विदेशमा बस्ने हामीले नेपालकै पात्रोमा मनाऔं दशैं

तस्बिरः बिएल नेपाली सेवा

भदौ ६, २०७६ को मितिमा  डिल्लीबजार काठमाडौंबाट अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णय समितिले ‘बिभिन्न देशमा बसोबास गर्ने धर्मालम्बीबाट बडादशैंको टिकाको साइतबारे जिज्ञासा राखिएकोले।।।’ भन्दै अमेरिकाका ४ सहर, अष्ट्रेलियाका ३ सहर, क्यानाडाको टोरन्टो, बेलायतको लन्डन, जापानको टोकियो र भारतको दिल्लीमा कहिले दशैं पर्छ र कुन समय टिकाको साइत छ भनेर एउटा तालिका निकाल्यो । 

अरु एक–दुई आफूलाई ‘एस्ट्रोलोजर’ भनेर चिनाउने महानुभावले फेसबुक भिडियोमार्फत पनि सिकाए- कहिले दशैं मनाउने बिदेशमा भनेर । बडागुरुज्यूको बोली आएपछि बिदेशमा बस्ने मझौला पण्डितजी पनि त्यसैमा लोली मिलाउदै छन्–लौ हाम्रो दशैं त बाआमाले मनाउनेभन्दा फरक छ नि, यसो पो गर्नु पर्यो भन्दै दशैंको टीकालाई अघिल्लै दिन सार्न खुब लागिपरेका छन् उत्तर अमेरिकी पण्डितजीहरु। सकेसम्म आ-आफ्नो विज्ञताको ‘रेफरेन्स’ भजाएर कुरा गरिरहेका छन् । यस्ता कुरा आएपछि तत्तत् देशमा बस्ने नेपालीमाझ अहिले दशैं कहिले मनाउने भन्ने बिषयमा ठूलै अन्यौल, छलफल र दिन रोजाइका चक्कर चलिरहेका छन् । 

सुदूरका ताराः जब देवुबाट देवी बन्छन् (भिडियोसहित)

सम्बन्धित क्षेत्रमा जान्नेले भनेको, हिसाब कोरेको, लेखेको र ब्याख्या गरेकै आधार मानेर नै धर्मका, संस्कारका, आस्थाका, विश्वासका कुराहरु चलेका हुन्छन् र एउटा मूल्यको रुपमा स्थापित हुन्छन् ।  ज्योतिषशास्त्र, खंगोलशास्त्रका अफ्ठ्यारा गणितको गणना गर्न जान्नेको कामै गणना गर्नु र यस्तो छ हिसाब भनेर सुनाउनु हो । अरु पेसा र ब्यवसायका मान्छेको पनि कर्म, धर्म त्यही हो । वकिलले कानुनका कुरामा ‘बार टक्का’ लाउँछ, नेताले आफ्नो व्यक्तिगत, पार्टी र कार्यकर्ताको हुँदोमा कुरालाई घुमाउँछ । ब्यापारीले नाफा नहुने जति सबै कुरालाई खारेज गरेर बोल्छ । 

अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णय समितिलाई ‘कहिले दशैं मनाउँ ?’ भनेर सोधियो रे अनि गणनाअनुसारको प्राबिधिक हिसाब दियो समितिले । यसमा उसको के दोष? उत्तर अमेरिकी देश क्यानडा, अमेरिका, युरोप र बेलायतको लन्डनमा नेपालीले दशैं अक्टोबर ७ मै मनाउनु पर्छ भनिदियो समितिले । अमेरिकामा त अझ सहरैपिच्छे भिन्नभिन्न साइत शिफारिस गरिदिएको छ टीकाको । दशैं चाँड मनाउने नेपालीको एकीकृत शैली र भावनामा खलल पुर्याउने चाला गर्दैछन् मान्छे ।

दोस्रो विश्व युद्वका ९९ वर्षीय वार भेट्रान: भिसी नपाएको झोकमा पल्टन छोडे (भिडियाे सहित)

