अस्ट्रेलियाविरूद्ध पराजित खेलमा श्रीलंकाका खेलाडी ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा सहभागी नै भएनन्। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले श्रीलंकाको यो व्यवहारका लागि प्रतिबन्ध लगाउने सम्भावना बढेर गएको छ।
आइसिसीको नियमअनुसार खेल सकिएपछि दुवै टिमका कप्तान पत्रकार सम्मेलनमा अनिवार्य उपस्थित हुनुपर्ने छ। तर, शनिवार अस्ट्रेलियासँग पराजय भोगेपछि श्रीलंकाली कप्तान दिमुथ करुणारत्ने मात्र होइन, टिमका अन्य खेलाडी पनि पत्रकार सम्मेलनमा उपस्थित भएनन्।
आइसिसीका प्रवक्ताले पत्रकार सम्मेलनमा श्रीलंकाको प्रतिनिधि उपस्थित नहुने जानकारी आफूहरूले पहिले नै पाइसकेको बताएका छन्। उनले श्रीलंकाली टिमले उनीहरूलाई पत्रकारसँग कुरा गर्न मन नलागेको अगाडि नै जानकारी दिएको बताएका थिए।
श्रीलंकाली टिम आइसिसीको व्यवहारदेखि त्यति खुसी छैन। एक दिनअगाडि नै टिम व्यवस्थापक असन्था डे मेलले आइसिसीलाई पत्र पठाउँदै आफ्नो टिममाथि सौतेनी व्यवहार भएको बताएका थिए।
उनले नेट्सका लागि उपलब्ध गराएको मैदानमा ट्रेनिङको उचित व्यवस्था नभएको आरोप लगाएका थिए। यस्तै, टिमलाई होटलबाट ल्याउने र लैजाने बसको स्तर खराब भएको पनि आरोप लगाइएको थियो।
मैदानमा ३ वटा नेट्स हुनुपर्नेमा दुई वटा मात्र उपलब्ध गराइएको र स्विमिङ पुल नै नभएको होटलमा राखिएकोमा असन्थाले असन्तोष व्यक्त गरेका थिए।