पाकिस्तानसँग ३६ वर्षदेखि जितको खोजीमा न्युजिल्यान्ड, आज बर्मिङ्घममा भिड्दै

Agency

विश्व कपको सेमिफाइनल समिकरणलाई जीवित राख्न बुधबार पाकिस्तान बर्मिङ्घमको एजबेस्टन मैदानमा न्युजिल्यान्डसँग भिड्दै छ।

न्युजिल्यान्डले ३६ वर्षयता पाकिस्तानलाई इंग्लिस मैदानमा जित्न सकेको छैन। तर, उत्कृष्ट फर्ममा रहेको किवी टोलीका लागि आजको खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेशलाई पक्का गर्ने अवसर पनि छ।

दुवै टिम इंग्ल्यान्डमा ५ पल्ट भिडेका छन्। न्युजिल्यान्डले सन् १९८३ को विश्व कपयता पाकिस्तानलाई जितेको छैन।

पाकिस्तान हाल अंक तालिकाको सातौं स्थानमा छ। सेमिफाइनलमा प्रवेश पाउन पाकिस्तानलाई आजको खेल जसरी पनि जित्नु पर्ने बाध्यता छ। आजको पराजयले पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिने छ।

पाकिस्तानले ६ खेलमा ५ अंक मात्र जुटाएको छ। उसले ३ खेलमा पराजय र २ खेलमा जित दर्ता गराएको छ। एउटा खेल वर्षाका कारण रद्द भएको थियो।

न्युजिल्यान्ड जारी विश्व कपमा अपराजित छ। उसले एउटा पनि खेल हारेको छैन। किवीले ६ मध्ये ५ खेलमा जित निकालिसकेको छ। भारतविरूद्धको खेल वर्षाबाट प्रभावित भएको थियो। अंक तालिकामा न्युजिल्यान्डको ११ अंक छ।

पाकिस्तान र न्युजिल्यान्डबीच १ सय ६ एकदिवसीय भएको छ। यसमा पाकिस्तान ५४ र न्युजिल्यान्ड ४८ खेलमा जित निकाल्न सफल भएका छन्।

विश्व कपमा यी टोलीबीच ८ वटा भिड्न्त भएको छ। यसमा पाकिस्तान ६ मा विजयी र न्युजिल्यान्डले १ मा मात्र जित निकालेको छ।

बर्मिङ्घमको पीच बलरको लागि सहयोगी मानिन्छ। दुवै टिममा उत्कृष्ट तीब्र बलर रहेका कारण आजको खेल रोमाञ्चक हुने सम्भावना छ।

दक्षिण अफ्रिकाविरूद्ध ८९ रन बनाएका हेरिस सोहेलबाट पाकिस्तानले ब्याटिङमा थुप्रै आशा राखेको छ। उनकै उत्कृष्ट ब्याटिङका कारण पाकिस्तानले अफ्रिकाको विश्व कप यात्रालाई समाप्त पारेको थियो।

मोहम्मद आमिर जारी विश्व कपमा सर्वाधिक विकेट लिने तेस्रो बलर हुन्। उनले ५ खेलमा १५ विकेट लिइसकेका छन्।

न्युजिल्यान्ड यतिबेला सन्तुलित टिम देखिएको छ। उसको सबैभन्दा बलियो पक्ष भनेको कप्तान केन विलियम्सन हुन्। केनले अहिलेसम्म दुई सतक बनाइसकेका छन्। उनको कप्तानीमा किवीले एउटा पनि खेल हारेको छैन। उनले ४ इनिङमा १ सय ८६ दशमलव ५० को औसतले ३ सय ७३ रन बनाएका छन्।

यस्तै, बलिङतर्फ लोकी फर्गुसनले ५ खेलमा १४ विकेट लिएका छन्।

 

 

प्रकाशित मिति: : 2019-06-26 09:48:11

प्रतिकृया दिनुहोस्