इथियोपियाली शरणार्थीका लागि सहयोग जुटाउन राष्ट्रसंघीय आयोगको आग्रह

तस्बिरः एजेन्सी

इथियोपियामा शरणार्थीका लागि आवश्यक सहयोगको १३ प्रतिशत रकम मात्र प्राप्त भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोग (यूएनएचसीआर) ले जनाएको छ।

यूएनएचसीआरका अनुसार इथियोपियाको शरणार्थी व्यवस्थापनका लागि एक वर्षका लागि ३४ करोड ६५ लाख अमेरिकी डलरको आवश्यकता भएको तर उक्त रकमको मात्रै १३ प्रतिशत सहयोग जुटेको छ।

‘शरणार्थीको आधारभूत पोषण तत्व, शिक्षा, स्वास्थ्य, पिउने पानी, सरसफाई तथा वासस्थानका लागि ३४ करोड ६५ लाख अमेरिकी डलरको आवश्यक हुने गर्छ,’सिन्ह्वा न्यूज एजेन्सीले प्राप्त गरेको यूएनएचसीआरको विज्ञप्तिमा भनिएको छ।

इथियोपियामा यूएनएचसीआरको सूचीमा सन् २०१८ को अगस्टसम्म दर्ता भएका शरणार्थीको सङ्ख्या नौ लाख १५ हजार ७३ रहेको र अधिकांश क्षेत्रीय राज्यका विभिन्न छ वटा शरणार्थी शिविरमा बस्दै आएका छन् । पछिल्लो समय अफ्रिकी मुलुक युगाण्डापछि धेरै शरणार्थीको भार इथियोपियामा रहेको छ।

इरिट्रिया, सोमालिया, दक्षिण सुडान र सुडानमा भएका द्वन्द्व, हिंसा तथा खडेरीका कारण आधारभूत खाद्यान्नको अभावको समस्याबाट उन्मुक्तिका लागि ठूलो सङ्ख्यामा अफ्रिकी जनता शरण लिन इथियोपियामा पुग्ने गर्छन्। पछिल्लो समय यमन र सिरियाबाट पनि उक्त स्थानमा शरणार्थी पुग्ने गरेका यूएनएचसीआरको तथ्याङ्क छ ।

प्रकाशित मिति: : 2019-04-11 23:14:59

प्रतिकृया दिनुहोस्