उपनिर्वाचन : आज मध्यरातबाट मौन अवधि सुरु, के-के गर्न मिल्दैन ?

फाइल तस्बिर: बिएल

शनिबार हुन लागेको उपनिर्वाचनको मौन अवधि आज मध्यरातबाट सुरु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार मौन अवधिको समयमा निर्वाचनमा भाग लिने दलहरुले प्रचारप्रसार गर्न पाउँदैनन्। यस अवधिमा सभा, जुलस, घरदैलो लगायतका कार्यक्रम गर्न निर्वाचन आचार संहिताले रोकेको छ।

मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ।आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘मौन अवधिमा उम्मेदवार मौन बस्छन्, उनीहरुले भोट माग्ने, घरदैलो गर्ने, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन्।’

यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ। पछिल्लो समय प्रचार प्रसारको माध्यमसमेत बन्दै आएको सामाजिक सञ्जाललाई पनि आयोगले निगरानी गर्दैछ। आयोगअन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए– नभएको अनुगमन गर्नेछ। मौनअवधि उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने आयोगले प्रष्ट पारेको छ।

शनिबार ५२ स्थानमा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधि सभा सदस्यका लागि १ स्थान, प्रदेश सभा सदस्यमा ३, उपमहानगरपालिका १, गाउँपालिका अध्यक्ष ३, गाँउपालिका उपाध्यक्ष १ सहित ४३ वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ।

निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न दलका शीर्ष तहका नेता निर्वाचन क्षेत्रमा घरदैलो, सभालगायतका कार्यक्रममा सहभागी भएका छन्।

मौन अवधिमा गर्न नहुने काम यस प्रकार छन् :
१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका
आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने,
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,
४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,
५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने,

यसैबीच निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पतालले निर्वाचन आचार संहिता उल्लङ्घन गरी कर्मचारी भर्ना गरेको ठहर गर्दै कर्मचारी भर्ना बदर गर्न निर्देशन दिएको छ। आयोगले भनेको छ– ‘निर्वाचन आचार संहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले जुनसुकै प्रक्रियाबाट गरिएको नियुक्ति भए पनि उक्त नियुक्ति आचार संहिता विपरीत भएको हुँदा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा २ बमोजिम बदर गरी २४ घण्टाभित्र यस आयोगलाई जानकारी दिन भक्तपुर क्यान्सर अस्पताललाई निर्देशन गरिएको छ।’

 

 

 

प्रकाशित मिति: : 2019-11-27 13:41:36

प्रतिकृया दिनुहोस्