सुरुमा जसप्रीत बुमराहको बलिङको अगाडि दबाव महसुस गरेको श्रीलंकाले एन्जेलो म्याथ्युजको सतकीय इनिङका कारण भारतलाई २ सय ६५ रनको चुनौति दिन सफल भएको छ।
श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ६४ रन बनायो।
जसप्रीत बुमराहको कसिलो बलिङका कारण ५५ रन बनाउँदा श्रीलंकाले ४ विकेट गुमाइसकेको थियो। तर, एन्जेलोले १ सय १३ रन बनाउँदै श्रीलंकालाई बलियो अवस्थामा पुर्याए।
उनले पाँचौ विकेटका लागि लहेरु थिरिमानेसँग मिलेर १ सय ३४ रनको साझेदारी गरेका थिए। थिरिमानेले ५३ रन बनाए। बुमराहले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए। उनले एकदिवसीयमा सय विकेट पुरा गरेका छन्।
म्याथ्युजको एकदिवसीयमा तेस्रो सतक थियो। उनले तीनवटै सतक भारतविरूद्ध प्रहार गरेका हुन्।
भारतले आज पहिलो पल्ट रविन्द्र जडेजालाई मौका दिएको थियो। यजुवेन्द्र चहलको स्थानमा टिममा फर्किएका जडेजाले १ विकेट लिए।
चोटबाट पहिलो पल्ट फर्किएका प्रारम्भिक बलर भुवनेश्वर कुमारले पनि १ विकेट लिए। तर, उनी महंगो सावित भए। उनले ७३ रन खर्चे।
भारतले आज आफ्नो सफल बलर मोहम्मद सामीलाई विश्राम दिएको थियो।