विश्व कपमा रोहित शर्माको पाँचौं सतकको सहयोगले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारतले लिग चरणको खेलमा ७ जित दर्ता गराउँदै १५ अंक बटुलेको छ।
शनिबार टस जितेर भारतलाई २ सय ६५ रनको चुनौति दिएको श्रीलंकालाई ३९ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा पुरा गर्यो।
भारतको जितमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा र केएल राहुलले सतक बनाए। उनीहरूले पहिलो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरे। शर्माले जारी विश्व कपमा पाँचौ सतक पुरा गर्ने क्रममा १ सय ३ रन बनाए। उनी ‘म्यान अफ दि म्याच’ घोषित भए।
राहुलले विश्व कपको पहिलो सतक पुरा गर्ने क्रममा १ सय ११ रन बनाए।
कप्तान विराट कोहलीले अविजित रहँदै ३४ रन बनाए।
यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजको सतकीय इनिङमा श्रीलंकाले ६ विकेटको क्षतिमा २ सय ६४ रन बनायो।
जसप्रीत बुमराहको कसिलो बलिङका कारण ५५ रन बनाउँदा ४ विकेट गुमाइसकेको श्रीलंकाका लागि एन्जेलोले १ सय १३ रन बनाए।
उनले पाँचौ विकेटका लागि लहेरु थिरिमानेसँग मिलेर १ सय ३४ रनको साझेदारी गरेका थिए। थिरिमानेले ५३ रन बनाए। बुमराहले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए। उनले एकदिवसीयमा सय विकेट पुरा गरेका थिए।
म्याथ्युजको एकदिवसीयमा तेस्रो सतक थियो। उनले तीनवटै सतक भारतविरूद्ध प्रहार गरेका हुन्।
भारतले आज पहिलो पल्ट रविन्द्र जडेजालाई मौका दिएको थियो। यजुवेन्द्र चहलको स्थानमा टिममा फर्किएका जडेजाले १ विकेट लिए।
चोटबाट पहिलो पल्ट फर्किएका प्रारम्भिक बलर भुवनेश्वर कुमारले पनि १ विकेट लिए। तर, उनी महंगो सावित भए। उनले ७३ रन खर्चे।
भारतले आज आफ्नो सफल बलर मोहम्मद सामीलाई विश्राम दिएको थियो।