मेरो जन्मदिनमा नातिनीको ४ स्वर्ण उपहार, भोलि धन्यवाद भन्छु

तस्बिरः बिएल नेपाली सेवा

गौरिका सिंहका हजुरबुवा लोकभक्त राणाले आफ्नो नातिनीको खेलले राष्ट्रको गौरव राखेकोमा खुसी व्यक्त गरेका छन्।

सर्वोच्च अदालतका बरिष्ठ वकिलसमेत रहेका राणाले बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै नातिनीको प्रदर्शनले आफू गौरवान्वित भएको बताए। मंगलबार आफ्नो जन्मदिन मनाउने तयारी गरिरहेका राणाले नातिनीले आफूलाई ठूलो उपहार दिएको बताए। ‘मैले त उसलाई धन्यबाद पनि भन्न पाएको छैन। भोलि धन्यबाद भन्छु,’ राणाले भने।

आफ्नो नातिनीलाई नेपालबाट खेल्न नदिन विगतमा ठूलो सड्यन्त्र भएको तर त्यसलाई चिर्दै यो अवस्थासम्म आइपुग्दा आत्मसन्तुष्टी प्राप्त भएको उनले बताए।

‘उसलाई खेल्न नदिन र उ विदेशी हो भनेर धेरैले सड्यन्त्रको तानाबाना बुने। तर, यी सबै अवस्थालाई चिर्दै उसले देशलाई ४ वटा स्वर्ण दिलाइ। म वास्तवमै खुसी छु,’ उनले भने–‘विगतमा उनीविरुद्ध सड्यन्त्रमा लागेका व्यक्ति अहिले खुसी भएको देखेर म पनि दंग परेको छु।’

उनले नातिनीको करिअर अझै लामो भएको हुनाले थप खुसी पाउन बाँकी रहेको बताए। ‘ऊ भर्खर १७ लागि। अझैं खेल्न बाँकी छ,’ उनले भने–‘उसको करिअर लामो छ।’

विगतमा पौडीसँग आवद्ध केही व्यक्तिको खराब व्यवहारबाट आफ्नो परिवार आहात भएको तर नातिनीले प्रमाणित गरेपछि राहत महसुस गरेको उनले बताए।

गौरिकाले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी थिइन। उनले जितेको स्वर्ण एकल स्पर्धामा नेपालले जितेको ऐतिहासिक क्षण थियो। एउटै सागमा ४ वटा स्वर्ण जित्ने पनि उनी नेपालको पहिलो खेलाडी बन्न सफल भएकी छिन्। सन् २०१६ मा भारतको गुवाहाटीमा भएको १२ औं सागमा उनले ४ रजतमा चित्त बुझाउनु परेको थियो।

गौरिकाका हजुरबुवा लोकभक्त राणासँग बिएल नेपाली सेवाले लिएको विशेष अन्तर्वार्ताः

प्रकाशित मिति: : 2019-12-09 20:49:50

प्रतिकृया दिनुहोस्