इंग्ल्यान्ड २७ वर्षपछि विश्व कपको फाइनलमा, अस्ट्रेलिया ८ विकेटले पराजित

Agency

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्व कपको फाइनल प्रवेश गरेको छ। पछिल्लो पल्ट इंग्ल्यान्ड सन् १९९२ को विश्व कपको फाइनल पुगेको थियो।

फाइनलमा इंग्ल्यान्डको भिड्न्त न्युजिल्यान्डसँग हुनेछ। यी दुबै टिमबाट विजेता बन्ने टिम विश्व कपको नयाँ च्याम्पियन बन्ने छन्। दुबैले विश्व कप एकपल्ट पनि जितेका छैनन्।

विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा कंगारुले पहिलो ब्याटिङ गर्ने दिएको २ सय २४ रनको सामान्य लक्ष्यलाई इंग्ल्यान्डले ३२ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो।

इंग्ल्यान्डको जितमा जेसन रोय नायक सावित भए। चोटबाट फर्किएपछि इंग्ल्यान्डलाई लगातार जित दिलाउँदै आएका रोयले आज पनि ८५ रनको उत्कृष्ट इनिङ खेले।

उनी पेट कुमिन्सको वाइड बलमा आउट भए। उनको ब्याट र ग्लोब्समा बल नलागेपनि अम्पायर धर्मसेनाले विकेटपछाडि क्याच भएको संकेत दिएपछि खिन्न मन पारेर पवेलियन फर्किनु पर्यो। यसअघि इंग्ल्यान्डले जोनी बेयरस्टो एलबिडब्लु हुँदा एउटा रिभ्यू गुमाइसकेको थियो। त्यसैले इंग्ल्यान्डले उनको पालामा रिभ्यू लिन पाएन।

उनी आउट भएपनि कप्तान इयोन मोर्गन र जोए रुटले ७९ रनको अविजित साझेदारी गरेका थिए। मोर्गनले अविजित रहँदै ४५ र रुटले अविजित रहँदै ४९ रन बनाए।
यसअघि बेयरस्टो र रोयले १ सय २४ रनको साझेदारी गर्दै अस्ट्रेलियाली बलरको कम्मर भाँचेका थिए।

रोयले ५ छक्का र ९ चौका प्रहार गरेका थिए। बेयरस्टोले ३४ रन बनाए।

टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाविरूद्ध क्रिस ओक्स र जोफ्रा आर्चरले घातक बलिङ गरे। यी दुई मिलेर सुरुमै अस्ट्रेलियाको ५ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि इग्ल्यान्ड खेलमा हावी भएको थियो।

ओक्सले डेभिड वार्नर (९), पीटर हयान्ड्सकम (४) र मिशेल स्टार्क (२९) को विकेट लिएका थिए। उनलाई म्यान अफ दि म्याच पनि घोषित गरियो।

कप्तान आरोन फिन्च पहिलो बलमै आर्चरको एलबिडब्लुको शिकार भए। अस्ट्रेलियाले १४ रनमा ३ विकेट गुमाएको थियो। यसपछि स्टिभन स्मिथ र एलेक्स करीले अस्ट्रेलियालाई उकासेका थिए। स्मिथ ८५ रनमा रन आउट भए। करीले ४६ रन बनाए। तल्लो क्रममा ग्लेन मेक्सवेलले २२ रन बनाए।

अस्ट्रेलिया ४९ ओभरमा २ सय २३ रन बनाएर अलआउट भएको थियो।

प्रकाशित मिति: : 2019-07-11 22:22:11

प्रतिकृया दिनुहोस्