ओली दाहिना हुँदा मन्त्री, देब्रे हुँदा कैदी !

ओली दाहिना हुँदा पार्वत भए मन्त्री, देब्रे हुँदा कृष्ण भए कैदी । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

प्रसंग लगभग विस्मृतिमा गैसकेको महरा प्रकरणबाट सुरू गरौं । 

यस वर्षको कालो कात्तिकमा कृष्णबहादुर महराका लागि मरिहत्ते गरी तातेको सामाजिक सञ्जाल यतिबेला उनका लागि हिउँ भएको छ। त्यसपछि प्रदेश प्रमुख हटाइए, आलम प्रकरण अघि बढ्यो, कालापानी आयो अहिले ओली मन्त्रिमण्डलको पुनर्गठन भएको छ- वर्षाको भल जस्तै चरित्रको सामाजिक सञ्जाल जे आउँछ, त्यसको पछिपछि प्रतिक्रियात्मक भएर हात धोएर लागिरहेकै छ ।

कात्तिक १८ गते पुर्पक्षको लागि थुनामा पठाएयता केही दिन धेरैले सामाजिक सञ्जालमा महराका लागि खुच्चिङ गर्न भ्याएका थिए भने केहीले उनको पक्षमा बचाउ पनि गरेका थिए। कतिपयका लागि भने कागलाई बेल पाक्यो हर्ष न विस्मत जस्तै थियो, त्यस्तै प्रतिक्रिया दिएका थिए।

त्यसपछि सामाजिक सञ्जाल हेर्दा लाग्थ्यो- नेपालमा महरा प्रकरण पनि भएको थियो र ? 

कात्तिक १८ पछि चारखालका थुनुवा माननीय महराको जीवन कसरी बितिरहेको छ, त्यसका बारेमा कतै समाचार पंक्ति लेखिएका छैनन्, न सामाजिक सञ्जालका भित्ता नै रंगिएका छन् ।

यस विचमा महरालाई जेल नै पठाउने जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डे पुरस्कृत भएका छन् । उनलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा रहने गरि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।

आममानिसलाई लागेको थियो, महरा भाग्नेवाला थिएनन् त्यसैले उनलाई जेलमै राखेर मुद्दा चलाइनु आवश्यक थियो । फेरि यस प्रकरणमा पीडित भनिएकी महिलाले नै उल्टै आफूले महरालाई पीडा दिएको भनेर अदालतमै लिखित जाहेरी दिएकी थिइन् । उनीहरूबीच लामो समयदेखिको सम्वन्ध रहेको र त्यसैको उतारचढाव आउने क्रममा यो घटना भएको भन्ने घाम जत्तिकै छर्लङ्ग थियो । 

यस्तो अवस्थामा पनि महरालाई जेल पठाउने निर्णय चानचुने थिएन, त्यही 'खास' निर्णयका लागि उनी बढुवा भएका हैनन् भन्न सकिने अवस्था छैन । 

धेरैलाई लागेको थियो, पीडित भनिएकी रोशनीले नै पीडित छैन भनेपछि मुद्दा नै चल्दैन होला। तर, सरकारी वकिलले 'वानेश्वर २६' लाई पीडित बनाएर मुद्दा चलाइ दिए। अहिले उनी बढुवा भए, यसलाई संजोग मात्र त कसरी भन्न सकिएला र ? 

न्यायाधीश मात्र हैन, महरालाई मुद्दा दायर गर्ने सरकारी वकिल पनि बढुवा भएका छन्। धेरैलाई लागेको थियो, पीडित भनिएकी रोशनीले नै पीडित छैन भनेपछि मुद्दा नै चल्दैन होला। तर, सरकारी वकिलले 'बानेश्वर २६' लाई पीडित बनाएर मुद्दा चलाइ दिए, त्यही वापत उनी पुरस्कृत भएका हैनन भन्न सकिने आधार देखिदैन । घटनाक्रम हेर्दा लाग्छ, सबै बनिबनाउ नै थियो। उनलाई बढुवा गर्ने महान्यायाधीवक्ता अग्नी खरेलकी श्रीमती अध्यक्ष रहेको संस्थाले नै रोशनीको टोलमा सीसीटीभी लगाएको थियो। यसलाई पनि संजोग मात्र हो भनिहाल्न सकिन्न।

यसैबीच महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिइएकोमा निर्णयको कैफियत झिकाइएको छ। यो कैफियतमा रोशनीले दिएको निवेदन समावेस हुन्छ कि हुदैन? अब हेर्नुपर्ने त्यसैमा छ। यदि संलग्न गरियो भने महराका लागि तारिखमा छुटेर मुद्दा लड्ने बाटो खुल्छ। हैन भने त्यो पनि सम्भव देखिदैन। तर, अहिलेको महराविरूद्धको सेटिङ हेर्दा त्यसो होला भन्ने अपेक्षा गर्न सकिन्न।