आफ्नो मूल भएको देशमा दशैंको टिका उठ्नु कहाँ छ कहाँ, यता हाम्रा पण्डितहरु दशैंको अमेरिकी  र बेलायती संस्करण पारित गराउन मरिहत्ते गर्दैछन् । उसैपनि हाम्रो हिन्दू धर्म, संस्कारमा पण्डित र पुरेतैपिच्छेका ‘यसो गर्नुहुन्छ र त्यसो गर्नु हुन्न’ का कर्मकाण्डीय रुढ कति छन् कति । यस्ता रूढ उब्जाउने र व्याख्या गर्नेहरु च्याउसरी उम्रिनुको कारण सजिलै बुझिन्छ । धर्म, संस्कार र आस्थाका कुरामा आफूखुसी व्याख्याता भइयो भने आफ्नो जजमानी फस्टाउँछ । पण्डितजीहरु अहिले अष्ट्रेलिया, अमेरिका, क्यानाडा, बेलायत जापानमा यही गरिरहेका छन् ।

मनाउनेका लागि दशैं एक प्लेट मासु चिउरा, एक थाल केरा चिउरा दही, निधारको रातो टिका, एक धरो नयाँ लुगा आदि मात्रै होइन । दशैं एउटा बृहतर संस्कार, रहुस, रमाइलो, भेटघाट, आत्मियता,  भातृत्व, भोजन, भलो चिताइ, एकता, शान्ति, प्रसन्नता आदिको एउटा सनातनी राष्ट्रिय माहौल हो । यो अर्थको दशैं हामीले नेपालमै सिकेका हौँ, मनाएका हौँ र अंगअंगमा उमंगले अपनाएका हौँ । नेपाली जनजीवनमा यस्तो बिराट अर्थ राख्ने दशैंलाई हामीले ‘एक ढिक्का नेपाली दशैं’ नै रहन दिनुपर्छ ।

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

हाम्रा बाउबाजेले मनाउने मान्ने दशैं नै हाम्रो दशैं हुनुपर्छ र त्यहीबमोजिम मनाउनु पर्छ। दशैँलाई नेपाली दशैं, जापानी दशैं, अष्ट्रेलियाली दशैं, अमेरिकी दशैं, बेलायती दशैं भनेर दशैंलाई नि संघीय र प्रादेशिक बनाउनु हुदैन। उसै त बिदेशमा नेपालमा जस्तो दशैं नवरात्रदेखि नै लाग्दैन। फरक देश र संस्कार, संस्कृतिकाका कारण काममा हाम्रो चाडपर्बका लागि छुट्टी नहुने भएर उसै त फूलपाति, महाअष्टमी, महानवमी आएको गएको पत्तो पाइन्न्। त्यसमाथि दशमीको टिका पनि नेपालको भन्दा फरक दिन गरेर नेपालको दशैं तिथिमितिसँग पुरै छुट्टिने हो भने हाम्रो दशैं नेपाली मूल दशैंभन्दा अर्कै र बिरानो हुँदै जान्छ। यसको ओजपूर्ण महत्व हराउदै जान्छ। 

आज हामी देश बाहिर बस्छौं तर दशैं र तिहारबाहिर बस्न सक्दैनौ।  

नेपालमा बडादशैंको टिको अक्टोबर ८ का दिन परेको छ। हाम्रा जन्मघरमा, मुलघरमा टिका नउठाई यता हामीलाई अघिल्लै दिन अक्टोबर ७ मै टिका लाउनु ठीक हुन्छ भनिएको छ जुन प्राबिधिक दृष्टिले सही होला तर हामीले जन्मदै पाएको त्यो बृहतर अर्थको दशैं र त्यसको पारिवारिक, स्वदेशीय मूल्य र भावनाका दृष्टिले ठीक छैन । नेपालमा अझै त हाम्रा बाउआमा, हजुरबाउ हजुरआमा, काका–काकी, दिदी भिनाजु, मामा माइजू जिउँदै भएको पुस्ता हौं हामी । 

नेपालकै पात्रोअनुसार हामीले गर्दा हाम्रा स्वजनहरुले नेपालमा विधिविधानअनुसार टीका उठाएर दशैं मनाउदै रात पर्दै गर्दा हामी यहाँ टीका लगाउने र दशैं मनाउने त्यो व्यापक दशैंजनीन खुसी, उल्लास र उमंगले ओछ्यानबाट उठ्छौं ।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

