किसुनजी : एउटा अहिंसावादी क्रान्तिवीर

विदेशीको सहयोगमा विदेशबाटै गरिने क्रान्ति नकारे, स्वदेशभित्रबाटै क्रान्तिमा जोड दिए

किसुनजीलाई सम्झदा जहिलेपनि मेरो आँखा रसाउँछ। उहाँमा कहीं दुर्लभ मानवीय गुण र गहन आध्यात्मिक निष्ठा थिए। अत्यन्त विनोदप्रिय, सरल र हस्सीमजाकी किसुनजी आफ्नो सिद्धान्त र निष्ठामा हिमालजस्तो अडिग रहनुहुन्थ्यो। ओशो र तपोवनप्रति वहाँको  प्रेम थियो। शरिर अशक्त भएपनि ताम्दानीमा बसेर भएपनि तपोवन नियमित आइरहनुहुन्थ्यो। हामी घण्टौं सत्संग गथ्र्यौं र यसको परिधि विशाल हुन्थ्यो।

उहाँ आफ्नो जीवनका व्यक्तिगत, राजनैतिक रोचक प्रसंगहरु विनोदपूर्ण शैलीमा सुनाउनुहुन्थ्यो र बीचबीचमा आध्यत्मिक अनुभूतिहरु सुनाएर छक्क पार्नुहुन्थ्यो। मेरो किसुनजीसँगको सामान्य परिचय त धेरै पहिले भएको हो तर निकटको आत्मिय सम्बन्ध २०५६ साल देखि प्रगाढ भएको हो। त्यो निकटता यति गहन हुँदै गयो कि प्रत्येक साता उहाँसँग एक दुई चोटि नभेटे न मलाई सन्तोष हुन्थ्यो न उहाँलाई। जतिजति समय बितिरहेको छ, किसुनजीको चारित्रिक विशेषता, मानविय सद्गुण प्रतिको श्रद्धा र प्रेम निरन्तर बढदै गइरहेको म अनुभव गर्छु।

किसुनजी जस्तो राजनेता यही पूर्वीय हिन्दू परिवेशमा मात्र पैदा हुन सक्छ जस्तो मलाई लाग्छ। गान्धी जस्तो इमान्दार, कबीर जस्तो विद्रोही, मीरा जस्तो प्रेमपूर्ण र श्रीकृष्ण जस्तो प्रज्ञावान् व्यक्तिहरुको लामो श्रृंखला भएको संस्कृतिको परिवेशमा मात्र कृष्णप्रसाद भट्टराई जस्तो व्यक्ति पैदा हुन सक्छ। अध्यात्मका गहन पक्षहरुको पूर्ण तालमेलमा खारिएका राजनेताहरु जुनैपनि संस्कृतिमा विरलै पाइन्छन्। एक राजनेताका रुपमा उहाँ सफल तर राजनैतिक दाउपेच र चुनावी जोडघटाउका हिसाबले बारम्बार अपमानित र कमजोर जस्तो देखिनुहुन्छ। सत्यनिष्ठा र सबैलाई क्षमा गर्न सक्ने महानवृत्तिहरु प्रयोग गरेर शायद आजको राजनीतिमा कोही सफल हुनसक्दैन।

प्रकाशित मिति: : 2019-12-24 20:36:26

प्रतिकृया दिनुहोस्