उद्योगीले दिएनन् उखु किसानका १ अर्ब ३४ करोड, सरकारी अनुदान पनि प्रक्रियामै

उखुमा सरकारले उपलब्ध गराउने अनुदान र बिक्री गरेको पैसा नपाउँदा किसान दोहोरो मारमा परेका छन्। चिनी उद्योगीले विगत ६ वर्ष देखिको भुक्तानी र सरकारले उपलब्ध गराउने अनुदान नदिँदा किसानहरु दोहोरो मारमा परेका हुन्।

उखु किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार चिनी उद्योगीहरुले उखु किसानलाई कुल १ अर्ब ३४ करोड रुपैयाँ उपलब्ध गराउन बाँकी छ। 

सर्लाहीमा रहेका अन्नपूर्ण सुगर मिलले ५० करोड तथा महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ, नवलपरासीका बागमती, लुम्बिनी तथा इन्दिरा सुगर मिलले ७ करोडको दरले २१ करोड रुपैयाँ र रौतहटको श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गर्न बाँकी छ। अन्नपूर्ण सुगर मिलले विगत ६ वर्षदेखिको रकम नतिरेको उखु किसानको गुनासो छ।

उद्योगीले उखु किनेको पैसा नदिँदा किसानको बिचल्ली भएको अध्यक्ष मैनालीको भनाई छ। ‘उद्योगीले पैसा नदिँदा किसानको बिचल्ली भएको छ,’ उनले भने, ‘साथीहरु के गर्ने? कसो गर्ने? भनेर आन्दोलन गर्न काठमाडौंमै पुगेका छन्।’

अन्नपूर्ण सुगर मिलले पैसा नदिएकोले समस्यामा परेको भन्दै सर्लाहीबाट उखु किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन्। उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा आइतबार पनि धर्ना दिएका थिए। आन्दोलन गर्न गठित समितिका सचिव हरिश्याम रायले सर्लाहीको मिलमा पनि आन्दोलन गरिरहेका र काठमाडौंमा सरकारले पनि पैसा दिलाउन सहयोग गर्नुपर्ने भन्दै धर्ना दिइरहेका बताए।

 ‘यहाँ माइतीघरमा हामीले धर्ना दिइरहेका छौं। आज (आइतबार) पनि हाम्रो धर्ना थियो,’ उनले भने, ‘साथीहरुले सर्लाहीमा पनि आन्दोलन गरिरहेको छन्। हाम्रो पैसा नदिइकन मिल चलाउन दिँदैनौं। हाम्रो धर्ना जारी नै रहनेछ।’

सरकारी अनुदान पनि पाएनन्
चिनी उद्योगीले उखु खरिद गरेको पैसा नदिँदा मारमा परेका किसानलाई सरकारले समेत अनुदान समयमै उपलब्ध नगराउँदा झन् मारमा पारेको छ। चिनी उद्योगीलाई उखु बिक्री गरेवापत पाउने प्रतिक्वीन्टलका दरले पाउने ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान किसानहरुले अझै पाएका छैनन्। गत आर्थिक वर्ष २०७५/०७६ मा सरकारले उखुको मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा प्रतिक्वीन्टल निर्धारण गरेको थियो। निर्धारित मूल्यमा सरकारले ६५ रुपैयाँ २८ पैसा अनुदान दिने र बाँकी ४ सय ७१ रुपैयाँ २८ पैसा चिनी उद्योगीले नै तिर्नुपर्ने गरि सरकारले उखुको मूल्य निर्धारण गरेको थियो। सोही अनुसार सरकारले गत वर्ष १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ उखुमा अनुदान दिने भन्दै किसानका लागि छ्ट्याएको थियो। तर, त्यो पैसा पनि नपाएको अध्यक्ष मैनालीले बताए। मैनालीका अनुसार किसानले आर्थिक वर्ष २०७४/०७५को अनुदान पनि पुरै पाएका छैनन्। 

‘आर्थिक वर्ष २०७४/०७५कै करिब २ करोड रुपैयाँ सरकारले दिन बाँकी छ,’ उनले भने, ‘गत आर्थिक वर्षको त पुरै बाँकी छ। अहिलेसम्म पाएकै छनन्।’

