जसरी आकाशमा धुव्रतारा छुट्टै चम्किरहन्छ। त्यसरी नै धर्तिमा रहेर आफ्नो चमक निरन्तर खेल क्षेत्रमा दिइरहने धुव्रको छुट्टै पहिचान छ।
उनी गोल्ड मेडलीस्ट, नेपालका तीन वटा लाइसेन्स एकै व्यक्तिले पाउने पहिलो नेपाली, अब्बल गुरू, समाजसेवी र नेपालका रेर्कड ब्रेकर खेलाडी उत्पादन गर्ने गुरू हुन्।
एकै जनाको यती धेरै परिचय। धुव्र विक्रम मल्ल (४९) भन्छन्, ‘मान्छेले चाहे भने केही पनि असम्भव छैन। मात्र आत्मविश्वास हुनुपर्छ। मलाई यस्तो भयो भनेर कहिले पनि बसिरहनुपर्दैन। केही न केही गरिरहनुपर्छ।’
धादिङमा जन्मिएका धुव्रका तीन जना दाजुभाइ छन्। धन्द्वविक्रम मल्लका जेठो छोरा धुव्रले सानैमा आमा गुमाए पनि कान्छी आमा अनिताले उनलाई हुर्काइन्। धुव्रलाई त जन्म दिने आमाको अनुहार पनि सम्झना छैन।
सानैदेखि गाँउघरमा बाटो छैन भन्ने सवाल गल लिएर वाटो बनाउँन हिड्ने सहयोगी स्वभावका धुव्र खेलमा पनि स्कुले जीवनबाटै अगाडि थिए। तत्कालिन अवस्थामा हुने बिरेन्द्र शिल प्रतियोगितामा सटपुट र सय मिटर दौडमा प्रथम भई स्कुललाई टिम प्रथम शिल पनि जिताउन सफल भएका थिए।
विसं २०४४ सालदेखि बिहान, बेलुका कराँते खेल्न थाले। पछि आएर उनी गणतन्त्रातिक खेलकुद महासंघको संस्थापक अध्यक्षसमेत भए। उनले २०५० सालमा बालाजु औधोगिक क्षेत्र परिसरमा बालाजु कराँते–डो प्रतिष्ठान नेपाल खोले।
धुव्रको परिचय धेरैको आँखामा त्यागी, सरल र सत्यका लागि लड्ने भनेर पनि चिनिन्छन्। धुव्रको जीवन यती व्यस्त भयो कि, उनले कहिले कसको के भनेर चियोचर्चो नै गरेनन्। सरल तरिकाले चलिरहेको खेल जीवनमा २० अघि हट्टाहठ्डा जवान धुव्रको शरीर एक्कासी पहेँलो भएर आयो। एक महिनासम्म पनि पहेलो नहटेपछि परीक्षण गराउँदा जन्डिस भएको थाहा भयो।
उपचार गर्दै जाँदा उनको मृगौला सुकिसकेको रहेछ। यो कुरा थाहा पाए पछि एकपटक त सबै सकिएझै लागेको उनले हिम्मत हारेनन्।
१४ महिनासम्म नेपालमा डाइलासिस गराए। पछि उपचारकै क्रममा उनले चेन्नइमा गएर २० वर्षअघि मृगौला प्रत्यारोपण गराए।
‘त्यति बेला नेपालमा केही सुविधा थिएन। डाइलासिस गराउँदा पनि महिनाको ५० हजार सकिन्थ्यो’, धुव्रले सम्झिए।
धुव्रका काकाले उनलाई मृगौला दिएका थिए। मृगौला प्रत्यारोपण गरेको ६ महिनासम्म धेरै नै दुःख पाए। तर पनि उनले हिम्मत हारेनन्। आत्मविश्वासलाई बलियो बनाए। मृगौला प्रत्यारोपण गरेपछि उनले कहिल्यै पनि दिनको तीन पटक खाने औषधि छुटाएनन्।
एक वर्षसम्म उनी आफ्नो दिनचर्या अर्थात एक्सरसाइजदेखि खानपिनमा फर्किए। मृर्गौला प्रत्यारोपण गरेको दुई वर्षमा धुव्रले दक्षिण एसियाली गेममा विभिन्न विधामा ४ वटा स्वर्ण जितेर नेपालको नाम राखे। धुव्रको होस्टेल र प्रतिष्ठान खेलाडी र आफ्नो पदक, पुरस्कारले भरिएको छ।
