ब्याट्सम्यान हावी भएको खेलमा अस्ट्रेलियाद्धारा बंगलादेश ४८ रनले पराजित

Agency

बंगलादेशलाई छैटौं खेलमा ४८ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया विश्व कपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

अस्ट्रेलियाले ५ खेल जितेर १० अंक बटुलेको छ। पराजयसँगै बंगलादेश ६ खेलमा ५ अंकका साथ पाँचौ स्थानमा यथावत छ। बंगलादेशको यो समेत तेस्रो पराजय हो।

विहिबार नटिङघममा भएको खेलमा दुबै तर्फ ब्याट्सम्यान हावी भए। टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको कङ्गारु टोलीले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरको १ सय ६६ रनको सहयोगले ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनाएको थियो।

प्रत्युत्तरमा मुसफिकुर रहिमको विश्व कपमा पहिलो सतकीय इनिङमा बंगलादेशले ७ विकेटको क्षतिमा ३ सय ३३ रन फर्कायो।

२३ रनको स्थितिमै पहिलो विकेट गुमाएको बंगलादेशका लागि तमिम इकबाल र सकिब अल हसनले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। तमिम यो विश्व कपमा पहिलो पल्ट अर्धसतक पुरा नगर्दै आउट भए। उनले अघिल्लो खेलहरूमा दुई सतक र अन्य खेलमा अर्धसतक पुरा गरेका थिए।

आज उनी ४१ रनमा स्टोइनिसको बलिङको शिकार भए। उनी आउट भएपछि बंगलादेश सस्तो योगफलमा खुम्चिने विश्वास गरिएको थियो। तर, मुसफिकुरले चौथो नम्बरमा आएर ९ चौका र १ छक्काको सहयोगले ९७ बलमा अविजित १ सय २ रन बनाएपछि बंगलादेशले तीन सय रनको योगफल कटाएको थियो।

यसअघि प्रारम्भिक ब्याट्सम्यान तमिम इकबालले ६२ रन बनाएका थिए। तल्लो क्रममा महमदुल्लाले ३ छक्काको सहयोगले ५० बलमा ६९ रन बनाए। वेष्ट इन्डिजविरूद्ध बिस्फोटक ९० रन बनाएका लिटोन दास २० रनमा जुम्बाको बलमा एलबिडब्लुको धरापमा पर्नुपनि बंगलादेशका लागि दुर्भाग्य बन्यो।

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि वार्नरले जारी विश्व कपमा दोस्रो सतक पुरा गरे। उनले ५ छक्का र १४ चौका प्रहार गरेका थिए। कप्तान एरोन फिन्चले ५३ रन बनाए।

फर्म बाहिर रहेका उस्मान ख्वाजाले पनि आज अर्धसतक पुरा गरे। उनी सतकबाट ११ रनले चुके। उनले ७२ बलमा ८९ रन बनाए। ग्लेन मेक्सवेलले १० बलमा ३ छक्काको सहयोगले ३२ रन बनाएपछि अस्ट्रेलियाको योगफल ३ सय ५० भन्दा माथि पुगेको थियो।

खेलको ‘म्यान अफ दि म्याच’ वार्नरलाई घोषित गरियो।

प्रकाशित मिति: : 2019-06-21 00:03:34

प्रतिकृया दिनुहोस्