रवीन्द्र अधिकारीको क्षेत्रमा विद्या भट्टराई कति उचित?

तस्बिरः बिएल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकार पदमा बहाल रहेकै बेला हेलिकप्टर दुर्घटनामा  परि २०७५ फागुन १५ गते उनीसहित ७ जनाको  ताप्लेजुङमा निधन भयो।

उक्त अकल्पनीय, अप्रत्यासित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणीय क्षति भयो। यस्तो घटनाको  गहिरो दु:ख र शोक घडीमा धैर्य गर्न आव्हान गर्दै सरकारले दिवंगत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूत प्रकट गर्‍यो।

सरकारले १ दिनको शोक विदा गर्दै पोखराको देवीघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि गर्‍यो। उनी नेकपाका निकै लोकप्रिय, कामकाजी युवा नेताको रूपमा चिनिन्थे। रवीन्द्र अधिकारी कास्कीबाट लगातार र निकै चुनौतीपूर्ण अवस्थामा निर्वाचन जित्ने जनप्रतिनिधिमा परेका थिए।

उनी दिवाङ्गत भएपछि अहिले  कास्कीको दुई नम्बर क्षेत्र प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको ६ महिना भइसक्यो। देशका अन्य भागमा पनि  विभिन्न कारणले रिक्त भएका पदहरू पूरा गर्न सरकारले निर्वाचनको तिथि मिति पनि तोकिसकेको अवस्था छ।

यस्ता निर्वाचनहरू कुनै कारणले रिक्त हुने अवस्था बाहेक पाँच वर्षमा एक पटक मात्रै हुने व्यवस्था छ। रिक्त अन्य क्षेत्र जस्तै कास्कीको क्षेत्र नम्बर दुई अहिले रिक्तता पूर्तिका लागि निकै चर्चामा देखिन्छ।

विस २०४६ सालपछिको नेपाली राजनीतिमा मौलाएका अनेकौं गैर राजनीतिक प्रचलन मध्येको एउटा प्रचलन पतिको निधनपछि पत्नीलाई राजनीतिक उत्तराधिकारी बनाएर  राजनीतिमा प्रवेश गर्ने /गराउने प्रचलन देखिन्छ।

यस्तो प्रचलन विषेश गरि दलको प्रभाव त्यो क्षेत्रबाट नहटोस् अथवा पहिलेको जीतलाई फेरि कायम गर्न सकियोस् भन्ने मनसायसहित प्रयोग भएको अवस्था जस्तै गरि देखिएको छ।

त्यस्तै अर्को कारण दिवङ्गत जनप्रतिनिधिको निकटता आफूबाट टाढा नहोस् भन्ने आम मतदाताको भावनात्मक मनसायको सम्मानको लागि  पनि पत्नीलाई उठाइन्छ।

तेस्रो आफ्ना पति या परिवारको सदस्यले गरेको राजनीतिभित्रको लगाव र निरन्तरतालाई बचाईराख्ने प्रयत्न पनि हुनसक्छ।

यस्ता अनेकौं कारणहरूले अहिले कास्कीको क्षेत्र नम्बर दुई सबैको चासो भित्र परेर अनेकौं चर्चा परिचर्चामा पुगेको छ।

तिनै चर्चा भित्रकी पर्यायको रूपमा अहिले विद्या भट्टराईको नाम जोडिएर आएको हुनसक्छ। तर, उनी आफैं पनि हिजो विशेषे गरि विद्यार्थी राजनीतिमा निकै लोकप्रिय र मिहेनती कार्यकर्ता र नेता थिइन् भन्ने जोडेर / जोड्न खोजेर नै यो नाम आएको या सहानुभूतिसँग मात्रै जोड्न खोजिएको हो? यसरी नाम जोडिनुमा विद्या भट्टराई आफैंको चाहना छ या छैन अथवा हो या होइन/ र छ या छैन अनि आवश्यकताको रूपमा पार्टीले लिएको छ या छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ कि जस्तो लाग्छ।