मृगौला फेल भएकै कारण केही गर्न नसक्ने भनेर उनले सोचेनन् बरू अरू मृगौला रोगीको पनि प्रेरणाका पात्र बने। मृगौला प्रत्यारोपण गरेपछि नै उनको खेल जीवन झनै दौडियो।
अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान बनाए पनि छायाँमा बस्न रूचाउने धुव्रले विश्व हल्लाउने खेलाडी जन्माएका छन्। जसमध्ये सबैभन्दा पहिलो नाम आँउछ मिरा राई।
धुव्र विक्रमको सबैभन्दा ठूलो खुवी भनेको खेलाडी देखिसकेपछि कुन व्यक्ति केमा उचित हुन्छ। त्यो राम्रोसँग चिन्छन्।
शान्ति सम्झौतापश्चात जनमुक्ति सेनालाई सात वटा डिभिजनमा राखिएको थियो। सेना दिवसका अवसरमा धुव्रविक्रमले हात्तीखोर चितवनमा जाने अवसर पाएका थिए। त्यही अवसरमा उनले विभिन्न खुवी भएका खेलाडीहरू देखेका थिए।
धुव्रको प्रस्ताव अनुसार यस्ता खेलाडीको प्रतिभालाई उजागर गर्न पिएलए ग्रुप क्लव बनाउन उनले राखेको प्रस्ताव स्वीकार भयो।
त्यसपछि यस्तै खेलाडीलाइ उत्प्रेरणा दिने अभियानका क्रममा धुव्र सिन्धुली २ नम्बर डिभिजनमा पुगे। त्यहाँ उनले मिरालाई नथाक्ने युवतीका रुपमा चिनिसकेका रहेछन्। भलिवल पनि राम्रो खेल्ने, कराँतेमा उस्तै अब्बल, दौडदा नथाक्ने, फुटबल पनि खेल्ने, जे र जुनसुकै पनि खेल्ने गर्थिन्।
जति खेलाए पनि नथाक्ने उनको यो प्रतिभा देखेर अचम्मीत थिए। त्यसपछि मलेसिया जान तयारी गरेकी मिरालाई धुव्रले काठमाडौं बोलाए। मिराको प्रतिभालाई देखे पछि नथाक्ने व्यक्ति अल्ट्राम्याराथनको लागि हो भनेर सम्झिए। राईको प्रतिभा झन खारिएर गयो। उनले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई अब्बल साबित गराएरै छोडिन्।
त्यसपछि एकपछि अर्को विश्व रेर्कड तोड्ने अल्ट्रा म्याराथन मिरा राईको जन्म भयो। धुव्र विक्रमकै होस्टेलमा ७ वर्षदेखि बसिरहेकी मिरा भन्छिन्, ‘धुव्र गुरू मेरो गड फादर हो,’ खिस्स हाँस्दै उनले भनिन्,‘उहाँ नभएको भए म मलेसियामा मजदुरी गरिरहेको हुन्थ्येँ।’
धुव्रले डिभिजन २ बाट मिरा र चौथो डिभिजनबाट राममाया थापालाई काठमाडौंको दौड प्रतियोगितामा सहभागि गराएका थिए।
धुव्रले मिरासँगै धेरै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडीहरू जन्माएका छन्। जुम्लाकी सुनमाया बुढा पनि धुव्रकै होस्टेलमा बस्छिन्। सुनमायाका गुरू अल्ट्रा म्याराथन हरि बहादुर रोक्का हुन्। तर, अहिले मिरा राईले हेरिरहेकी छिन्।
सुनमाया पनि विश्व रेकर्ड ब्रेकर हुन्। केटा र केटीको ५४ किलोमिटर अल्ट्रा म्याराथनमा १८ देशको ९८ जना खेलाडी मध्ये केटाको विधामा बेलायतका खेलाडी प्रथम भएका थिए । ती प्रथम भएका खेलाडीलाई २ मिनेट ३० सेकेण्डले पछि पारेर सुनमायाले विश्व कीर्तिमान कायम गरेर स्वर्ण पदक जितेकी थिइन्।
