बाबरको उत्कृष्ट सतक, न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानको विश्व कप यात्रा यथावत

Agency


युवा ब्याट्सम्यान बाबर आजमको उत्कृष्ट सतकको सहयोगले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले विश्व कपको सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई यथावत राखेको छ।

बुधबार बर्मिङ्घममा भएको खेलमा प्रतिकुल परिस्थितिमा बाबरले ११ चौकाको सहयोगले १ सय १ रन बनाएपछि पाकिस्तान ५ बल खेल्न बाँकी रहँदै विजयी भयो।

पाकिस्तानसँग पराजित भएको न्युजिल्यान्डको सेमिफाइनल प्रवेशको यात्रा लम्बिएको छ। आज पाकिस्तानलाई जितेको भए ‘ब्ल्याक क्याप्स’ सेमिफाइनल पुग्ने दोस्रो टोली बन्ने थियो। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

पाकिस्तान आज पराजित भएको प्रतियोगिताबाट बाहिरिने थियो। जितसँगै पाकिस्तान ७ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।

न्युजिल्यान्डले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। न्युजिल्यान्डको इनिङलाई ६ विकेटको क्षतिमा २ सय ३७ रनमा खुम्च्याउन युवा बलर साहिन आफ्रिदीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३ मेडन राख्दै २८ रन खर्चेर ३ विकेट लिएपछि न्युजिल्यान्डको ८३ रनको स्थितिमा ५ विकेट गुमिसकेको थियो।

मध्यक्रममा जेम्स निसमले कालिन ग्रान्डहोमसँग मिलेर छैटौं विकेटका लागि १ सय ३२ रनको साझेदारी नगरेको भए न्युजिल्यान्डलाई दुई सयको योगफल कटाउन पनि हम्मे पर्ने थियो।
निसमले अविजित रहँदै ९७ रन बनाए। ग्रान्डहोम ६४ रनमा आउट भए।

पाकिस्तानले विजयी लक्ष्य ४९ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४१ रन बनाएर पुरा गर्यो।

प्रारम्भिक ब्याट्सम्यान फकर जमान ९ रनमा आउट भएको स्थितिमा ब्याटिङ गर्न आएका बाबरले विश्व कपको पहिलो सतक पुरा गरे। उनले हारिश सोहेलसँग मिलेर चौथो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेका थिए। सोहेलले पनि ६८ रन बनाए।

अनुभवी ब्याट्सम्यान सोहेब मलिकलाई परिवर्तन गर्दै पुनः टिममा समावेश भएका सोहेलको यो लगातार दोस्रो अर्धसतक थियो। उनले २ छक्का र ५ चौका हिर्काएका थिए।
खेलको ‘म्यान अफ दि म्याच’ बाबर घोषित भए।

प्रकाशित मिति: : 2019-06-27 00:41:24

प्रतिकृया दिनुहोस्