अब यसलाई पार्वत गुरूङ मन्त्री भएको प्रसंगसँग जोडौ । 

नेकपाका दोलखेली माननीय पार्वत गुरूङ ज्यानमारा उद्योगका अभियुक्त हुन् । महरा प्रकरणकै आसपासमा उनी ३५ दिने थुनुवा पुर्जी छक्याउँदै फरार थिए । ३५ औं दिनको विहानै अदालत गएर सुपुर्दगी गरे र साधारण तारिखमा छोडिए । उनी अहिलेसम्म ज्यानमारा मुद्दाकै अभियुक्त हुन् र तारिख धाउँदैछन् । 

तर, अचम्म उनी भर्खरैको मन्त्रिमण्डल पुनर्गठनमा महिला । वालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन्। ज्यानमारा अभियोग लागेको मानिस मन्त्री, सुन्दा पनि अचम्मै लाग्ने । तर, अजक गजबको नेपालमा ओलीलाई भवानी चलेको बेला जे पनि सम्भव भैरहेको छ । 

मु्द्दा त दुबैलाई फौजदारी मुद्दा नै लागेको हो। फरक के हो भने गुरूङले तारिखमा छुटे, महराले थुनामा परे। काुननका आँखामा त दुबै बराबर हुन् । तर, ओली दाहिना हुदा गुरूङ मन्त्री भएर सरर झण्डा हल्लाउँदै हिडेका छन् भने देब्रे हुँदा महरा चारखालको चिसो सिंढीमा कोचिएका छन् ।

अब पार्वत प्रकरणलाई महरा प्रकरणसँग तुलना गरौं ।

महरा जबर्जस्ती करणी उद्योगका अभियुक्त त हुन्, दोषी हैनन् । यस्तै अवस्था हो अर्का माननीय पार्वत गुरूङको पनि। तर, उनी जबर्जस्ती करणी उद्योगभन्दा पनि संगीन अभियोग ज्यानमानर्ने उद्योग गरेको अभियुक्त हुन्। भोली दोषी होलान् वा सफाइ पाउलान्, त्यो त्यतिबेलैको कुरा हो । मु्द्दा त दुबैलाई फौजदारी मुद्दा नै लागेको हो नि। फरक के हो भने गुरूङले तारिखमा मुद्दा लड्न पाएका हुन् महराले थुनामा रहेर। काुननका आँखामा दुबै बराबर हुन् । तर, ओली दाहिना हुदा गुरूङ मन्त्री भएर सरर झण्डा हल्लाउँदै हिडेका छन् भने देब्रे हुँदा महरा चारखालको चिसो सिंढीमा कोचिएका छन् ।

विट मार्नुअघि हाम्रो सामाजिक चरित्रको कुरा गरौं । महराको उछित्तो काढ्न लागेको समाज गुरूङलाई बधाइको धुइरो लगाइएको छ । हिजो सामाजिक सञ्जालमा महराको उछित्तो काढ्नेहरू हाम्रा काका, भान्जा मन्त्री भएको भनेर बधाइ बाढिरहेका छन्, कोही हाम्रो तमु, कोही हाम्रो दोलखाली मन्त्री भएको भनेर हुइँया मच्चाइरहेका छन् ।

प्रश्न पार्वतको हैन, हाम्रो समाज कति दोहोरो चरित्र लिएर बाँचिरहेको छ भन्ने हो । आफ्नाले मच्चाए कृष्णलीला र अर्काले मच्चाए रासलीला, नेपाली जातिकै एक आम विशेषता बनेको छ। यस्तो विशेषताले हाम्रो समाजको सभ्यता र विवेकमाथि नै प्रश्न चिन्ह लगाएको छ । 

अन्तमा आफ्नै कुरा, 

धेरैलाई लागेको होला यो महराको वचाउ हो । त्यस्तो लाग्नेहरूको लागि यो आफ्नै ऐना सोचाइ मात्र हो । संसार अर्कोतिर लागोस्, मेरो आत्माले महराले जबर्जस्ती करणी प्रयास गरेको मान्न तयार छैन । बरू सहमतिमा उनीहरूबीच धेरैपटक सहबास भएको हुनसक्छ । त्यसैले यस मुद्दामा रोशनीको सेकेण्ड ओपनियनलाई पूर्णत: बेवास्ता गरेर उनलाई चारखाल पुर्याउनु न्यायसंगत हैन । सभामुखबाट राजीनामा नै उनका लागि पर्याप्त सजाय हो। राजनीतिक भविष्य सकिएको एउटा प्राणीको जुगाँ उखेलिरहन आवश्यक छैन । 

उनको गल्तीको सजाय उनले पाइसकेका छन् । यसै पनि यस्तो गल्ती नेपाली राजनीतिमा पहिलो र अनौठो हैन । तर, यसको अर्थ यो ठीक हो भन्ने पनि पटक्कै हैन।

बाँकि त हेर्दै जाउँ, समयले नै सबै कुरा देखाउला । 

 

प्रकाशित मिति: : 2019-11-23 06:00:17

प्रतिकृया दिनुहोस्