विश्व कप क्रिकेटः इंग्ल्यान्डलाई जित्नै पर्ने दबाव, भारतलाई १ अंक भए पुग्ने

Agency

विश्व कपको अर्को रोमाञ्चक खेलमा आइतबार आयोजक इंग्ल्यान्ड दुई पल्टको च्याम्पियन भारतविरूद्ध मैदानमा उत्रिँदैछ। आजको खेल दुबै टोलीका लागि उत्तिकै महत्वपूर्ण छ। अझ, अंक तालिकाको कुरा गर्ने हो भने भारतको तुलनामा इंग्ल्यान्ड बढी दबावमा देखिन्छ।

विश्व कप सुरु हुँदा इंग्ल्यान्डलाई विजेताको सबैभन्दा ठूलो दावेदार मानिएको थियो। तर, उसले ७ खेलमध्ये ३ मा पराजय भोगेपछि अहिले निकै दबावमा छ। इंग्ल्यान्ड अंक तालिकामा ४ खेल जित्दै ८ अंकसहित पाँचौ स्थानमा छ।

भारत जारी विश्व कपमा एक मात्र अपराजित टोली हो। भारतले ६ खेलमध्ये ५ मा विजय निकालेको छ। न्युजिल्यान्डविरूद्धको खेल वर्षाबाट प्रभावित भएपछि भारत अंक बाड्न बाध्य भएको थियो।

भारत ११ अंक बटुलेर अंक तालिकाको दोस्रो स्थानमा छ। भारतले आज खेल बराबरीमा राखेको खण्डमा मात्र सेमिफाइनल पुग्ने छ। तर, इंग्ल्यान्डका लागि खेल जित्नै पर्ने दबाव छ। आजको खेलमा पराजय भोगेको खण्डमा इंग्ल्यान्ड प्रतियोगिताबाट लगभग बाहिरिने छ।

बर्मिङघमको एजबस्टनमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा टस जित्ने टोलीले पहिलो ब्याटिङ गर्ने सम्भावना बलियो छ। एजबस्टनको क्रिज ब्याट्सम्यान र स्पिनरका लागि उपयोगी मानिन्छ।

भारतीय कप्तान विराट कोहलीले शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भएको नाताले इंग्ल्यान्डको स्थिति मजबुत हुनुपर्नेमा दबावमा देखिएको भन्दै आफ्नो टोलीको स्थितिलाई स्पष्ट पारेका छन्।

‘यस प्रतियोगितामा सबै टिम बलियो छन्। कसैलाई पनि तपाईले कमजोर आँक्न सक्नु हुन्न्,’ विराटले भनेका छन्।

विराट कोहली जारी विश्व कपमा भारतीय टोलीको खम्बा हुन्। उनले ४ अर्धसतक हिकाइसकेका छन्। उनी विश्व कपको खेलहरूमा १ हजार रन पुरा गर्न ९७ रनले मात्र पछाडि छन्।

आजको खेलमा विराटसँगै पूर्व कप्तान महेन्द्रसिंह धोनी पनि इंग्लिस बलरको निसानामा हुनेछन्। धोनी जारी विश्व कपमा इंग्ल्यान्डविरूद्ध सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान हुन्। उनले १ सतकको सहयोगले १ हजार ५ सय ४ रन बनाएका छन्।

आजको खेलमा इंग्लिस बलरको नजरमा रोहित शर्मा पनि हुनेछन्। रोहितले विश्व कपमा २ सतक र १ अर्धसतकको सहयोगले ३ सय ३८ रन बनाएका छन्।
यस विश्व कपमा भारतको सबैभन्दा ठूलो कमजोरी चौथो नम्बरको ब्याट्सम्यान देखिएको छ।

शिखर धवन औलाको चोट लागेर विश्व कपबाट बाहिरिसकेको अवस्थामा केएल राहुल हाल रोहित शर्मासँगै प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा छन्। यसअघि राहुल चौथो नम्बरमा ब्याटिङ गर्थे।

