दाङ उपनिर्वाचन: आज बेलुकाबाटै मतगणना गरिने

फाइल तस्बिर: बिएल

दाङमा उपनिर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ। बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारीरहने छ। मतदान सकिएलगत्तै आज बेलुकीबाटै मतगणना गरिने मुख्य निर्वाचनको कार्यालय जनाएको छ।

मतगणनाको लागि पनि सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा दलसँगको सहमतिमा दाङ देउखुरी जिल्ला अदालतको कार्यालयमा आज बेलुकाबाटै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। घोराही उपमहानगरपालिका–१६ को मतदान निर्वाचन कार्यालयको नजिक भएको हुदा पनि छिट्टै मतगणनाको लागि कुनै समस्या नभएको उनको भनाइ थियो।

“राजनीतिक दलका बीच दलीय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजबाटै सुरु हुन्छ”, उनले भने, “तत्काल गणना शुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजबाटै मतगणना शुरु गर्ने तयारीमा रहेका छौं।” घोराही उपमहानगरपालिका–१६ सदरमुकाम नजिकै भएकाले मतपेटिका समयमै सङ्कलन हुने हुँदा तत्काल गणना सम्भव भएको निर्वाचन अधिकृतले बताए।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–१६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ। उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेका कारण मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतबार गर्ने व्यवस्था मिलाइएको रिजालले बताए। प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने भएको छ।

उपनिर्वाचनका लागि जिल्लाका ३४ निर्वाचनस्थल तथा ८२ मतदानकेन्द्र तोकिएका छन्। निर्वाचनका लागि ७३६ कर्मचारी खटिएका छन्। निर्वाचन क्षेत्र नं ३ (ख) मा ६८ हजार ७१९ र घोराही उपमहानगरपालिका–१६ मा चार हजार ४५३ मतदाता छन्।

प्रकाशित मिति: : 2019-11-30 08:31:19

प्रतिकृया दिनुहोस्