राष्ट्रपति ट्रम्पको ठूलो जीत : पर्खाल बनाउन दुई अर्ब ५० करोड खर्च गर्न सर्वोच्चको स्वीकृति

अमेरिकी राष्ट्रपति ट्रम्पलाई एउटा ठूलो जीत हात लागेको छ । सर्वोच्च अदालतले मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउन दुई अर्ब ५० करोड अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरिदिएपछि उनलाई यो जीत हात लागेको हो । सर्वाेच्च अदालतका नौमध्ये पाँच न्यायाधीशको उनको पक्षमा उभिएपछि बहुमतले यस्तो फैसला गरेको हो । 

यसअघि पर्खाल बनाउन रक्षा मन्त्रालयबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पको तयारीविरूद्ध परेको उजुरीमा क्यालिफोर्नियाको संघीय अदालतले रकम खर्चिन नपाउने फैसला गरेको थियो । त्यस निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका ट्रम्पको सर्वोच्च अदालतले फैसला गरिदिएको हो । 

सन् २०१६ मा मेक्सिको सीमामा पर्खाल लगाउने एजेण्डा लिएर चुनाव जितेका ट्रम्पलाई पर्खाल बनाउने बजेट कांग्रेसले नदिएपछि उनले पेन्टागनको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्ने घोषणा गरेका थिए ।

सर्वोच्चको फैसलासँगै अब पेन्टागनको दुई अर्ब ५० करोड अमेरिकी डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउनका लागि प्रयोग हुनेछ ।

 

प्रकाशित मिति: : 2019-07-27 11:21:34

प्रतिकृया दिनुहोस्