पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन

तस्बिरः एजेन्सी

नेदरल्याण्डलाई हराउँदै घरेलु टोली पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि उचालेको छ।

आइतबार राति भएको फाइनलमा पोर्चुगलले नेदरल्यान्डलाई १–० ले हराउँदै उपाधि रक्षा गरेको हो।

सन् २०१६ को युरोकप पछि पोर्चुगलले पहिलो ठूलो प्रतियोगिता जितेको हो।

रोनाल्डोको ह्याट्रिकले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पन्छाउँदै फाइनल प्रवेश गरेको पोर्चुगलले अन्तत उपाधि जितेरै छोड्यो।

पोर्टोमा भएको खेलमा पोर्चुगललाई च्याम्पियन बनाउन दोस्रो हाफमा गोन्कालो गुइडेसले निर्णायक गोल गरे।

उनले खेलको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखे पनि गोल गर्न सकेन। खेलको ११औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार डिफेन्डर ब्लिन्डले विफल पारिदिएका थिए।

१२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरबाट आएको बललाई विलियन कार्भाल्होको हेड गोलरक्षक जस्पर सेलिसनले सहजै बचाए।

२८औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार भर्जिल भान डाइकले क्लियर गरिदिदा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। खेलको ३१औं मिनेटमा रोनाल्डो पुनः गोल गर्नबाट चुके ।

दोस्रो हाफमा भने नेदरल्यान्डले घरेलु टोलीलाई दवावमा राखे पनि पोर्चुगलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

खेलको ५७औं मिनेटमा नेदरल्यान्डका मेम्फिस डिपेले गोल गर्न सकेनन् । त्यसको ३ मिनेटपछि पोर्चुगलका गोन्कालो गुइडेजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

६६औं मिनेटमा डोनी भान डि भिक गोल गर्न चुक्दा बराबरीको मौका गुम्यो। खेलको अन्तिम समयतिर पोर्चुगलले २ मौका गुमाएको थियो। त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगल १–० ले नै विजयी हुन सफल भयो।

प्रकाशित मिति: : 2019-06-10 10:30:42

प्रतिकृया दिनुहोस्