राष्ट्रपति विद्यादेवीको भ्रमण कार्यक्रमको तयारीपूरा, सोमबार विहान ८:४० बजे न्युयोर्कमा स्वागत

Photo RSS

राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि सुरू हुने अमेरिका भ्रमण कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताइएको छ। राष्ट्रसंघका लागि नेपाली नियोगको संयोजनमा अमेरिकामा रहेका नेपालका तीनवटै नियोग मिलेर तयारी गरिएको जनाइएको छ। 

राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएअनुसार राष्ट्रपति भण्डारी अमेरिकी पूर्वी समयअनुसार सोमबार विहान ८:४० बजे न्युयोर्कको जोन एफ. केनेडी विमानस्थलमा आइपुग्नेछिन्।उनलाई त्यहाँ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले औपचारिक रूपमा स्वागत गर्नेछन्।

स्वागतका लागि राष्ट्रपति भण्डारीको पूर्वपार्टी एमालेका समर्थक शुभेच्छुकहरू पनि विमानस्थलमा पुग्ने बताइएको छ।प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष सञ्जय थापाले राष्ट्रपतिको स्वागत गरौं भनेर सामाजिक सञ्जालमा आव्हान नै गरेका छन्। न्युयोर्कमा रहेका मञ्चका पदाधिकारीहरूले पनि अनौपचारिक रूपमा स्वागतको तयारी गरिरहेको बुझिएको छ।अन्य राज्यमा रहेका मञ्चका केही पदाधिकारीहरू पनि न्युयोर्कतिर लागेको बताइन्छ।

तयारीकै क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की केही दिनयता दूताबासका केही कर्मचारीसहित न्युयोर्कमै अड्डा जमाइ रहेका छन्। 

उता, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि दुई सातादेखि अमेरिका भ्रमणमै छन्। उनी राष्ट्रपतिको भ्रमणलाई सहजिकरण गर्न पहिलै अमेरिका आएको बताइन्छ। टेक्सास, वासिङ्टन डीसी, मेरिल्याण्डमा रहेको नेपाली डायस्पोराले राष्ट्रपतिको भ्रमणलाई कसरी लिन्छ भन्ने रेकी गरेर उनी न्युयोर्क पुगेका छन् । 

नेपालका लागि सातदिने भनिए पनि अमेरिकामा तीन दिन मात्र बिताउँने राष्ट्रपतिको कार्यक्रम तालिका निकै टाइट रहेको छ। 

विमानस्थलबाट म्यानहट्टनको ४२ स्ट्रिटस्थित ह्यात होटलमा प्रस्थान गर्ने राष्ट्रपति साँंझ आयोजकले दिने रात्रीभोजमा सहभागी हुनेछिन्। मंगलबार राष्ट्रसंघलाई सम्बोधन गर्नेलगायत महत्वपूर्ण भेटघाटमा बिताउने राष्ट्रपतिले बुधबार राष्ट्रसंघका लागि नेपाली नियोगको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ। विहीबार उनी फर्कने छिन्। 

प्रकाशित मिति: : 2019-03-11 05:39:39

प्रतिकृया दिनुहोस्