आफ्नै देशको सेनाबाट बलात्कृत भएको अमेरिकी सांसदको खुलासा

संसदीय उपसमितिमा बोल्दै मार्था म्याकसेल्ली। तस्बिरः एपी

अमेरिकाका एक सिनेटरले आफू आफ्नै देशको सेनाबाट बलात्कृत भएको बताएकी छन्।

बुधबार एक संसदीय उपसमितिमा बोल्दै मार्था म्याकसेल्ली नामकी रिपब्लिकन सिनेटरले अमेरिकी एयर फोर्समा रहँदा आफूभन्दा बरिष्ट अधिकारीबाट बलात्कारको शिकार भएको बताएकी हुन्।

सिनेटरले सेनामा कसरी यौन दुव्र्यवहार हुन्छ भन्ने विषयमा बोल्दै उनले आफ्नै कुरा खुलासा गरेकी हुन्। बिबिसीका अनुसार उनी पहिलो महिला युएस फाइटर पाइलटसमेत हुन्।

एरिजोना राज्यबाट प्रतिनिधित्व गर्ने उनले यसअघि लामो समय अमेरिकी सेनामा काम गरेकी थिइन्।

उनले आफूले तत्कालिन समयमा लाज र अन्योलले कतै पनि आफू बलात्कार भएको बारेमा रिपोर्ट नगरेको बताइन्।

यसअघि सन् २०१७ मा अमेरिकी सेनामा यौन दुव्र्यवहारका घटना १० प्रतिशतले बढेको रिपोर्ट परेको थियो ।

म्याकसेल्लीले सिनेटको आर्मड सर्भिस सब कमिटीमा बोल्दै आफू धेरै वर्षसम्म मौन रहेको तर अहिले भने जनतालाई पनि जानकारी दिनुपर्छ भन्ने लागेर सार्वजनिक गरेको बताइन्।

बिबिसीका अनुसार म्याकसेल्लीले २६ वर्ष युएस एयरफोर्समा काम गरेर सन् २०१०मा अवकाश पाउँदा उनी कर्णेल भएकी थिइन्।

त्यसपछि उनी अमेरिकाको प्रतिनिधि सभामा दुई पटक निर्वाचित भइन्। सिनेटमा अघिल्लो वर्ष निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: : 2019-03-09 00:14:46

प्रतिकृया दिनुहोस्