साथै यसरी चर्चा परिचर्चा गरिरहँदा आम जनसमुदायको भावना र उनको हिजोको राजनीतिक लगानी, कुशल राजनीतिक नेतृत्व र संस्कार पनि जोडिएको हुनसक्छ।

वि स २०४६ सालपछि दलीय राजनीतिभित्र नजानिदो ढङ्गबाट छिरेको अपराधीकरण तथा अराजनीतिक संस्कारहरू अहिले निकै मज्जाले मौलाएका छन्।

हिजोको निष्ठा, त्याग र जनजीविकाका भावनात्मक कुरा विस्तारै दन्ते कथा जस्तो गरि हराउँदै छन्। हिजो भन्ने गरेको रगत भन्दा विचारको नातामा विश्वास, अपनत्वको सम्बन्ध र निकटता हुन्छ भन्ने कुरा लगभग समाप्त नै भैसकेको अवस्था छ।

राजनीति भित्र मौलाएको आत्मकेन्द्रीत सोचले नेतृत्वमा नै अवसरवाद हावी भएको कुरा अनेकौ खुला कार्यक्रमका प्रवचन, भाषण, वक्तव्य आदिमा छरपस्ट भएका अभिव्यक्तले छर्लङ्ग भएको छ।

त्यही कुरा राजनीतिक दलको तल्लो संरचनासम्म हावी भएको कुरा हिजो निर्वाचनको सन्दर्भमा अनेकौं रूपमा असन्तुष्टि पोख्ने क्रममा देखियो पहिलेका निर्वाचनहरू कार्यकर्ताहरूको प्रभाव, बल र जनआधारले नै जित्ने निश्चित हुन्थ्यो।  अहिले जित्ने निश्चित भएका कतिपय स्थानमा नियतिबस  निर्वाचन परिणाम सोचेभन्दा फरक आयो।

त्यस्ता  हारहरू प्रतिपक्षी या विपक्षीको मतको कारणले होइन। त्यो  हारभित्र राजनीतिक दलको अन्तरघात नै हो। अन्तरघातभित्र भिजेको गुटबन्दीको फेरको तेन्द्रोले घेरेर हारेको हो भन्दा फरक नपर्ने अवस्था थियो र अझै छ।

त्यो सँगै नेतृत्वको गुटबन्दीको छाँयाले जोडिएको कार्यकर्ताभित्रको गुटबन्दीको अमानवीय व्यवहारले हिजो संविधान नबन्दा मौलाएको बहिष्कारण, घाँस खुवाने र कपाल काटेर श्राद्ध गर्ने संस्कृतिले व्यक्तिलाई त सक्न खोज्यो त्यो भन्दा बढी पाटीलाई सकेको होला नि!

निर्वाचन र यो पछिको राजनीतिक जीवनसगँ अब यस्ता चुनौतीहरू कसको कारणले? किन व्यहोर्नुपर्ने हो र ? यी र यस्ता अवसरवादी चरित्रहरू किन र कसरी मौलाएका होलान् भनेर कस्ले र कहिले खोज्ने खोज्ने होला ?

निर्वाचनमा हुने यस्ता घात, अन्तरघातको संस्कृति बहुदलीय प्रणालीमा नौलो होइन। निर्वाचनमा विषेश गरि निर्वाचनको परिणाम आफ्नो पक्षमा तान्न/उभ्याउन विभिन्न प्रकृतिका शक्ति प्रदर्शन, घरदैलो कार्यक्रम, झण्डा, व्यानर, यातायातका साधन,  यातायातको  लागि तेल, परिचालित कार्यकर्ताको लागि खाना, खाजा  आदिको त उमेदवारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।

हिजो भूमिगत राजनीति गरेर पुर्णकालिन भएका नेताहरूले जीविकोपार्जनको लागि प्रतिबन्ध हटेपछि खास व्यपार, व्यवसाय अथवा कुनै पेसा अपनाएको पनि देखिन्न। भए पनि छोटो समयमा करोडौंको आम्दानी हुने त्यस्तो पेसा नेपालमा खास छदै छैन। तर, पनि सबै दलका नेतृत्वहरूको जीवनशैली र निर्वाचनमा हुने र भएको खर्च सुन्दा कसरी आम्दानी भयो होला भनेर  अत्यास लाग्ने अवस्था छ।

यस्तो अपारदर्शी प्रणालीले राजनीति दलका कार्यकर्ता भन्दा मतदातालाई नजिक गराउँछ। मतदाता नजिक गराउने कुरा त ठिकै हो। यस्तो प्रणालीले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउँछ। तर  निर्वाचनमा हुने र भएको खर्च विर्सेर जनतामुखि हुनका लागि नै उमेदवारहरूले त्यतिको पैसा खर्च गरेका हुन् त? 

