सेमिफाइनल प्रवेशको तयारीमा रहेको इंग्ल्यान्ड घाइते अफगानिस्तानसँग भिड्दै

तस्बिरः एजेन्सी

विश्व कपमा एउटा पनि खेल नजितेको अफगानिस्तान मंगलबार आयोजक इंग्ल्यान्डविरूद्ध म्यानचेस्टरको ओल्ड ट्राफोडमा उत्रिँदैछ।

अफगानिस्तानले अहिलेसम्म खेलेको ४ खेलमा एउटा पनि जित निकाल्न सकेको छैन्। इंग्ल्यान्ड भने ४ मध्ये ३ मा विजयी हुँदै सेमिफाइनल नजिक छ।

आजको खेलमा इंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जेसन रोय खुट्टाको नशा खुम्चिएका कारण अनुपस्थित रहनेछन्।

यस्तै, कप्तान इयोन मोर्गन पनि फिटनेशबाट जुधिरहेका छन्। रोयको स्थानमा जेम्स भिन्से इंग्लिस टिममा समावेश हुने सम्भावना बलियो छ।

आज मोइन अली खेल्ने सम्भावना पनि उत्तिकै बलियो छ। उनी ब्याटिङ पनि राम्रो गर्छन र स्पिनको विकल्पको रुपमा पनि टिममा रहने सम्भावना छ। कप्तान मोर्गन फिटनेशबाट जुधिरहेको र लियाम प्लुन्केटको स्वास्थ्य राम्रो नभएका कारण यी दुईमध्ये एक जनाको स्थानमा मोइनको खेल्न सम्भावना रहेको छ।

अफगानी टोली आक्रामक मानिएपनि यस विश्व कपमा उसले त्यो लय समात्न सकेको छैन। इंग्ल्यान्डको कमजोरी स्पिनर मानिन्छन्। त्यसैले आज राशिद खान, मोहम्मद नबी र मुजीब उर रहमान जस्ता स्पिनरले इंग्ल्यान्डलाई संकटमा पार्न सक्छन्।

अफगानिस्तानको ब्याटिङ इंग्ल्यान्डको बलिङ अगाडि टिक्न सक्छ कि सक्दैन? यसले नै खेलको निर्धारण गर्नेछ।

इंग्लिस बलर जोफ्रा आर्चर यतिबेला उत्कृष्ट फर्ममा छन्। त्यसैले आजको खेलमा नुर अली जादरान, हसमतुल्लाह शाहिदी, हजरतुल्लाह जाजई माथि ठूलो जिम्मेवारी रहनेछ।

अफगानिस्तान र इंग्ल्यान्ड विश्व कपमा एक पल्ट मात्र भिडेका छन्। जसमा इंग्ल्यान्ड विजयी भएको छ। गत विश्व कपमा इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित गरेको थियो।

 

प्रकाशित मिति: : 2019-06-18 12:46:13

प्रतिकृया दिनुहोस्