अमेरिकामा ट्रम्पलाई जित्ने डेमोक्रेटको खोजी जारी : मिशेलले भनिन् - शुन्य सम्भावना !

मिचेल ओबामा भन्छिन्- राष्ट्रपतिमा उठ्ने शुन्य सम्भावना ! तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति उम्मेद्वारका डमोक्रेटिक आकांक्षी दुई दर्जन छन् । एक से एक नाम भएका अनि दाम पनि भएका । अनुभव पनि भएका अनि क्याम्पेन क्षमता पनि भएका । तर, पनि अधिकांश डेमोक्रेटहरू नै यिनीहरूमध्ये कोहीले पनि ट्रम्पलाई टक्कर देलान् भनेर विश्वास गरिरहेका छैनन् ।

दुई चरणको प्रेसिडेन्सियल डिबेट हेरिसकेपछि उनीहरूलाई यस्तो लागेको हो ।

पोलमा अगाडि रहेका जो बाइडन बूढा नै देखिएका छन् । बाइडेन चाहिनेभन्दा बढी धार नभएका भुत्ते जस्ता छन् । उनी डमोक्रेटभित्रका रिपब्लिकन हुन् । त्यसैले नाम मात्रका डेमोक्रेटबाट केही नहुने उनीहरू ठान्छन् । ओबामाका उपराष्ट्रपति बाइडेनको विहान त्यतिबेले देखिएको हो । त्यसैले यी राजनीतिक बूढालाई अराजनीतिक ट्रम्पले सिधै निल्छन् भन्ने उनीहरूलाई लागेको छ ।

बर्नीका एजेण्डा पपुलिष्ट भए पनि व्यवहारिक नभएको उनीहरूलाई लागेको छ ।उनी चर्को बोले पनि शारीरिक हाउभाउमा बूढै पनि देखिएका छन् ।  उनलाई समाजवादी अझ त्योभन्दा पनि अगाडि बढेर कम्युनिष्ट भनेरै ट्रम्पले काँचै खाने ठान्छन् ।

कमला ह्यारिस र इलिजावेथ वारेन त महिला नै भए । महिलाले जित्ने भए हिलारीले हार्नुपर्ने पोख्त कारण नै देख्दैनन् उनीहरू । अरूले त प्राइमरी जित्ने सम्भावना नै देखिदैन । प्राइमरी जिते बुकर, कास्ट्रोले टक्कर लिन सक्ने जस्तो देखिएको छ । तर, डेमोक्रेटहरूले अहिले नै उनलाई जिताउने छाँट देखिदैन ।

यस्तो अवस्थामा कसले ट्रम्पलाई टक्कर देला त ? अहिले ट्रम्पविरोधी मिडिया र डेमोक्रेटहरू त्यस्तो चेहराको खोजीमा छन् । 

त्यही क्रममा केही दिनअघि मात्र हलिउडका चलचित्रकर्मी माइकल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिशेल ओबामाले मात्रै सक्ने बताएका थिए । त्यसो त उनको नाम यसअघि पनि बाराम्बार ल्याइदै आएको हो । 

तर, यो पछिल्लो चर्चाको च्याप्टरलाई मिशेल ओबामाले नै बन्द गरिदिएकी छिन् । उनले भनेकी छिन् - अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने सम्बन्धमा मेरो संभावना शुन्य छ । उनले यस बारेमा मलाई पटक पटक सोधेिएको बताउँदै अरू नै क्षेत्रबाट अमेरिकाको सेवा गर्ने बताइन् ।

 

प्रकाशित मिति: : 2019-08-04 04:13:50

प्रतिकृया दिनुहोस्