कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

फाइल तस्बिर

दुई महिनाअघि जर्मनी पत्रकार जेम्स थरोगुडले सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबल प्रतियोगिताको तयारीलाई लिएर एउटा गोप्य अनुसन्धान गरे। उनको अनुसन्धान जर्मन टेलिभिजन ‘डब्ल्युडिआर’ ले सार्वजनिक गरेपछि खैलाबैला मच्चियो। 

नेपाली कामदारको विषयलाई लिएर तयार पारिएको थरोगुडको डकुमेन्ट्रीपछि फिफाले पहिलो पल्ट सार्वजनिक रूपमा स्विकार गर्नुपर्यो। विश्व कप तयारीका लागि कतारमा निर्माणाधीन रंगशाला बनाउने क्रममा नेपाली कामदारलाई चरम यातना दिइएको छ।

हुनत नेपाली पत्रपत्रिका, केही नेता तथा दल विषेशहरूले कतारमा नेपाली कामदारले भोगेको पीडाको विषयमा यसअघि नै अन्तर्राष्ट्रियस्तरमा मुद्धा नउठाएका होइनन्। तर, आफ्नो कुरामा अडान राख्न नसक्ने सरकार र वैदेशीक रोजगारीमा जाने नेपाली कामदारको विषयमा ढुलमुले नीतिका कारण अन्तर्राष्ट्रियस्तरमा यसको खासै प्रभाव परेको थिएन।

यसमा पनि नेपाली फुटबलको जिम्मेवार निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मौनताका कारण कतार सरकारले निर्धक्क काम गर्दै आइरहेको थियो।

तर, थरोगुडको रिपोर्टले विश्वभरी फुटबलको गतिविधि सञ्चालन गर्ने अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मै हलचल ल्याएको छ। र, उसले १२ जुनमा विज्ञप्ती सार्वजनिक गर्दै रंगशाला निर्माण गर्ने ठेकेदार कम्पनीको रुपमा काम गरिरहेको ‘टावासल’ लाई प्रतिबन्ध लगाउन उर्दी जारी गर्यो।

जर्मनी पत्रकारसँगको अन्तर्वार्तामा नेपाली कामदार दिल प्रसादले आफूहरूलाई कैदी बनाएर राखेको। अनुबन्ध अनुसारको पैसा बेलामा उपलब्ध नगराएको जस्ता थुप्रै कुरा बताएका थिए।

नेपाली कामदारको विषयमा थरोगुडले गरेको नयाँ खुलासापछि हाल कतारमा कुनै पनि देशका पत्रकारलाई अनुमति बिना लेबर क्याम्पमा प्रवेश गर्न रोक लगाइएको छ।

पत्रकारका लागि फोटो खिच्न, भिडियो बनाउन, अन्तर्वार्ता लिन र रंगशाला बनिरहेको साइटमा जान अघोषित प्रतिबन्ध लगाइएको छ।

साथीभाई र परिवारको नाताले कामदार नेपाली दाजुभाईलाई भेट्न गएपनि ठूलो खाले क्यामेरा बोक्न मनाही छ।

कतारमा रहेको नेपाली दुतावासको तथ्यांक अनुसार २०१०–२०१८ सम्म ८ वर्षको भित्र १४ सय ४ जनाले ज्यान गुमाइसकेका छन्। नेपालीहरूको निधन विभिन्न ७ वटा घटनाले हुने गरेको दुतावासको तथ्यांकमा उल्लेख छ।

‘स्वास्थ्यसँग सरोकार राख्ने ब्रेन हेमरेज, किड्नी र अन्य अंगले काम गर्दा ज्यान गुमाउने नेपाली कामदारदेखि हत्या, श्वास प्रश्वास, बाटो दुर्घटना, आत्महत्या र कामको सिलसिलामा मर्ने समेत छन्,’ दोहास्थित नेपाली दुतावासका एक कर्मचारी बताउँछन्।

१० वर्षयता कतारमा सबैभन्दा बढी सन् २०१३ मा नेपाली कामदारले ज्यान गुमाएका थिए। त्यति बेला १ सय ९७ जनाको निधन भएको थियो।

एक दशकयता कामको सिलसिलामा मर्नेको संख्या १ सय ४४ मात्र बताइएको छ। तर, कतारमा कार्यरत नेपालीहरू सरकारको त्यो तथ्यांकमा दम नभएको बताउँछन्।

‘अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुने कारण कतारले कामको सिलसिलामा ज्यान गुमाएका नेपालीहरूलाई ‘नेचुरल डेथ’ को पगरी थुताउने गरेको छ। फेशन नै भइसक्यो,’ विगत डेढ दशकदेखि कतारमा बसोबास गर्दै आइरहेका एक नेपाली कामदार भन्छन्।

कतार सरकारले नेपाली कामदारको मुद्धाको विषयलाई लिएर बढी नै चियोचर्चा गर्ने गरेको छ। यसै कारण यहाँ कार्यरत नेपालीहरू कतार सरकारसँग जोडिएको विषयलाई लिएर हत्तपत्त प्रतिकृया दिन हिचकिचाउँछन्।

विगत एक दशकदेखि कतारमा कार्यरत श्रीकृष्ण भट्टराई ठेकेदार कम्पनीको लापरवाहीले कामको दौरान नेपालीहरूको ज्यान जाने गरेको प्रष्ट पार्छन्।

‘अन्तर्राष्ट्रिय दबाब बढेपछि पछिल्लो समय कतार सरकारले सुरक्षाको विशेष ‘गाइड लाइन’ तयार पारेको छ। ठूला ठेकेदार कम्पनीले ठेक्का रद्द हुने जोखिमका कारण सुरक्षा उपकरणमा विशेष ध्यान दिन्छन्,’ भट्टराई भन्छन्, ‘तर मझ्यौंला र साना ठेकेदार कम्पनीले सुरक्षा नअपनाई पेल्ने किसिमले जबरदस्ती काम लगाउँदा दुर्घटना हुने गरेको छ।’

कतारमा हाल ४ लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन्। दुतावासको तथ्यांक अनुसार कतारमा नेपालको संख्या ३ लाख ६५ हजार छ। तर, ‘भिजिट भिषा’ देखि अन्य रुटबाट आउने नेपालीका कारण कतारमा नेपाली कामदारको संख्या बढ्दो छ।

हाल कतारमा भारतीयपछि नेपालीको संख्या बढी मानिन्छ।

हेर्नुहोस् खाडीमा बिएल शृंखलाहरू

खाडीमा बिएल-५-कतारीलाई नेपाली कामदारको सौगात, चालकरहित मेट्रो उपहार (भिडियोसहित)

खाडीमा बिएल-४ किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

खाडीमा बिएल–३: कतारमा ‘ट्याक्सी’ चलाउने पहिलो नेपाली महिला मीना थापा क्षेत्री

खाडीमा बिएल–२: कतारमा सरकारी जागिर खाने पहिलो नेपाली यासिन मामा (भिडियोसहित)

खाडीमा बिएल–१: नाकाबन्दीले आत्मनिर्भर बनेको कतार (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-29 07:25:36

प्रतिकृया दिनुहोस्