उनको स्थानमा आएका विजय शंकरले खासै प्रदर्शन गर्न सकेका छैनन्। उनले ३ खेलमा ५८ रन मात्र बनाएका छन्। उनको स्थानमा आज दिनेश कात्र्तिक नभए ऋषभ पन्तलाई मैदानमा उतार्ने सम्भावना बलियो छ।

भारतीय बलिङ निकै सशक्त देखिन्छ। जसप्रीत बुमराहको अचुक योर्कर खेल्न विपक्षी ब्याट्सम्यान असफल रहँदै आएका छन्। टिमका मुख्य बलर भुवनेश्वर कुमार चोट ग्रस्त भएपछि मौका पाएका मोहम्मद सामीले अफगानिस्तानविरूद्ध पहिलो खेलमा ह्याट्रिक र वेष्ट इन्डिजविरूद्ध ४ विकेट लिएका थिए।

भारतीय टोलीमा सामी र भुवनेश्वरमध्ये कसलाई मौका दिने भन्ने कुरामा टिम व्यवस्थापन असमञ्जसको स्थितिमा छ।

विश्व कपमा इंग्ल्यान्डको ब्याटिङ सबैभन्दा सशक्त मानिएको थियो। तर, अस्ट्रेलियाविरूद्ध इंग्लिस ब्याट्सम्यानको खराब प्रदर्शनले भारत यतिबेला उत्साही देखिन्छ।
भारतीय बलरहरू अहिले इंग्लिस ब्याट्सम्यानको गल्तीबाट कसरी विकेट निकाल्ने त्यसमा केन्द्रित देखिन्छन्।

इंग्लिस कप्तान इयोन मोर्गन र जोए रुट जारी विश्व कपमा उत्कृष्ट लयमा देखिन्छ। मोर्गनले अफगानिस्तानविरूद्ध १७ छक्काको सहयोगले डेढ सयभन्दा बढी रन बनाएर आफ्नो योजना स्पष्ट पारिसकेका छन्। रुटले २ सतक र ३ अर्धसतकको सहयोगले ४ सय ३२ रन बनाइसकेका छन्। उनी भारतविरूद्ध उत्कृष्ट प्रदर्शन गर्ने इंग्लिस ब्याट्सम्यान पनि हुन्। उनले भारतविरूद्ध ३ वटा सतकको सहयोगले ६ सय ८४ रन बनाइसकेका छन्।

आज इंग्लिस टोलीमा जेसन रोयको फिर्ती हुँदैछ। ह्यामस्ट्रिङको समस्याले बाहिरिएका जेसनको अनुपस्थितिमा इंग्ल्यान्डले दबाव महसुस गरेको थियो। उनले चोटग्रस्त हुनुअघि ४ खेलमा २ सय १५ रन बनाएका थिए।

भारतविरूद्ध क्रिस वोक्सको प्रदर्शन पनि उत्कृष्ट मानिन्छ। उनले विगतमा १५ विकेट लिएका छन्।

जारी विश्व कपमा जेफ्रा आर्चरको बलिङले सबैलाई प्रभावित पारेका छ। उनले १६ विकेट लिएका छन्। अलराउन्डर बेन स्टोक पनि इंग्ल्यान्डको बलियो हतियार हुन्।
भारत र इंग्ल्यान्डबीच विगतमा ७ वटा विश्व कपको खेल भएको थियो। रोचक कुरा दुवै टोलीले ३–३ खेल जितेका थिए। सन् २०११ मा भारतले विश्व कप जित्दा दुवै टोलीले समान ३ सय ३८ रन बनाएपछि खेल बराबरीमा टुँगिएको थियो।

भारत आज नयाँ जर्सीमा उत्रिँदैछ। इंग्ल्यान्ड र भारतको जर्सीको रंग मिलेका कारण भारत निलो र सुन्तला रंगको जर्सीमा उत्रिँनेछ।

 

प्रकाशित मिति: : 2019-06-30 11:07:40

प्रतिकृया दिनुहोस्