कानूनमा टेकेर विकासलाई बाधक पुर्याउने काम भयो : मुख्यमन्त्री पोखरेल

रासस

तुलसीपुर

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासलाई पनि कानूनकै रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको ‘जिल्लाको विकास, सम्भावना र चुनौती’ कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले संसद्बाट पारित भएको बजेट नै एउटा कानून हो भने।

अहिले विभिन्न बहानामा विकासका कामहरु अवरुद्ध गर्ने कार्य भएको भन्दै यसले विकास र समृद्धिमा धक्का पुग्नेसमेत बताए। । कानूनी तथा व्यावहारिक रुपमा मिल्ने कुरालाई मिलाएर विकास निर्माणको कामलाई तीव्रता दिनुपर्नेसमेत उनको भनाइ छ।

व्यावहारिक पक्षलाई मिलाएर कानून कार्यान्वयन अगाडि बढाउनुपर्ने पोखरेलले बताए। “कानून संरक्षक हुनुपर्ने हो, तर त्यसलाई टेकेर विकासलाई बाधक पुर्याउने काम भएको छ”, उनले भने।

अहिले दाङमा ढुङ्गाजन्य पदार्थ आपूर्ति नहुँदा समस्या भएको भन्दै यसलाई सहज बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेसमेत बताए।

उनले पहिलो चौमासिकमा १५, दोस्रो चौमासिकमा ४० र बाँकी चार महिनामा विकास योजना पूरा गर्नुपर्ने बताए। अहिले कच्चापदार्थ उपलब्ध नभएको नाममा निर्माण व्यवसायीले विकास निर्माणको कामलाई ठप्प पार्ने गरेको भन्दै यसले विकासलाई ठूलो क्षति पु¥याउने बताए।

त्यस अवसरमा अहिले तीन तहका सरकारको कानून बाँझिदा काम गर्न कठीनाइ भएको स्थानीय तहका प्रमुखहरुले बताएका थिए।  त्यस अवसरमा दाङका सबै स्थानीय तहका प्रमुख तथा सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले विकास निर्माणका बारेमा अवगत गराएका थिए।  

प्रकाशित मिति: : 2020-01-04 09:59:33

प्रतिकृया दिनुहोस्