इंग्ल्यान्डले विश्व कपअन्तर्गत शनिवार सम्पन्न खेलमा बंगलादेशलाइृ १ सय ६ रनले पराजित गरेको छ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले बंगाली टोलीविरूद्ध ३ सय ८६ को विशाल योगफल तयार पारेको थियो। जेसन रोयको १ सय ५३ रनको उत्कृष्ट इनिङका कारण विशाल योगफल बनाएको इंग्ल्यान्डविरूद्ध बंगलादेश कुनै पनि बेला मजबुत देखिएन।
अलराउन्डर सकिब अल हसनले १ सय २१ रन बनाएर दोस्रो इनिङमा जितको केही आशा जगाए। तर, इंग्लिस बलरसामु घुँडा टेकेको बंगलादेश ४८ दशमलव ५ ओभरमा २ सय ८० रन बनाउँदै अल–आउट भयो। सकिबले तेस्रो विकेटका लागि मुस्फिकुर रहिमसँग मिलेर १ सय ६ रनको साझेदारी गरेका थिए। रहिमले ४४ रन बनाए।
इंग्ल्यान्डका लागि बेन स्टोक र जेफ्रा आर्चरले ३–३ विकेट लिए। इंग्ल्यान्डको पछिल्लो तीन खेलमा यो दोस्रो जित हो।
इंग्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान रोय र जानी बेयरस्टोले १ सय २१ रनको साझेदारी गरेका थिए। बेयरस्टोले ५१ रन बनाए।
जोस बटलरले पनि ४४ बलमा ६४ रन बनाए। उनले कप्तान इयोन मोर्गनसँग मिलेर चौथो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए। मोर्गनले ३३ बलमा ३५ रन बनाए।
इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा ७ पल्ट ३ सय भन्दा बढी रन बनाएको हो। खेलको म्यान अफ दि म्याच रोयलाई प्रदान गरिएको थियो।