क्यानाडामा राजदूत हेरफेर हुँदै

तस्वीर: फेसवुक

उत्तर अमेरिकी मुलुक क्यानाडाका लागि नेपाली राजदूत हेरफेर हुँदैछन्। पुराना राजदूत कालीप्रसाद पोखरेल कार्यकाल पूरा गरेर स्वदेश फर्कंदैछन् भने नयाँ राजदूत भृगु ढुंगाना क्यानाडा आउने क्रममा छन्।

नेपाल सरकारद्वारा तोकिएको चारबर्षे कार्यकाल पूरा गरेर पोखरेल बुधवार स्वदेश फर्कन लागेका हुन्। पोखरेल फर्कंदा रिक्त रहने राजदूतको स्थानमा डेढ महिनाभित्र ढुंगाना आइसक्ने छन्। परराष्ट्र मन्त्रालयका सहसचिव ढुंगाना गत साता क्यानाडाका लागि राजदूत नियुत्त भएका थिए।९ जनवरी २०१५ मा राजदूतका रुपमा क्यानाडा आएर पोखरेलले राजधानी अटोवास्थित नेपाली राजदूतावास सम्हालेका थिए।

साथै, क्युबा र जमैकाका लागि गैरआवासीय राजदूत रहेका उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का लागि पनि नेपालको स्थायी प्रतिनिधि भई काम गरेका थिए।त्यसअघि पोखरेलले अमेरिकाको नेपाली राजदूतावासमा कार्यवाहक राजदूत र उपनियोग प्रमुखका रुपमा चार बर्षे कार्यकाल पूरा गरेका थिए।

क्यानाडाको कार्यकाल पूरा भएपछि उनी परराष्ट्र मन्त्रालय फर्कन लागेका हुन्। ‘सबैको साथ सहयोगले यहाँको चारबर्षे कार्यकाल सुखद् रह्यो’ स्वदेश फर्कनुअघि पोखरेलले भने, ‘क्यानाडा–नेपाल सम्बन्ध विकासमा राम्रै योगदान पुर्याएँ भन्ने लाग्छ।’ पोखरेल राजदूत रहेकै समय क्यानडा–नेपालका सरकार प्रमुख जष्टिन ट्रुडो र केपी शर्मा ओलीबीच उच्चस्तरीय भेटवार्ता भएको थियो।

क्यानाडाबाट नेपालले आर्थिक लाभ लिनसक्ने धेरैवटा आधार रहेको उल्लेख गर्दै पोखरेलले त्यसका निम्ति सरोकारवाला सबैले सक्दो भूमिका निर्वाह गर्नुपर्ने सुझाए। उनले भने, ‘एकखाले सम्बन्ध बनिसकेको छ, अझ प्रगाढ बनाएर आपसी फाइदा लिने दिनेबारे अघि बढ्नुपर्छ।

नेपालीको बढ्दो रुचिको गन्तव्य मुलुक क्यानाडाबाट आर्थिक फाइदा लिन यहाँको सरकार र लगानीकर्तालाई नेपालले निरन्तर प्रयास गर्नुपर्ने बताए। ‘राजदूतावास र गैरआवासीय नेपालीले क्यानाडामा जति जति धेरै प्रयास गर्यो, नेपाललाई उति नै फाइदा मिल्नेछ’ पोखरेलले भने, ‘क्युबा र जमैकासँग पनि कुटनीतिक सहकार्य गर्नु त छँदैछ।’

प्रकाशित मिति: : 2019-04-03 21:18:17

प्रतिकृया दिनुहोस्