ब्राजिलका रोड्रिगो रियलमा सार्वजनिक

तस्बिरः एजेन्सी

ब्राजिलका युवा फरवार्ड रोड्रिगो स्पेनिस क्लब रियल म्याड्रिडबाट सार्वजनिक भएका छन्।

रियलले गत वर्ष नै रोड्रिगोलाई ४० मिलियन पाउन्डमा अनुबन्ध गर्न ब्राजिली क्लब सान्तोषसँग सहमति गरिसकेको थियो।

उक्त सहमतिलाई रियलका अध्यक्ष फियोरेन्टिना पेरेजले मंगलबार सार्वजनिक गरेका हुन्।

लुका जोभिक, इडर मिलिसाओ, फरल्यान्ड मेन्डी र इडेन हजार्डसँगै १८ वर्षीय रोड्रिगो रियलमा आबद्ध भएका हुन्।

रोड्रिगोले रियलमा करिम बेन्जेमा, भेनेसियस जुनियर, लुका जोभिक र इडेन हजार्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सम्भवतः उनी यो सिजन रिजर्भ टिममा रहनेछन्।  रियलको रिजर्भ टिमले स्पेनको सेगुन्डा ‘बी’ डिभिजन खेल्नेछ।

रियलबाट सार्वजनिक भएपछि रोड्रिगोले आफ्नो रियलबाट खेल्ने चाहना पुरा भएको बताउँदै दोस्रो डिभिजन खेल्नमा कुनै समस्या नभएको जिकिर गरे।

‘मैले एक उत्कृष्ट खेलाडी हजार्डलाई पछ्याएको छु । मैले उनको तस्वीरलाई मोबाइलको लक स्क्रिनमा राखेको छु । मेरो हजार्डसँग खेल्ने सपना पुरा हुदैछ। र यहाँ बेन्जेमा र भेनेसियस जुनियर जस्ता खेलाडीहरु पनि छन्,’ रोड्रिगोले भने।

रोड्रिगोले सान्तोषका लागि यो सिजन ३५ खेलमा ८ गोल गरेका छन्। उनले ब्राजिलको यु–२० टोलीबाटसमेत प्रतिनिधित्व गरिसकेका छन् ।

प्रकाशित मिति: : 2019-06-19 08:42:25

प्रतिकृया दिनुहोस्