सेमिफाइनल वर्षाले प्रभावित भए भारत फाइनल पुग्ने

बिएल

विश्व कपअन्तर्गत मंगलबार भारत र न्युजिल्यान्डबीच पहिलो सेमिफाइनल हुँदैछ। म्यानचेस्टरको ओल्ड ट्राफोड मैदानमा हुने आजको खेल वर्षाबाट प्रभावित हुने सम्भावना बलियो रहेको स्वयम् बेलायती मिडियाले बताउँदै आइरहेका छन्।

इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको विश्व कपमा राउन्ड रोबिनको ४ वटा खेल वर्षाको कारण प्रभावित भइसकेका छन्। आजको खेल वर्षाबाट प्रभावित भए के हुन्छ? यो सबै क्रिकेट प्रेमीका लागि कौतुहलको विषय हो।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को नियमअनुसार वर्षाका कारण खेल प्रभावित भए शीर्ष स्थानमा रहेको टिम फाइनल प्रवेश गर्नेछ। यसको सोझो अर्थ हो, न्युजिल्यान्ड र भारतबीचको खेल वर्षाले बिथोले यसको फाइदा भारतलाई हुनेछ।

आइसिसीले उच्च अंक भएको टिम अगाडि जाने नियम बनाएको छ। हुन त आइसिसीले तय गरेको समयमा वर्षाका कारण खेल नभएको खण्डमा अर्को दिन गर्नका लागि ‘रिजर्भ डे’ राखिएको छ। तर, मौसम विभागले ‘रिजर्भ डे’ मा पनि पानी पर्ने सम्भावना रहेको बताएको छ।

आइसिसीले सेमिफाइनल वर्षाबाट प्रभावित बनेमा दर्शकहरूलाई उनीहरूको टिकटको पैसा फर्काउने नियम बनाएको छ। तर, फाइनलमा भने यस्तो हुने छैन। फाइनलमा पानी परे दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिने छ। फाइनलका लागि पनि ‘रिजर्भ डे’ राखिएको छ।

प्रकाशित मिति: : 2019-07-09 12:36:36

प्रतिकृया दिनुहोस्