रोमाञ्चक खेलमा वेष्ट इन्डिज २३ रनले पराजित, गेल चुके लाराको कीर्तिमान तोड्न

Times Of India

श्रीलंकाविरूद्ध रोमाञ्चक खेलमा वेष्ट इन्डिज २३ रनले पराजित भएको छ।

श्रीलंकाबाट पहिलो इनिङमा पाएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा क्यारेबियन टोलीले ९ विकेटको क्षतिमा ३ सय १५ रन मात्र बनायो।

८४ रनको स्थितिमा ४ विकेट गुमाइसकेको वेष्ट इन्डिजका लागि निकोलास पुनमले १ सय १८ रनको सतकीय इनिङ खेल्दै जिततर्फ टिमलाई डोर्याउने प्रयास गरेका थिए।

तर, उनी ४७ ओभरमा आउट भएपछि वेष्ट इन्डिजले जितको मौका गुमायो। उनले फाबियन एलनसँग मिलेर सातौं विकेटका लागि ८३ रनको साझेदारी गर्दै श्रीलंकाली बलरलाई केही समय दबावमा राखेका थिए। एलनले ५१ रन बनाए। उनी रनआउट भएपछि वेष्ट इन्डिजको दुर्भाग्य सुरु भएको थियो।

यसअघि कप्तान जेसन होल्डरले २६ रन बनाएका थिए। प्रारम्भिक ब्याट्सम्यान क्रिस गेल ३५ रनमा आउट भए। उनी आफ्ना अग्रज ब्रायन लाराको सर्वाधिक रन बनाउने वेष्ट इन्डिजको ब्याट्सम्यानको उपाधि आफ्नोमा सार्न असफल भए। उनलाई यो कीर्तिमान बनाउन ५४ रन आवश्यक थियो। उनी १९ रनले चुके।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले अविस्का फर्नान्डोको १ सय ४ रनको सतकीय इनिङका कारण ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो।

कुशल परेराले ६४, कप्तान डिमुथ करुणारत्नेले ३२, कुशल मेन्डिजले ३९, एन्जेलो म्याथ्युजले २६ र थिरामानेले अविजित ४५ रन बनाएका थिए। फर्नान्डोलाई ‘म्यान अफ दि म्याच’ घोषित गरियो।

श्रीलंकाका लागि लासिथ मालिङ्गाले सर्वाधिक ३ विकेट लिएका थिए। श्रीलंका ८ खेलमा ८ अंक बटुल्दै छैटौं स्थानमा उक्लिएको छ। वेष्ट इन्डिजको ८ खेलमा यो छैटौं पराजय थियो।

प्रकाशित मिति: : 2019-07-02 00:07:39

प्रतिकृया दिनुहोस्