१५ वर्षपछि बंगलादेश र वेष्ट इन्डिज इंग्लिस पीचमा क्रिकेट खेल्दैछन्। सोमबार नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा टाउन्टन मैदानमा उत्रिँदा दुवै टोलीको ध्यान सेमिफाइनलको आफ्नो यात्रालाई यथावत राख्नु हुनेछ।
सन् २००४ यता दुवै टोली पहिलो पल्ट इंग्लिस मैदानमा खेल्दैछन्। त्यतिबेला वेष्ट इन्डिज १ सय ३८ रनले विजयी भएको थियो। विश्व कपमा भने यी टोली ८ वर्षपछि भिड्न लागेका हुन्।
अन्तिम पल्ट सन् २०११ को विश्व कपमा दुवैको भेट भएको थियो। त्यतिबेला पनि वेष्ट इन्डिज ९ विकेटले विजयी भएको थियो।
बंगलादेशको यस विश्व कपमा यो पाँचौ खेल हो। बंगाली टाइगर तीनमध्ये दुई खेल न्युजिल्यान्ड र इंग्ल्यान्डविरूद्ध पराजित भइसकेको छ। दक्षिण अफ्रिकाविरूद्ध भने उसले उत्कृष्ट जित हात पारेको थियो। श्रीलंकासँगको खेल भने वर्षाले बाधा पुर्याएको थियो।
४ खेलमा बंगलादेशको ३ अंक छ। यस्तै, वेष्ट इन्डिजको पनि यो पाँचौ खेल हो। उसको पनि ४ खेलबाट ३ अंक नै छ।
वेष्ट इन्डिज र बंगलादेशले हालसम्म ३७ एकदिवसीय खेलेका छन्। जसमा वेष्ट इन्डिज २१ र बंगलादेश १४ खेलमा विजयी भएको छ। विश्व कपमा भने यी टोलीबीच यो पाँचौ भिड्न्त हो। यसअघि वेष्ट इन्डिज ३ मा विजयी भएको छ। एउटा खेलको नतिजा निस्किएको थिएन।
बंगलादेश यसपालि पुरानो नतिजालाई बिर्सन चाहन्छ। ऊ वेष्ट इन्डिजलाई पराजित गर्दै सेमिफाइनल यात्रालाई जीवित राख्न चाहन्छ। तर, यसका लागि बंगलादेशले वेष्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान क्रिस गेललाई रोक्नु पर्ने हुन्छ। गेलले पाकिस्तानविरूद्ध ५०, अस्ट्रेलियाविरूद्ध २१ र इंग्ल्यान्डविरूद्ध ३६ रन बनाएका थिए।
यस्तै अर्का ब्याट्सम्यान निकोलस पुरनले ३ खेलमा ६८ दशमलव ५० को औसतले १ सय ३७ रन बनाएका छन्। उनले इंग्ल्यान्डविरूद्ध ६३, अस्ट्रेलियाविरूद्ध ४० र पाकिस्तानविरूद्ध ३४ रन बनाएका थिए।
वेष्ट इन्डिजको अहिले सबैभन्दा कमजोरी कार्लोस ब्रेथवेट फर्ममा नहुनु हो। सन् २०१६ को टि–२० फाइनलमा जित दिलाएका ब्रेथवेटले अहिलेसम्म १५ को औसतले ३० रन मात्र बनाएका छन्। उनी फर्ममा फर्किए बंगलादेशका लागि टाउको दुखाई बन्ने पक्का छ।
आजको खेलमा अलराउन्डर शाकिब–अल हसनबाट बंगलादेशले फेरि उत्कृष्ट ब्याटिङको अपेक्षा राखेको छ। उनकै प्रदर्शनको आधारमा बंगाली टोली बलियो देखिएको छ। उनले ३ खेलमा ८६ दशमलव ६७ को औसतले २ सय ६० रन बनाएका छन्।
बलिङमा मोहम्मद सेफुद्धिनबाट बंगलादेशले ठूलो आशा राखेको छ। उनले ३ खेलमा ६ विकेट लिएका छन्। अहिले तमिम इकबाल फर्ममा छैनन्। उनी ३ खेलमा मात्र ५९ रन बनाउन सफल भएका छन्। उनी लयमा फर्किए वेष्ट इन्डिजका लागि घातक बन्न सक्छन्।