अहिले यही होस्टेलमा ११ जना अन्तर्राष्ट्रिय खेलाडी र रेकर्ड ब्रेकर बस्छन्।
‘अहिले कोही साफ गेमको तयारीमा क्याम्पमा छन् भने कोही ओलम्पिक गेमको तयारीमा छन्। त्यसैले त हाम्रो होस्टेल सुनसाम छ । नत्र धेरै रमाइलो हुन्छ’, धुव्रले भने।
ध्रुवको बालाजु एकेडेमी डो नेपालका उत्पादक अनुपमा मगर, एस्टर राई, नबिन रसाइली,राजिव पुडासैनी,विजय श्रेष्ठ,अनु अधिकारी (साफ गेमको तयारी) छन्।
धुव्रले राम्रा खेलाडीलाई बिहान, बेलुका निःशुल्क तालिम रनास्ता दिने गर्छन्।
अर्को सामाजिक कार्यको पाटो आमाबुवा नभएका विभिन्न दुर्गम जिल्लाहरुबाट आएका बालबालिकाहरुलाई ध्रुब अध्यक्ष रहेको संस्था जनउद्धार सेवा समिति मार्फत १२ कक्षासम्म निःशुल्क शिक्षा र खान बस्ने व्यवस्थासमेत मिलाएका छन्। हाल संस्थामा २७ जना छन्।
यति धेरै खर्च कहाँबाट व्यवस्था गर्नुहुन्छ? हाम्रो प्रश्नमा धुव्र भन्छन्, ‘डोजाङको आजीवन सदस्य ९० जना छन्। उनीहरुले दिन्छन् र देश, विदेशबाट पनि यसका लागि सहयोग उठ्ने गरेको छ’, उनले छोटो जवाफ दिए।
सन् २०२० मा जापानमा हुने ओलम्पिकका लागि नेपालबाट अहिलेसम्म ४ जना खेलाडी छनोट प्रक्रियामा पुगेको धुव्रले बताए।
ओलम्पिकमा विश्वका २०० भन्दा बढी देशले सहभागी जनाउँछन्। यसको छनोट प्रकियामा नेपालबाट पनि पर्ने प्रवल सम्भावना छ। ती चार जना खेलाडीलाई आफैंले त्यहाँसम्म पुर्याएको र अहिलेसम्म सरकारी स्तरबाट एक रूपैया पनि खर्च नगरेको धुव्रले दाबी गरे।
धुव्र खेलाडी उत्पादन गर्ने मात्र होइन। उनीहरूलाई व्यवस्थापन गर्ने, उनीहरूको कला बुझ्ने क्षमता पनि निकै राम्रो छ।
उनले तीन विधामा अन्तर्राष्ट्रिय लाइसेन्ससमेत पाएका छन्। कुनै पनि तीन विधामा लाइसेन्स भएको नेपालको पहिलो कोच धुव्र विक्रम मल्ल मात्र हुन्।
एशियन कराँते महासंघले ४५ देश हेर्छ। जसमा रेफ्री र कोचको कोटामा विभिन्न देशबाट छनोट गर्छ। कराँतेको काता देखाउने विधा र फाइट विधामा धुव्रले रेफ्रि र काताको जजमा लाइसेन्स प्राप्त गरिसकेका छन्।
एग्रीकेसन कोच अर्थात विश्व कराँते महासंघको नियम अनुसार योग्य कोचको लाइसेन्स प्राप्त गरेका छन्।
देश, समाज र खेलाडीका बारेमा सोच्दा सोच्दै व्यक्तिगत जीवनका बारेमा सोच्ने फुर्सदै भएनन्। विवाह गर्ने विषयमा केही नसोचेका उनले अब यसको बारेमा सोच्नुपर्ने भएको बताए।
‘आफ्नो लागि यो गरौ, त्यो नगरौ भन्ने कहिल्यैं आएन। तर, समय आइसक्यो अब विवाह गर्ने बारेमा सिरियस नै छु’, उनले बिएल नेपालीसँग विदा माग्दै भने।
हेर्नुहोस् भिडियो स्टोरी