मिशेल स्टार्कको बलिङका अगाडि घुँडा टेकेको श्रीलंका विश्व कपको पाँचौ खेलमा अस्ट्रेलियासँग ८७ रनले पराजित भएको छ।
विश्व च्याम्पियन अस्ट्रेलिया यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अस्ट्रेलियाको यो समेत पाँच खेलमा चौथो जित हो। कङ्गारुले तालिकामा ८ अंक जोडेको छ।
श्रीलंकाको यो विश्व कपमा दोस्रो पराजय हो। ऊ ४ अंकका साथ पाँचौ स्थानमा छ।
कप्तान एरोन फिन्चको शतकीय इनिङमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको थियो। फिन्चले १५ चौका र ५ छक्काको सहयोगले १ सय ३२ बलमा १ सय ५३ रन बनाए। यो विश्व कपमा कुनै पनि टिमको कप्तानले बनाएको पहिलो सतक थियो।
उनी एकदिवसीय क्रिकेटमा इंग्लिस क्रिजमा उच्च स्कोर बनाउने ब्याट्सम्यान पनि बनेका छन्। यसअघि शेन वाट्सनले इंग्ल्यान्डविरूद्ध सन् २०१३ मा साउथहाम्पटनमा १ सय ४३ रन बनाएका थिए।
फिन्चको एकदिवसीयमा १४ औं सतक थियो। उनले विश्व कपमा दोस्रो सतक पुरा गरेका हुन्।
फिन्चले पूर्व कप्तान स्टिभ स्मिथसँग मिलेर तेस्रो विकेटका लागि १ सय ७३ रनको साझेदारी गरेका थिए। स्मिथ ७३ रन बनाएर पवेलियन फर्किए। फिन्चले पहिलो विकेटका लागि डेभिड वार्नरसँग पनि मिलेर ८० रनको साझेदारी गरेका थिए। वार्नरले २६ रन बनाए।
अस्ट्रेलियाका लागि ग्लेन मेक्सवेलले अविजित ४६ रन बनाए। उनले नुवान प्रदीपको एकै ओभरमा २२ रन बटुलेका थिए।
अस्ट्रेलियाका तुलनामा श्रीलंकाले गजबको सुरुवात गरेको थियो। कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले १५ ओभरभित्र पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्ने क्रममा कङ्गारु टोलीलाई दबाबमा राखेका थिए।
पहिलो पावरप्लेमा खासै प्रभाव जमाउन नसकेका मिशेल स्टार्कले त्यसपछि पुनः खेलमा फर्किदै श्रीलंकाका ४ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाए। बाँकी काम पेट कुमिन्स र केन रिचर्डसनले गरे। कुमिन्सले २ र रिचर्डसनले ३ विकेट लिए।
कप्तान करुणारत्ने ९७ रनमा आउट हुनु नै श्रीलंकाका लागि घातक सावित भयो। उनी सतकबाट ३ रनले चुके। उनलाई रिचर्डसनले मेक्सवेलको हातबाट क्याच गराए।
परेराले ५२ रन बनाए। यी दुईले पहिलो पावरप्लेमा ८७ रन बनाएका थिए। बीचमा कुशल मेन्डिसले ३० रन बनाए। श्रीलंका ४५ दशमलव ५ ओभरमा २ सय ४७ रन बनाउदै अलआउट भएको थियो। श्रीलंकाले ३२ ओभरमा ३ विकेट गुमाएर १ सय ८६ रन बनाइसकेको थियो। तर, १३ ओभरभित्र ६१ रन जोड्ने क्रममा श्रीलंकाले थप ७ विकेट गुमाएपछि खेल अस्ट्रेलियाले जित्यो।
म्यान अफ दि म्याच कप्तान फिन्चलाई घोषित गरियो।