उज्यालो हुँदा देखिने नेपालीका राता निधार र लर्के जमराले भरिएका फेसबुक र ट्वीटरका मेलाले नि हामीलाई दशैँ आएको र खुशी छाएको अनुभूति दिलाउँछ । हामीले भोलिपल्ट बिहान उठेर टिका लाउने र दशैं मनाउने अथाह उत्साह र उमंग साँचिरहेकै बेला नेपाल घरबाट आउने टिकाजमराको ‘लाइभ’ श्रब्यदृश्य वार्ताले हामीलाई दशैंको थप सुखानुभूति दिएको छ अहिले । बसेको ठाउँ फरक परेपनि मेरा बाआमाले मनाउने र मैले मनाउने हामीसँग एउटै दशैं छ भन्न पाइएको छ । 

मौलिक दशैंको उत्पति भएको नेपाल देशमा दशैंका यावत पुजा अर्चनाहरु चलेका हुन्छन्। नौरथाबाट चल्ने चण्डी रुद्रीका ऋचाले सन्तानसाखालाई चोख्याएर, रक्षा गरेर सकेपछि घरमा बाउबराजुले टिका उठाएपछि बल्ल हामीलाई यहाँ बाधा अड्काउ फुक्छ टिका लाउन।

तिथिअनुसार हाम्रा धेरै चाँडपर्ब आउछन् ।  नागपन्चमी, कुशे औंशी, हरितालिका, ऋषितर्पणी पुर्णिमा, गुरुपुर्णिमा आदि हाम्रा चाडपर्बको महादेशैपिच्छेका देशैपिच्छेका गणना निकाल्नु र यसोयसो गर्नु भनेर सिफारिस गर्ने काम गर्नु भनेको नेपालका ज्योतिष, पण्डित, पुरेतहरुको ‘समुन्द्रपार जजमान बिस्तार’को खेतीबाहेक केही होइन ।  

दशैं तिहार मनाउने मामिलामा हामी बिदेशमा बस्ने नेपालीले ज्योतिषशास्त्र र खगोलशास्त्रका ज्ञाताको विशेषज्ञ परामर्श लिइरहन आबश्यक नै छैन । दशैं नेपालीहरुको हो र यो एउटा दशैं नै रहनु पर्छ । मातृभूमिमा बाउबराजुले मनाउने समतालिकाको दशैंभन्दा पर्तिर अरु कुनै प्रकारका दशैंका अन्तरदेशीय प्रकारहरुको उत्पति हुन दिनु हुदैन ।

जो दाईजोको निहुँमा सासु ससुरा र श्रीमानबाट मरणासन्न हुने गरी कुटपिटको सिकार भइन् (भिडियोसहित)

महादेशैपिच्छे, देश र तिनका सहरैपिच्छेका प्राविधिक ‘उप-दशैं’हरु खडा गरिदिएर हाम्रो दशैंको नेपाल जोड्ने, परिवार जोड्ने, भावना जोड्ने, दशैंको गरिमा र  सनातन जोगाउने महत्व र शक्तिलाई विभक्त हुन दिनु हुदैन । नेपालमा मनाइने दशैं र लगाइने टिका पन्चाङ्ग निर्णय समितिले सूत्र घोटेरै निकालेको हो जसलाई परापूर्बकालदेखि नै आदरपुर्बक मानिदै आएको छ । नेपालको पात्रोमा अक्टोबर ८, बिहान १०:३५ बजे भनिएको छ दशैंको टीका । पृथ्वी घुम्दै हामी बसेको ठाउँमा १०/१२ घन्टापछि त्यही अक्टोबर ८, बिहान १०:३५ बजे आइहाल्छ । हामी त्यही गणनालाई मानेर दशैं मनाऔं । नेपालबाट बाहिर बसेपनि नेपाल र नेपालीसँगै छौं, बाहेक छैनौ, हाम्रो अर्कै दशैं छैन, आफ्ना बाउबराजुले अघि बिहान लगाएको उही दशैं टिका हामी अब लाउछौँ भन्ने भावना स्थापित गरौं ।      

 

प्रकाशित मिति: : 2019-09-29 15:32:35

प्रतिकृया दिनुहोस्