सहधर्मी हुन् । र, आफू रविकै कारण आत्महत्या गर्न लागेको भनेर यो संसार छोडेर गएका छन् । अब उनी आएर प्रतिवाद गर्ने हैनन् । त्यसैले पनि रविले नै आफू निर्दोष भएको प्रमाणित गर्नुपर्ने हुन्छ । र, एकजना पत्रकारको आत्महत्या गर्ने कारणसँग जोडिएको भनिएको आफ्नो नामलाई सधैका लागि छुटाउनु पर्छ ।

यो घटनासँग एक किसिमको संगति राख्ने अर्को पक्ष पनि त्यतिकै महत्वपूर्ण छ । यादै होला, कुनैबेला रवि जनआस्थाका सम्पादक र किशोर श्रेष्ठमाथि नायिका श्रीषा कार्कीलाई हत्या गर्न बाध्य पारेको भनेर ठूल्ठूलो आवाज उठाउँथे । जबकि श्रीषाले त किशोरले आत्महत्या गर्न बाध्य पारेको भनेर किटानी आरोप पनि लगाएकी थिइनन् । यद्यपि, परिस्थिति त्यस्तै विकास भएको थियो र किशोर कानूनका अगाडि उभिन बाध्य भएका थिए । तर, रविमाथि त किटानीसाथ आत्महत्या गर्न बाध्य पारेको आरोपकै भिडियो छोडेर गएका छन् शालिकरामले । चाहेर होस् वा नचाहेर रविमाथि शालिकरामलाई अर्को श्रीषा कार्की बनाएको आरोप त लाग्यो नै । यसलाई शालिकरामको विडम्बना वा रविको नियति मात्र भनेर पार पाउने अवस्था छैन । 

शालिकरामको आत्महत्या भनिएको यो प्रकरणको सत्य के हो ? त्यसको अनुसन्धान हुन दिउँ । जे भए पनि रविमाथि संगीन आरोप लागेको छ । त्यसैले उनले नै प्रहरीसमक्ष गएर 'ममाथि आरोप लाग्यो, सत्य-तथ्य छानबिन होस्' भनेर सुपर्दुगी गर्नु नै श्रेयस्कर हुन्छ । उनी एक सामाजिक व्यक्तित्व अझ सेलिब्रेटी पत्रकार नै भैसके, उनले आफ्नो व्यक्तित्वको लागि पनि यो आरोपबाट चोखिनै पर्छ । त्यसका लागि फेसबुके फ्यानले क्लिनचिट दिएर पुग्दैन, मुलुकको कानूनी प्रक्रियाले नै दिनुपर्ने हुन्छ । 

आगे उनकै मर्जी । 

प्रकाशित मिति: : 2019-08-15 05:58:52

प्रतिकृया दिनुहोस्