अमेरिकाको भर्जिनियामा गोलीकाण्ड: १२ जना मारिए, चार घाइते

अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा १२ जना मारिएका छन् भने ४ जना गम्भीर घाइते भएका छन्।

भर्जिनिया राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको शहर भर्जिनिया बीच सिटीका एक कर्मचारीले सरकारी भवनमा 'अन्धाधुन्ध' गोली चलाएर यो घटना घटाएका हुन्। 

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। 

आक्रमणकारी ४० वर्षीय डेवाइनी कार्डवक भएको प्रहरीले बताएको छ। उनी सर्टिफाइड प्रोेफेसनल इन्जिनियरका रूपमा युटिलिटी डिपार्टमेन्टमा काम गर्ने बताइएको छ। 

भर्जिनिया बीच म्युनिसिपल सेन्टरमा स्थानीय समयअनुसार शुक्रवार चार बजेपछि गोली चल्न सुरू भएको थियो। यो खबर बाहिरिएपछि कैयौँ सरकारी भवन भएको घटनास्थललाई प्रहरीले घेरा हाली कर्मचारीलाई निकालिएको थियो। 

गोलीकाण्डका एकजना प्रत्यक्षदर्शी मेगन बान्टनले मान्छेहरू चिच्याउँदै, कराउँदै तल झर्न भनिरहेको सुनेको बताए। 

अर्की एक कर्मचारी शेइला कूकले एपीलाई बताए अनुसार उनीहरूले गोली चलेको सुने पनि घटना नजिकै भएको भन्ने लागेको थिएन। उनले अगाडि भनिन् "म ईश्वरलाई धन्यवाद दिन चाहन्छु कि हामीलाई समयमै घटनाबारे जानकारी गराइयो। किनकि १० मिनेट पनि ढिलो भएको भए हामी निस्किन पाउने थिएनौँ।"

प्रहरीले मारिएका १२ जनाको पहिचान अहिलेसम्म सार्वजनिक गरेको छैन।

घटनास्थलमा सङ्घीय अनुसन्धान निकाय एफबीआईका अधिकारीले स्थानीय अधिकारीलाई सघाइरहेका छन्।

 

प्रकाशित मिति: : 2019-06-01 08:59:10

प्रतिकृया दिनुहोस्