वार्नर र कुमिन्सले जिताए अस्ट्रेलियालाई, आमिरको ५ विकेट खेर

तस्वीरः एजेन्सी

डेभिड वार्नरको सतकीय इनिङ र पेट कुमिन्सको उत्कृष्ट बलिङको सहयोगले पाकिस्तानलाई ४१ रनले पराजित गर्दै विश्व विजेता अस्ट्रेलिया विश्व कपको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। 

टस हारेर चौथो खेल खेल्न क्रिजमा उत्रिएको कङ्गारु टोलीका लागि कप्तान एरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिएका थिए। उनीहरूले पहिलो विकेटका लागि १ सय ४६ रनको साझेदारी गरेका थिए।

अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३ सय ७ रन बनाएको थियो। प्रत्युत्तरमा पाकिस्तान ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रनमा खुम्चियो।

पाकिस्तानको फिल्डिङ सुरुवातदेखि नै खराब देखियो। पाकिस्तानी फिल्डरले वार्नर र फिन्च दुवैलाई जीवनदान दिएका थिए।

फिन्च ८२ रनमा आउट भएपछि वार्नरले यस विश्व कपमा आफ्नो पहिलो सतक पुरा गरे। उनले ११ चौका र १ छक्काको सहयोगले १ सय ७ रन बनाए।

वार्नरको पाकिस्तानविरूद्ध यो लगातार तेस्रो सतक थियो। एकदिवसीयमा उनको यो १५ औं सतक पनि हो। यी दुई बाहेक अस्ट्रेलियाका अन्य ब्याट्सम्यान पाकिस्तानी बलरको अगाडि दबाबमा देखिए।

‘स्पट फिक्सिङ’ मा पाँच वर्ष प्रतिबन्ध झेलेर टिममा फर्किएका मोहम्मद आमिरले बुधबार घातक बलिङ गरे। उनले ३० रन खर्चेर ५ विकेट लिए। एकदिवसीयमा उनको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो।

पाकिस्तानको ब्याटिङ सुरुवातदेखि नै राम्रो हुन सकेन्। कुमिन्सको ‘सट पिच’ बलमा असहज महसुस गरेको पाकिस्तानले २ रनमै फकर जमान (०) को विकेट गुमाएको थियो।

प्रारम्भिक ब्याट्सम्यान इमाम–उल–हक (५३), मोहम्मद हाफिज (४६) र कप्तान सरफराज अहमद (४०ं) ले बीचमा केही राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए। तर, यी सबै ब्याट्सम्यानबीच लामो साझेदारी हुन सकेन।

पुछारमा कप्तान अहमदले हसन अली र वाहव रियाजसँग बेग्ला–बेग्लै साझेदारी गरेर खेललाई तान्ने प्रयास गरेका थिए। अहमदले सातौं विकेटका लागि हसनसँग मिलेर ४० रनको साझेदारी गरेका थिए। हसनले ३ वटा छक्का प्रहार गर्दै १५ बलमा ३२ रन बनाएका थिए।

उनी आउट भएपछि क्रिजमा प्रवेश गरेका वहावसँग मिलेर कप्तान अहमदले आठौं विकेटका लागि पुनः ६४ रनको साझेदारी गरेका थिए। वहाजले पनि ३९ बलमा ३ छक्काको मद्धतले ४५ रन बनाएका थिए।

यी दुवैसँगको साझेदारी टुँटेपछि कप्तान अहमद एक्लै परेका थिए। उनी म्याक्सवेलको सिधा थ्रोमा अन्तिम विकेटको रुपमा रन आउट भए।
खेलको म्यान अफ दि म्याच डेभिड वार्नर घोषित भए।

 

प्रकाशित मिति: : 2019-06-12 23:32:35

प्रतिकृया दिनुहोस्