प्रत्येक निर्वाचनमा यसै गरि खर्च गर्न सक्ने ल्यागतको आम्दानीको श्रोत के हो ? यस्तो महँगो निर्वाचन प्रणाली धानिरहने अवस्था अझै किन बनिरहेको छ ? भन्ने कुरा चाहिँ अहिलेको विषेश चासोको विषय हो।

हेर्दा नदेखिने तर  बस्दा उठ्नै नसकिने गरि डामिने यस्तो भड्किलो निर्वाचन प्रणालीले प्रत्यक्ष निर्वाचनमा महिला, दलित, अपाङ्गलगायतका समावेशीकरण भित्रका समूहले प्रत्यक्ष निर्वाचनमा भाग लिन सक्छन् या सक्दैनन्? सोचनीय विषय छ।

दशैभरि विसङ्गति भित्र्याएको राजनीतिक वृत मध्येको एउटा क्षेत्र हो कास्कीको क्षेत्र दुई पनि हो। यस क्षेत्रको निर्वाचनको उमेदवारको नामहरू मध्ये सामाजिक सञ्जालमा पहिलो दर्जामा विद्या भट्टराईको नाम देखिएको छ।

अहिलेको न्यायलय, पत्रकारिता र राजनीतिक क्षेत्रका रहेक विषयको निर्णय सामाजिक सञ्जालले नै गरिदिने परिपाटी देखिन्छ। के यस्तो प्रकृयाले नै दलहरू निर्णयमा पुग्ने हो? अथवा सम्बन्धित व्यक्तिसगँ त्यस विषयमा क्रियाप्रतिक्रिया हुनु या गरिनुपर्ने हो?

यस्तो तौरतरिकाले हामीलाई कता लैजादै छ सोचनीय विषय होइन र? यस्तो अवस्थामा दलले पनि धेरै कुरा सोचेर सम्बन्धित व्यक्तिको राय सल्लाह मात्रै निर्णयमा पुग्दा राम्रो होला कि!

विद्या भट्टराईको नाम आउनुको पछाडि रवीन्द्र अधिकारीको नाम जोडिएर आएको छ। उनी अहिले पीडामा नै रहेको अवस्थाका बारेमा सबै विज्ञ छन्। तर, त्यो विषय उनीहरूको लागि प्राथमिकतामा पर्दैन।

जे जस्तो अवस्था रहे/ भए पनि विद्या भट्टराईले निर्वाचनमा होमिनैपर्छ भन्ने एकोहोरो समर्थन देखाएको देखिन्छ। यो समर्थन भावनात्मक मात्रै हो। यससँग जोडिएको व्यवहारीकता (दैनिकी) र भोलि सृजना हुने प्रतिकुलतामा अहिलेका समर्थक भोलि आलोचक हुदैनन् भन्न सकिन्छ र?

त्यस बेला गर्ने आलोचनालाई नराम्रो मान्नु पनि ठिक होइन होला।  फेरि अहिले सामाजिक सञ्जालको प्रयोग गर्ने सबै के साच्चिकै कास्की क्षेत्र नम्बर दुईका मतदाता हुन् या होइन भन्ने विषय पनि अहिलेको प्रमुख विषय बन्न पर्ला कि?

अर्को कुरा यदि विद्या नै त्यो निर्वाचनमा जाने हो भने निर्वाचन प्रचारप्रसारमा उनीसगँ प्रसस्त पैसा चाहिन्छ। उनको उम्मेदवारीको निर्णय पाटीले गर्ने तर निर्वाचन व्यहोर्नु पर्ने आर्थिक सामाजिक जिम्मेवारी पाटीले नलिने कुराले पनि उनलाई असहयोग हुन्छ होला कि!