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार उखुमा दिइने गत वर्षको अनुदानको रकम बल्ल वितरणको प्रक्रियामा गएको छ। कृषि तथा पशुपन्छि  विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पहिलो किस्ता वितरणको प्रक्रियामा गइसकेको बताए। उनका अनुसार अहिलेसम्म २२ करोड रुपैयाँ मात्रै पाउने गरी निकासा भएको छ। कञ्चनपुरका उखु किसानका लागि १६ करोड रुपैयाँ र सुनसरीका उखु किसानका लागि ६ करोड रुपैयाँ निकासा भएको छ।

उखुमा दिइने अनुदानका लागि अर्थ मन्त्रालयले पहिलो चरणमा ९१ करोड ८० लाख रुपैयाँ निकासा गर्न स्वीकृति दिएको र बाँकी अर्को किस्तामा दिइने केसीको भनाई छ।

चिनी उद्योगीले किसानबाट खरिद गरेको उखुको विवरण चाँडो नदिँदा अनुदान वितरणमा ढिलाई भएको केसीले बताए। ‘उद्योगीले नै विवरण दिन ढिलाई गरेका कारण अनुदान वितरणमा ढिलाई भएको हो। गत वर्षको ९१ करोड ८० लाख रुपैयाँ अनुदान वितरण लगभग प्रक्रियामा गइसकेको छ,’ केसीले भने, ‘बाँकी करिब ४० करोड अर्को किस्तामा दिने अर्थ मन्त्रालयले भनेको छ।’ उनका अनुसार गत वर्ष दिने भनिएको अनुदानमध्ये ४१ करोड ७३ लाख निकासाका लागि अझै प्रक्रिया अघि बढेको छैन।

किसानले गरिरहेको आन्दोलन अनुदानका लागि नभएर उद्योगीले भुक्तानी नदिएका कारण भएकोले त्यसका लागि कृषि मन्त्रालयले समेत सकेको पहल गर्ने केसीले बताए। उनले भने, ‘अहिले किसानले गरिरहेको आन्दोलन उद्योगीले पैसा नदिएका कारण हो। उद्योगीले पैसा नतिर्नु हाम्रो क्षेत्राधिकार होइन। उद्योग मन्त्रालयको क्षेत्राधिकार हो। सकेको पहल हामीले पनि गर्नु पर्छ।’

किसानको गुनासो थाहा छः उद्योग मन्त्रालय
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको आन्दोलन र चिनी उद्योगी सम्पर्कमा नरहेको बारे जानकार रहेको प्रतिक्रिया दिएको छ। मन्त्रालयका सह–सचिव दिनेश भट्टराईले किसानको आन्दोलन र चिनी उद्योगी सम्पर्कमा नरहेको विषयमा मन्त्रालय जानकार रहेको भन्दै आवश्यक पहल थालिएको दाबी गरे। ‘किसानको गुनासो थाहा छ र चिनी उद्योगीहरु सम्पर्कमा छैनन् भन्ने थाहा हुन आएको छ,’ उनले भने, ‘उद्योगी सम्पर्कमा छैनन् भन्ने विषयमा गृह मन्त्रालयलाई पत्र लेखिसकेका छौं।’

उद्योगी भन्छन्– ‘सरकारकै कारणले समस्या भयो’
चिनी उद्योगीले सरकारका कारण उद्योगी पनि मारमा परेका र त्यसको असर किसानमा पनि परेको प्रतिक्रिया दिएका छन् । नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशी अग्रवालले सरकारले गत वर्ष पाकिस्तान र भारतबाट चिनीको आयात खुला गरेका कारण किसान मारमा परेका बताए।

‘गत वर्ष सरकारले नै पाकिस्तान र भारतबाट चिनीको आयात खुला गर्‍यो। जसका कारण नेपालमा आवश्यक पर्ने चिनी त्यहाँबाटै आयात भयो,’ उनले भने, ‘विदेशी चिनी सस्तोमा बिक्री हुँदा हाम्रो चिनी बिक्री भएन। जसले हामीलाई नै समस्या भएको छ। हाम्रो चिनी बिक्री नभएपछि किसानलाई पनि मार परेको हो। किसानको पैसा नदिने भन्ने पक्षमा छैनौं। केही ढिलाई भएको हो।’ 

विदेशबाट आयात भएर नेपाली उत्पादनलाई असर गर्ने वस्तुको आयातमा सरकार संवेदनशील हुनु पर्ने अग्रवालको भनाई छ।
 

प्रकाशित मिति: : 2020-01-01 01:40:56

प्रतिकृया दिनुहोस्