नेयमारविनै ब्राजिलको ७ गोल !

तस्बिरः एजेन्सी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित निकालेको छ।

पोर्टो एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को फराकिलो अन्तरले हराएको हो।

चोटका कारण ब्राजिलले नेयमारलाई गुमाए पनि अन्य खेलाडीले उनको अभाव हुन दिएनन्।

कतारविरुद्धको खेलमा नेयमारले दायाँ खुट्टाको एंकलमा चोट बोक्दै घाइते भएका थिए। उनी करिब ४ साता मैदान बाहिर रहने भएका छन् ।

ब्राजिलको फराकिलो जितमा गाब्रियल जेससले २ गोल गर्दा थियागो सिल्भा, फिलिपे कौटिन्हो, डेभिड नेरेस, रोबर्टो फिर्मिनो र रिचालीसनले गोल गरेका थिए।

सुरुवातदेखि नै आक्रमक खेल खेलेको ब्राजिलले खेलको छैठौं मिनेटमै जेससको गोलबाट अग्रता बनाएको थियो। १३औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे।

२९औं मिनेटमा होन्डुरस १० खेलाडीमा समेटियो। रोमेल कुइओटो रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। त्यसपछि दबाबमा परेको होन्डुरसमाथि ब्राजिलले फाइदा उठायो।

खेलको ३७औं मिनेटमा फिलिप कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ३–० को अग्रता दिलाए।

खेलको ४७ औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल खेलमा ४–० को अग्रता लियो। ५६औं मिनेटमा डेभिड नेरेसले गोल गर्दै अग्रता ५-० मा पुर्‍याए।

६५औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गरेपछि ब्राजिल खेलमा ६–० ले अघि बढ्यो।

७०औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ७–० को फराकिलो जित दिलाए ।

घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलले लय समातेको छ। षयसअघि कतारलाई २-० गोल अन्तरमा हराएको थियो।

कोपा अमेरिकामा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, भेनेजुएला र पेरू छन्।

ब्राजिलले आगामी १५ जुनमा बोलिभियासँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्दैछ।

प्रकाशित मिति: : 2019-06-10 10:49:41

प्रतिकृया दिनुहोस्