भारतको तेस्रो पल्ट विश्व कप जित्ने अभियानमा न्युजिल्यान्ड तगारो

Agency

विश्व कपको पहिलो सेमिफाइनलमा मंगलबार भारत र न्युजिल्यान्ड म्यानचेस्टरको ओल्ड ट्राफोड मैदानमा भिड्दै छन्। आजको खेलमा किवी टोली लगातार दोस्रो पल्ट विश्व कपको फाइनल प्रवेशका लागि मैदानमा उत्रिँदै छ। भारत पनि विश्व कपमा चौथो पल्ट स्थान बनाउन लालायित छ।

गत विश्व कपमा न्युजिल्यान्ड फाइनल पुगेको थियो र किवी टोली अस्ट्रेलियासँग पराजित भएको थियो।

आज पनि भारतीय टोलीलाई हराउन ‘ब्ल्याक क्याम्प’ लाई त्यति सहज छैन। भारत अहिले उत्कृष्ट फर्ममा छ। उसको ब्याटिङ लाइन अप मात्र होइन, बलर पनि फर्ममा छन्।

विश्व नम्बर एक बलर जसप्रीत बुमराहले ८ खेलमा १७ विकेट लिइसकेका छन्। यस्तै, मोहम्मद सामीले पनि ४ खेलमा १४ विकेट लिएर आफू फर्ममा रहेको प्रमाणित गरिसकेका छन्। दुवै बलर जारी विश्व कपको टप–१० भित्र समावेश छन्।

पछिल्लो ४ वर्षयता भारत र न्युजिल्यान्डले १३ एकदिवसीय खेलेका छन्। जसमा भारतले ९ मा जित सम्भव पार्दै आफू बलियो भएको आभाष दिलाइसकेको छ। न्युजिल्यान्डले ३ खेल जितेको छ।

यो विश्व कपको राउन्ड रोबिन खेलमा पानी परेका कारण दुवै टिमको खेल सम्भव भएको थिएन। अभ्यास खेलमा भने भारत ६ विकेटले पराजित हुन पुगेको थियो।

म्यानचेस्टरमा दुवै टिम ४४ वर्षपछि भिड्न लागेका हुन्। सन् १९७५ को विश्व कपमा न्युजिल्यान्डले ४ विकेटले भारतलाई पराजित गरेको थियो। इंग्लिस पीचमा दुवै टोलीले थप दुई वटा एकदिवसीय खेलेका थिए। जसमा दुवै पल्ट भारत पराजित भएको थियो।

सन् १९७९ मा लीड्सको हेडिग्लेमा भएको खेलमा भारत ८ विकेट र १९९९ मा नोटिङ्घममा भएको खेलमा ५ विकेटले पराजित भएको थियो।

भारत र न्युजिल्यान्डले विश्व कपमा ८ पल्ट खेलेका छन्। जसमा भारत तीन र न्युजिल्यान्ड ४ पल्ट विजयी भएको छ। यसै पालि राउन्ड रोबिन अन्तर्गतको एउटा खेल बर्षाका कारण प्रभावित भएको थियो।

भारत विश्व कपमा सातौं पल्ट सेमिफाइनल प्रवेश गरेको हो। जसमा उ ३ पल्ट पराजित भएको छ भने ३ पल्ट फाइनल पुगेको छ।

यस्तै, न्युजिल्यान्ड आठौं पल्ट विश्व कपको सेमिफाइनल प्रवेश गरेको हो। किवी टोली ६ पल्ट सेमिफाइनलबाट बाहिरिएको छ। गत विश्व कपमा मात्र उ फाइनल प्रवेश गरेको थियो।

भारत र न्युजिल्यान्ड पहिलो पल्ट सेमिफाइनलमा भिड्न लागेका हुन्। भारतीय बलरका लागि आज कप्तान केन विलियम्सन र अनुभवी रोस टेलरको विकेट महत्वपूर्ण रहने छ। कप्तान विलियम्सन खेललाई विजयतर्फ लैजान खप्पिस मानिन्छन्। उनले टिमका लागि राम्रो प्रदर्शन पनि गरिरहेका छन्। रोस टेलरको प्रदर्शन सोचे जस्तो हुन सकेको छैन। तर, उनी जतिबेला पनि घातक बन्न सक्छन्।

आजको खेलमा बर्षा बाधक बन्न सक्ने सम्भावना छ। त्यसैले टस जित्ने टोलीले सुरुमा ब्याटिङ गर्ने सम्भावना उत्तिकै प्रबल छ।

भारतका लागि कप्तान विराट कोहली र उप कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। रोहित जारी विश्व कपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले ८ खेलमा कीर्तिमानी ५ सतकको सहयोगले ६ सय ४७ रन बनाइसकेका छन्।

यस्तै, कप्तान कोहलीले ५ अर्धसतकको सहयोगले ४ सय ४२ रन बनाएका छन्। भारतीय ब्याट्सम्यानका लागि आज लोकी फर्गुसन सबैभन्दा खतरनाक बन्न सक्छन्। १ सय ५० किमी प्रतिघण्टाको गतिमा बल फ्याँक्न सक्ने खुबी भएका फर्गुसनले ७ खेलमा १७ विकेट लिइसकेका छन्।

उनी अघिल्लो खेलमा चोटका कारण बाहिर थिए।

प्रकाशित मिति: : 2019-07-09 09:53:47

प्रतिकृया दिनुहोस्