झारखण्डमा भाजपा पतन, मोदीका विश्वासपात्र मुख्यमन्त्री दास पराजित

भारतको झारखण्डमा भएको विधानसभाको चुनावमा झारखण्ड मुक्तीमोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलको संयुक्त गठबन्धनमा सरकार बन्ने भएको छ।

सोमबार आएको मत परिणाममा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पराजित ‍भएसँगै तीन दलको गठबन्धन हुने भएको हो। गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ ।

८१ सदस्यीय विधानसभामा गठबन्धनले ४७ सिट जितेको हो। झारखण्ड भारतको राज्य बनेको १९ वर्षमा अधिकांश समय भारतीय जनता पार्टीले सत्ता सम्हालेको थियो। भाजपा भने २५ सीटमा समेटिएको छ।  

सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र भाजपाका हार भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्। 

यसअघि सन् २०१४मा मुख्यमन्त्रीको पदका लागि प्रचार नै नगर्दा पनि भाजपाले ३७ सिट प्राप्त गरेको थियो। ‘जनता भाजपासँग रिसाएका छन्, मत परिणामले देखाएको छ’ झारखण्ड जनमुक्ती मोर्चाका हेमन्त सोरेनले एनडिटिभीलाई भनेका छन्। 

मुख्यमन्त्री पराजित

झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास हारेका छन्। नरेन्द्र मोदी, अमित शाहलगायत केन्द्रीय नेताहरूको विश्वासपात्र मानिएका झारखण्डका मुख्यमन्त्री रघुबर दास आफैले चुनाव जित्न सकेनन्।

२००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पुरा गरेका निवर्तमान मुख्यमन्त्री रघुबर दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा आएपछि गठबन्धनले नयाँ सरकार गठनको तयारी सुरु गरिसकेको छ। झामुमो अध्यक्ष शिवु सोरेनको घरमा मंगलबार पार्टी विधायक दलको बैठक बोलाइएको छ। 

प्रकाशित मिति: : 2019-12-25 03:27:26

प्रतिकृया दिनुहोस्