इरानको दोस्रो बलियो व्यक्ति थिए सुलेमानी

कासिम सुलेमानी इरानका सर्वोच्च नेता अयातुल्ला खुमेनीसँग निकै नजिक थिए।

एजेन्सी

काठमाडाैं

इरानको कामरान प्रान्तस्थित ‘कनात ए मालिक’ गाउँमा गरिब परिवारमा जन्मिएका कासिम सुलेमानी इरानका सर्वोच्च नेता अयातुल्ला खुमेनीसँग निकै नजिक थिए। उनको जन्म ११ मार्च १९५७ मा भएको थियो। उनी इरानको शक्तिशाली रिवोल्यूशनरी गार्डमा समावेश भएर इरानको विशिष्ट व्यक्ति बन्न सफल भएका थिए। 

रहस्यमय व्यक्तित्व मानिने सुलेमानीको इरानमा यति ठूलो ख्याति थियो, उनी बृत्तचित्र र समाचारमा मात्र सिमित थिएनन्, उनी पप संगीतको पनि विषय बनेका थिए। सन् २०१३ मा अमेरिकी जासुसी संस्था (सिआईए) का पूर्वअधिकारी जोन मेग्युरेले उनलाई पश्चिम एशियाको सर्वाधिक शक्तिशाली व्यक्ति घोषणा गरेका थिए। 

सन् २००३ मा इराकमाथि अमेरिकी सेनाको हमलापछि जनरल सुलेमानीले आतंकवादी समूहलाई अमेरिकी सैनिक र उनीहरू बासस्थानमा आक्रमण गर्न विद्रोहीलाई प्रेरित गरेका थिए। यो घटनामा सैयौं अमेरिकी सेना मारिएका थिए। २०१९ मा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले इरानको रिवोल्युशनरी गार्ड र कुद्स फोर्सलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका थिए। ट्रम्प प्रशासनले जसलाई आतंकवादी संगठन घोषणा गरेको थियो, त्यस संगठनलाई कुद्स फोर्सले प्रशिक्षण दिएको थियो। हतियार र उपकरण पनि उपलब्ध गराएको थियो। यसमा हिजबुल्लाह र प्यालेस्टिनको इस्लामिक जेहादी समूह पनि समावेश छन्। 

सन् १९९८ मा कुद्स फोर्सको कमाण्डर बनेका सुलेमानीले मध्यपूर्व देशमा इरानको प्रभुत्व बढाउन थालेका थिए। यसका लागि उनले गोप्य अभियान र विश्वासपात्र मिलिसियाको नेटवर्क तयार पारेका थिए। कुद्स सेनाको प्रमुख भएका सुलेमानी पश्चिम एशियाली देशमा गतिविधि सञ्चालन गर्न माहिर मानिन्थे। सिरियाका राष्ट्रपति बशर अल असदको बिद्रोहीसँग लडाई, इराकमा इरान समर्थक प्यारा मिलिट्रीको उदय र इस्लामिक स्टेटविरूद्ध युद्धलगायत थुप्रै युद्धको उनी रणनीतिकार मानिन्छन्। 

भन्ने गरिन्छ, इराकका पूर्व तानाशाह सद्दाम हुसेनविरूद्ध लडाईमा उनले शिया मुस्लिम र कुर्द लडाकुलाई सहयोग गरेका थिए।

उनले लेबनानमा शिया आतंकवादी समूह हिजबुल्लाह र प्यालेस्टिनी क्षेत्रमा इस्लामिक संगठन हमासलाई सहयोग गरेका थिए। २०११ मा सिरियामा बशर अल हसदविरूद्ध सुरु भएको विद्रोहलाई दबाउन उनले रणनीति बनाएका थिए। इरानको सहयोगले रुसी वायुसेनाको समर्थनमा विद्रोहलाई नियन्त्रणमा राख्न बशर अल असद सफल भएका थिए। 

लन्डनस्थित अन्तर्राष्ट्रिय इन्सिच्युट अफ स्ट्रेटजिक स्टडीजको एक अध्ययनअनुसार पश्चिम एशियामा आफ्नो प्रभुत्व स्थापित गर्न साउदी अरबसम्मले केही प्रतिद्धन्द्धी राष्ट्र लागेका छन् तर यसमा इरान सबैभन्दा तिब्र गतिमा अगाडि बढिरहेको छ। रिपोर्टमा भनिएको छ, इरानको क्षेत्रीय प्रतिद्धन्द्धी देश आफ्नो प्रभाव बढाउन बेलायतलगायत अन्य पश्चिमा देशसँग हतियार खरिदमा करौडौं डलर खर्च गरिरहेको छ। तर, इरान औसत रकम खर्चेर पनि आफ्नो रणनीतिलाई प्रभावकारी ढंगले स्थापित गराइरहेको छ। सिरिया, लेबनान, इराक र यमन जस्ता देशमा इरानको प्रभाव बढी छ। 
 

प्रकाशित मिति: : 2020-01-05 02:38:38

प्रतिकृया दिनुहोस्