दशकका टप पाँच खेलाडीहरुको सूचीमा कोहली शीर्ष स्थानमा

विज्डनले दशकका टप पाँच खेलाडीहरुको नाम घोषणा गरेको छ। बिहीबार घोषणा गरेको दशकका टप पाँच खेलाडीहरुको सूचिमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि समावेश गरिएका छन्।  

 शीर्ष ५ खेलाडीमा कोहलीको साथै अस्ट्रेलियाका स्टीव स्मिथ र महिला खेलाडी एलिस पेरीलाई समावेश गरिएको छ। यसको साथै दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेन र ब्याटसम्यान एबी डिविलियर्सलाई पनि स्थान दिइएको छ।

शीर्ष पाँच खेलाडीहरुको चयनका लागि उनीहरुको औसतलाई मुख्य आधार बनाइएको विज्डनले जनाएको छ।

विज्डनले दशकको टेस्ट टीम र एकदिवसीय टोलीको पनि घोषणा २४ डिसेम्बरमा गरेको थियो। कोहली टेस्ट र एकदिवसीय दुवै टोलीमा समावेश छन्। एकदिवसीय टिममा उनीसँगै रोहित शर्मा छन् भने टेस्ट टीममा कोहलीका साथै स्पीनर रवीचन्द्र अश्विन सामेल छन्।

कोहलीले सन् २०१४ मा इङ्ल्याण्डको भ्रमणदेखि बङ्गलादेशको दिवा–रात्री टेस्टसम्म उत्कृष्ट प्रदर्शन गरेका छन्। पछिल्लो पाँच वर्षमा उनले ६३ को औसतले ५ हजार ७ सय ७५ रन बनाएका छन्। यस क्रममा उनले २१ शतक र १३ अर्धशतक बनाएका छन्।

सन् २०१९ मा कोहलीले क्रिकेटको तीनै फर्म्याटमा ६४‍.०५ को औसतले सबैभन्दा बढी २३७० रन बनाए। उनले लगातार चौथो वर्ष एक क्यालेन्डर वर्षमा २ हजारभन्दा बढी रन बनाएका हुन्।

कोहलीले आफ्नो क्रिकेट करियरमा ८४ टेस्टमा ५४.९७ औसतले ७ हजार २ सय २ रन जोडेका छन् भने एकदिवसीयमा ५९.८४ को औसतले ११ हजार ६ सय ९ रन बनाएका छन्। टी–२० मा उनले ५२.६६ को औसतले २ हजार ६ सय ३३ रन बनाएका छन्। उनले तीनै फर्म्याट गरेर ७० शतक लगाएका छन्। यसमा उनी सचिन तेन्दुल्कर (१००) र रिकी पोन्टिङ (७१) पछि तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति: : 2019-12-27 23:59:56

प्रतिकृया दिनुहोस्