यस्ता काममा व्यक्तिले करोडौंको श्रोत कसरी जुटाउने? चुनौतीपूर्ण र नैतिक प्रश्न यहा नेर देखिन्छ। जीउनुपर्ने बाँकी जीवनको चौतारीमा एक्लै घोतलिएर जीउने साहारा खोजिरहेकी महिलाले सन्तानप्रतिको दायित्व सगैं निर्वाचनमा करोडौं जुटाउने कुरा निकै गम्भीर र पहुँच बाहिरको विषय होइन र!

हिजोको राजनीति बिरासतबाट अलग्गिएर क्षमता अभिवृद्धि र  परिवारको व्यवस्थापन गर्दै  उप प्राध्यापक  पेसामा रमाएर बसेकी विद्या भट्टराईले आफू सामेल रहेकै क्षेत्रबाट राजनीतिलाई सघाउन सक्ने धेरै बौद्धिक कामहरू पनि त छन्।

ती विषयमा किन चर्चा हुन सकिरहेको छैन? यी र यस्ता विषयमा सोच्न सक्ने हो भने आवश्यकता अनुसार जिम्मेवारी दिएर सेवामा पारदर्शिता र चुस्त दुरूस्त बनाउने तिर पनि त धेरै ठाउँ थिए होलान् नि।

सांस्कृतिक रूपले विघटनको अवस्थामा पुगेको दलीय प्रणाली र त्यसका निष्कृय संरचनाहरूले निर्वाचन परिणाम पक्षमा आउदा पनि खास दैनिक भेटघाट र सामाजिक समारोहमा सरिक हुने बाहेक अरू ठोस कार्य गर्न सकिने अवस्था देखिन्न।

उप-प्राध्यापन पेसाबाट राजीनामा दिएर उप निर्वाचनमा जाने अनि तीन वर्षपछि फेरि घात, अन्तर्घातको राजनीतिले भित्र र बाहिर बनाएर छेक्ने र सक्ने दलीय  संस्कारले छिया: छिया: भएको अहिलेको अवस्थामा फेरि विकृतिको सिकार हुनुपर्दैन भन्ने पनि त छैन।

भोलि सृजना हुने यस्ता आलोचनात्मक पक्षमा अहिलेसम्म चर्चा परिचर्चा भएको सुनिएको छैन। अहिलेसम्म नसुन्नु/चर्चा नगर्नु भनेको फेरि पनि निरीह भएर बाच्नु हो भन्दा फरक पर्दैन।

नेपालको दलीय राजनीति र त्यस भित्र रमाउने नेता कार्यकर्ता एकै छिनमा पानीमा डुबेर पखालिने र  दिनभर दूधकुण्डको रवाफमा मस्त निदाउने संस्कृति भित्र छिरिसकेको अवस्था छ।

सिङ्गो पाटीपङ्ति पद, पैसा, मद र मस्तानामा डुबेको बेला सरल, इमानदार, मेहेनती र सज्जन मानिसहरू एक, दुई राजनीति भित्र छिर्दैमा राजनीति सङ्ल्याउन सकिन्छ र!

एक पटक त निर्वाचन जिताउन पार्टीले लगानी गर्ला पनि तर अर्को पटक निर्दो भएर, हिनताले गलेर राजनीति विसाउने, आलोचना गर्ने र दल र नेतालाई गाली गरेर हिड्ने अवस्था बन्यो भने त्यो भन्दा दुःखद् अरू के हुनसक्ला र! त्यसैले माथि उठाएका जस्ता अनेकौं विषयहरूमा पहिले व्यक्ति (आफू) भएर सोचि, विचारी, भविष्यतिर हेरेर मात्रै समाजिक सञ्जालमा समर्थन र विरोधको निर्णय गर्नु उत्तम हुन्छ कि!

प्रकाशित मिति: : 2019-09-26 17:50:15

प्रतिकृया दिनुहोस्